रिभर फल्स पावरको आइपिओ आज बाँडफाँट हुँदैछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार साँझ ४ बजे प्रभु क्यापिटलको कार्यलयमा आइपिओ बाँडफाँट हुने भएको हो।
रिभर फल्स पावर लिमिटेडले गत वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो। कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर जारी गरेको थियो।
यसमध्ये कम्पनीले २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ। यीबाहेक बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी भएको हो।
रिभर फल्स कम्पनीले गत वैशाख २८ देखि प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो।
पछिल्लो तथ्यांकअनुसार कम्पनीको आइपिओको लागि करिब १८ लाख २० हजारभन्दा बढी आवेदकहरू छन्। उनीहरूबाट २ अर्ब रूपैयाँ बढीको २ करोड बढी कित्ता सेयरको लागि आवेदन परेको छ।
कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट हुने बताइएको छ। यसर्थ २ लाख ५३ हजार ८९० जनाले मात्रै १० कित्ता सेयर पाउने छन्।
आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने जोखिम मध्यम रहेको संकेत गर्छ।
हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ७० लाख रूपैयाँ रहेको छ। कम्पनीले १०.३० मेगावाटको पिलुवा खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। वि.सं २१०५ सम्म सञ्चालन अनुमति पाएको आयोजनाको विद्युत खरिद सम्झौता भइसकेको छ।
एक अर्ब ८६ करोड रूपैयाँमा बन्ने यस आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ६ लाख रूपैयाँ छ। कम्पनीले यही असार मसान्तमा विद्युत उत्पादन गर्न सक्ने उल्लेख गरेको छ।
हाल कम्पनी पाँच करोड २० लाख रूपैयाँ सञ्चित नोक्सानमा छ। आगामी आवबाट यस्तो नोक्सान नाफामा परिणत हुने बताइएको छ। कम्पनीको लागत करिब १० वर्षमा उठिसक्ने र ब्रेक इभनमा पुग्ने अनुमान गरिएको छ।