नेप्से परिसूचक बिहीबार करिब २४ अंकले घटेर २ हजार २ सय ५० विन्दुमा आइपुगेको छ। कारोबार रकमसमेत २ करोड रूपैयाँ घटेर १ अर्ब ३० करोडमा सीमित भएको छ।
नेप्सेको यो गिरावटसँगै लगानीकर्ताहरूको आत्मविश्वास पनि घटेर गएको ब्रोकरहरूले बताएका छन्।
‘प्राय: अन्तिम त्रैमासिकमा बैंकहरू कर्जा उठाउन बढी केन्द्रित हुन्छन्,’ एक ब्रोकरले भने, ‘घट्दो बजारमा यस्तो मार्जिन दबाब समेतले लगानीकर्ताहरूको आत्मविश्वास कम भएको छ।
सेयर धितो राखेर कर्जा लिएकाहरूले बजार घट्दै जाँदा धितो (मार्जिन) बढाउनुपर्छ वा सेयर बिक्री गर्नुपर्छ। अहिले यही दबाबका कारण पनि सेयर बिक्री भइरहेको उनको अनुमान छ।
चुनावपछि बैंकहरूमा अपेक्षित दरमा निक्षेप नबढेकाले लगानीकर्ताहरूले खासै नयाँ कर्जा पाउन सकिरहेका छैनन्। राष्ट्र बैंकले एउटा ग्राहकले एउटा बैंकबाट ४ करोड रूपैयाँ र समग्रबाट १२ करोड रूपैयाँभन्दा बढी कर्जा लिएको भए यही असारसम्म घटाउन निर्देशन दिएको छ। यसले ठूला लगानीकर्ताहरूको खरिद क्षमता बढ्न नसकेको ती ब्रोकरको विश्लेषण छ।
बिहीबार २ सय १९ धितोपत्र तथा ऋणपत्रको कारोबार हुँदा ३० वटाको मूल्य बढेको छ भने १ सय ८१ वटाको मूल्य घटेको छ।
जनरल इन्स्योरेन्स कम्पनीको मूल्य सबभन्दा धेरैले बढ्दा लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य सबभन्दा धेरैले घटेको छ। जनरल इन्स्योरेन्सको मूल्य ७.४५ प्रतिशत बढेर ५ सय १९ रूपैयाँमा कारोबार भइरहेको छ।
यस कम्पनीको चालू आवको तेस्रो त्रैमासिकमा नाफा करिब ३० प्रतिशत बढेर ८ करोड २४ लाख रूपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी करिब ११ रूपैयाँ छ। बजारमा कम्पनीको हालसम्मको उच्च सेयर मूल्य ८ सय रूपैयाँभन्दा धेरै छ।
लुम्बिनी जनरलको मूल्य पनि ७ प्रतिशत घटेर ५ सय २५ मा कारोबार भइरहेको छ। ३० प्रतिशत नाफा घटेको विवरण पेस गरेको यस कम्पनीको मूल्य घटिरहेको छ। यस कम्पनीको पनि प्रतिसेयर आम्दानी करिब ११ रूपैयाँ छ।