गत आर्थिक वर्ष २०७६/७७ मा १० हजार लिटर दुग्ध विकास संस्थान(डिडिसी) को घ्यु निर्यात भएको छ। उक्त परिमाणको घ्यु जापान निर्यात भएको संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख संजिव झाले बताए।
‘गत आवमा हामीले १० हजार लिटरभन्दा माथि घ्यु जापान गएको छ। जापनीजले हाम्रो घ्यु एकदमै मनपराएका छन्,’ उनले भने।
उनकाअनुसार लकडाउनमा मात्रै ५ हजार लिटर घ्यु निर्यात भएको छ। अन्य समयमा थोरै परिमाणमा गएपनि लकडाउनमा भने ठूलो परिमाणमा गएको उनले बताए।
लकडाउन खुलेसँगै घ्युको निर्यात परिमाण अझै बढ्ने उनको अनुमान छ।
‘लकडाउनमा फ्लाइट बन्द थियो। चार्टड उडान गरिएको फ्लाइटमा निर्यातकर्ताले मिलाएर पठाएका थिए। अब त फ्लाइट खुलेको छ। सहजै घ्यु पठाउन सकिन्छ,’ उनले भने।
उनकाअनुसार अन्य देशहरूबाट पनि घ्युको माग आएको छ। दुवैमा पनि नमुनाको लागि घ्यु गएको छ। संस्थानले विदेशीले घ्यु मन मराएपछि विभिन्न देशसँग वार्षिक सम्झौता नै गरेर पठाउने योजना बनाएको छ। अहिले लेबलिङ र प्याकेजिङको काम भइरहेको संस्थानले बताएको छ।