राष्ट्र बैंकले हालका व्यवस्थामा कुनै फेरबदल नगरी तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरे पनि मूल्य वृद्धि र विदेशी मुद्रा सञ्चितिमा दबाब परेमा मौद्रिक नीतिलाई थप कस्ने स्पष्ट पारेको छ।
'मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखा परेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ,' मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ, 'तर, मुद्रास्फिति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ।'
राष्ट्र बैंकले केही समयअघि विभिन्न ४७ प्रमुख शीर्षक अन्तर्गतका हार्माेनिक कोड भएका करिब २७ सय वस्तुहरूको आयातको लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म आफैले नगद राख्नुपर्ने व्यवस्था गरेको थियो। मोटर साइकल र गाडीमा बाहेक अन्यलाई शतप्रतिशत मार्जिनको व्यवस्था गरिएको थियो।
तेस्रो त्रैमासिक समीक्षामा सेयर लगानीकर्ताहरूको लागि ल्याइएको एकल ग्राहक सीमा संशोधन हुने अपेक्षामा रहेका लगानीकर्ताहरू भने निराश भएका छन्। अगाडिका दुई दिन लगातार बढेको नेप्से परिसूचक शुक्रबार भने यो प्रतिवेदन सार्वजनिक भएको केही बेरमै दोहोरो अंकले घट्न सुरू भएको छ।
यो समाचार तयार पार्दासम्म नेप्से १७ अंकले घटेको छ। राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा एकल ग्राहकले प्रति बैंकबाट ४ करोड र पुरै बैंकिङ प्रणालीबट १२ करोड रूपैयाँ मात्र सेयर धितो कर्जा लिन सकिने व्यवस्था गरेको थियो। ग्राहकहरूले आगामी असार अन्त्यसम्ममा सो सीमाभन्दा बढी कर्जा लिएको भए सो सीमाभित्र ल्याइसक्नुपर्ने व्यवस्था छ।
त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेपको अनुपात (सिडी रेसियो) पनि आगामी असारभित्र ९० प्रतिशतमा सिमित पार्न बैंकहरूलाई निर्देशन दिएको छ। बैंकहरूले कर्जा योग्य पुँजी अभाव खेपिरहेको भन्दै यसमा सुधार हुने अपेक्षा गरेका थिए।
राष्ट्र बैंकले पुनरकर्जा, बैंकहरूले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दातमा समेत यथावत राखेको छ। बैंकहरूबाट उच्च दरमा कर्जा लगानी भइरहेको भन्दा कर्जा विस्तार गति रोक्न र कोभिड-१९ पूर्व दिइएका सहुलियतहरू घटाइने बताएको थियो।
हाल राष्ट्र बैंकले आफ्नो कोषमा रहेको रकमको ४.१२ गुणासम्म मात्रै बैंकहरूलाई पुनरकर्जा उपलब्ध गराइरहेको छ। कोभिड लगतै यसलाई ५ गुणासम्म लागनी गर्न सकिने बनाइएको थियो। हाल अनिवार्य नगद मौज्दात ३ प्रतिशत नै छ।