गभर्नर महाप्रसाद अधिकारीले अहिले चालु पुँजी कर्जामा गरिएको कडाईको विरोधले व्यवसायीहरू सुशासित हुन नचाहेको अर्थ लाग्ने बताएका छन्। शुक्रबार इन्स्टिट्युट फर इन्टिग्रटेड डेपलपभेन्ट स्टडिजले आफ्नो ४४ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
व्यवसायीहरूले यसअघि शतप्रतिशतसम्म चालु पुँजी कर्जा पाइरहेकोमा कात्तिकबाट राष्ट्र बैंकले अधिकतम ४० प्रतिशतसम्म मात्रै यस्तो कर्जा पाइने व्यवस्था गरेको छ। गभर्नर अधिकारीले अहिले व्यवसायीहरूले भनेजस्तो अवस्था पुरै नकारात्मक नभएको पनि जानकारी दिएका छन्।
‘हो, अहिले निर्माण क्षेत्रका केही उद्योगमा अलि समस्या परेको छ, तर हामीले पनि कारोबार भुक्तानी प्रणालीका सूचकहरू हेरेका छौं, यसले अहिले धेरै नै समस्या भएजस्तो देखिदैन,’ अधिकारीले भने,‘साना व्यवसायीहरूलाई समेत प्रभाव नपरोस भनेर हामीले एक करोडभन्दा कमको ऋणमा बैैंकहरूको आधारदर भन्दा दुई प्रतिशतसम्म मात्र ब्याज लिन पाउने व्यवस्था गरेका छौं।’ यसले १० प्रतिशत आधार दर पुग्दा पनि यी साना व्यवसायीहरूले १२ प्रतिशत ब्इाजमा कर्जा पाउने अवस्था रहेको उनले बताएका छन्।
अहिले कृषि क्षेत्रमा गएको कर्जा दुरुपयोग नै भएको भन्न नमिल्ने गभर्नरको भनाई छ। ‘केही वर्षको अन्तरालमा पनि बैंकहरूको कुल ऋणीको संख्या नै १५ लाखबाट १८ लाख मात्र पुगेको छ, हामीले कृषिसहतिका बिभिन्न क्षेत्रमा जोड दिनसक्ने जति जोड दिएकै हौं,’ गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्र २.१ प्रतिशतले ऋणात्मक भएको समयमा समेत कृषि क्षेत्रमा २ प्रतिशतले वृद्धि देखिएको थियो, यो क्षेत्रमा अन्य समस्या पनि रहेको कारण कर्जाको वृद्धि कै दरमा यो क्षेत्रको वृद्धि नभएको हुनसक्छ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९, ०४:२१:४४