नेपाल उद्योग वाणिज्य महासंघको साधारणसाभा तथा चुनाव स्थगित गर्ने निर्णय भएपछि उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले फरक मत राखेका छन्।
महासंघका केही अध्यक्षसहित बसेको पदाधिकारी समितिको बैठकले साउन २६ र २७ गतेका लागि तोकिएको ५४ औं साधारणसभा तथा चुनाव स्थगित गर्ने निर्णय गरेको थियो।
उक्त बैठममा चन्द्र ढकालले नोट अफ डिसेन्ट लेखेका थिए।
निर्णय भएको भोलिपल्ट शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले फरक मत राख्नुको आधारहरु प्रस्तु गरेका छन्।
बैठकले निर्णय गरेपछि महासंघका अन्य पदाधिकारीहरुले आफूलाई स्वास्थ्य सम्बन्धि जिम्मेवार नभएको, खाली चुनावका पछिमात्र दौडिएको आरोप लगाएर आधारहित प्रचार गरिएको उनले बताए।
'यसमा मेरो आपत्ति छ। मैले तोकिएकै मितिमा चुनाव हुनुपर्छ। चुनाव नहुने ठोस कारण नभइ अहिले नै स्थगित गर्न हुन्न भन्ने धारणा राखेको हुँ। यसमा मेरा तर्कका केही आधार छन्। तर केही साथीहरुले भने मलाई गैरजिम्मेवार रुपमा प्रस्तुत गर्नुभएको छ। यो नितान्त गलत छ' ढकालले भने।
ढकालले तोकिएको मितिमा चुनाव तथा साधारणसभा गर्नका लागि सरकारसँग अनुमति माग गरिएको तर सरकारको जवाफ नआउँदै हतारमा निर्णय गरिएको बताए। त्यस्तै चुनाव स्थगन तथा सार्नका लागि केन्द्रीय कार्यकारिणी समितिबाट निर्णय गर्नुपर्ने भएपनि पदाधिकारी समितिबाटमात्र गरिएकाले जनस्वास्थ्यको लेपन दिएर नियोजित स्वार्थ पूरा गर्न खोजिएको उनले आरोप लगाए।
'सरकारले १२० दिनसम्म लगाएको लकडाउन गत मङ्गलबारबाट हटाएको छ । कोरोनाको प्रभाव र त्रास विस्तारै कम हुँदै गएको छ । चैत ११ गतेबाट ठप्प भएको हाम्रो सार्वजनिक जीवन फेरी चलायमान हुन थालेको छ । जसरी तपाईं हाम्रा उद्योगहरु, कार्यालयहरु, कर्पोरेट अफिसहरु स्वास्थ्यसम्वन्धी मापदण्डहरु लागू गरेर खोलेका छौं । मैले त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा पनि पूर्णरुपमा स्वास्थ्यसम्वन्धी मापदण्डहरु लागू गरेर सञ्चालन गरौं भन्ने राय राखेको थिएँ' आफूले साधारणसभा कसरी गर्न सकिन्छ भनेर तर्कसहित धारणा राखेको बताए।
तर यसरी आफूले तर्कसहति धारणा राख्दा भावनात्मक कुरा गरेर आफूलाई बद्नाम गर्न खोजिएको उनको भनाइ छ।
'यस्तो राय राख्दा महासंघकै पदाधिकारी साथीहरुले स्वास्थ्यभन्दा महासंघ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाउने प्रयास गर्नुभयो । आफ्नो सार्वजनिक जीवनमा मैले पनि स्वास्थ्यभन्दा महासंघ ठूलो हो भनेर कहिल्यै पनि धारणा राखेको छैन् । त्यस्तो म सोच्न पनि सक्दिन । मैले कोभिडको महामारीमा साधारणसभाको कुरा उठाउँदा स्वास्थ्यसम्बन्धी कुनै पनि कुरामा सम्झौता गर्ने कुरा गरेको छैन् । कोभिड महामारी कै बिच दक्षिण कोरिया र केही युरोपेली देशले निर्वाचन सम्पन्न गरे । हाम्रै देशमा संघीय तथा प्रदेश संसदहरु चले । यसमा हामीले पनि नेपाल सरकारले जारी गरेका स्वास्थ्यसम्वन्धी प्रावधानहरु लागू गरेर साधारणसभा गर्न सकिन्छ भन्ने कुरा राखेको हुँ' ढकालले भने।