नेप्से कारोबारको दोस्रो दिन आज सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २,२१७.१९ विन्दुमा पुगेको हो।
बजेटले लगानीमैत्री नीति ल्याउन सक्ने अपेक्षामा मंगलबारको बजारमा सुधार आएको केही ब्रोकरहरूले बताए। त्यसबाहेक बजारले केही दिन यता २२०० को विन्दुमा टेवा खोजिरहेको थियो। यही विन्दुमा टेवा पाएर नेप्से बढ्ने प्रयासमा देखिएको पनि विश्लेषण गरिएको छ।
अघिल्लो दिन सेयर बजार परिसूचक नेप्से १७ महिनायताकै न्यून विन्दुमा पुगेको थियो। नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा पुगेको थियो। आज भने नेप्सेमा वृद्धि देखिएको हो।
बजार बढेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम घटेको छ। आज जम्मा २२४ धितोपत्र तथा ऋणपत्रको ३१ लाख ७३० सेयर किनबेच हुँदा एक अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिन ३९ लाख १७ हजार ६५५ सेयर किनबेच हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रूपैयाँको कारोबार भएको थियो। यसर्थ आज कारोबार रकममा अघिल्लो दिनको तुलनामा २८ करोड बढी घटेको हो।
आज जम्मा १५९ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १५२ वटाको मूल्य घटेको छ। सबैभन्दा धेरै बढ्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेको छ, जसको ५.९५ प्रतिशत सेयर मूल्य बढेको हो। कर्पोरेट विकास बैंकको भने नकारात्मक सर्किट ब्रेक लागेको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ट्रेडिङ र म्युचल फन्डबाहेक सबैको सेयर मूल्य बढेको छ। ट्रेडिङको भने ०.१७ प्रतिशत र म्युचल फन्डको ०.२५ प्रतिशतले घटेको हो। उपसमूहमध्ये सबैभन्दा धेरै हाइड्रोपावरको २.०६ प्रतिशत र फाइनान्सको १.७६ प्रतिशतले बढेको हो। बाँकीको वृद्धि भने सामान्य रहेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्त वित्तीय संस्था संस्थापक सेयरको ४ करोड ८४ लाख ८० हजार रूपैयाँको भएको छ। यसपछि अपर तामाकोशी हाइड्रोपावरको ४ करोड ४९ लाख ३३ हजार रूपैयाँ, अरुण काबेली पावरको ४ करोड ४९ लाख ३३ हजार रूपैयाँ, अरुण हाइड्रोपावरको ३ करोड ८१ लाख ५७ हजार रूपैयाँ र नबिल बैंकको ३ करोड २ लाख ३८ हजार रूपैयाँको कारोबार भएको हो।