वीरगञ्जको आन्तरिक सुख्खा बन्दरगाहको इन्ल्याण्ड क्लियरेन्स डिपो को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइ पोर्टले पाएको छ। सुरुदेखि नै यो काम भारतीय रेलवेको अंग कन्नकोर रेलवेजले गर्दै आएको थियो।
२०५७ सालदेखि निर्माण सुरु भई २०६१ सालदेखि सञ्चालनमा आएको वीरगञ्ज सुख्खा बन्दरगाहको ४५०० कन्टेनरहरु व्यवस्थापन र भण्डारण गर्ने क्षमता छ। भारतको कोलकाता र विषाखापट्नम बन्दरगाहबाट रक्शौल हुँदै सोझै वीरगञ्जसम्म भारतीय रेलमार्फत् मालवाहक रेलहरु आवतजावत गर्दछन्।
प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रा.लि.को भारतीय साझेदार ‘प्रिस्टिन मेगालजिस्टिक्स पार्क प्रा.ली’ले आफ्नै ३५ कन्टेनर रेलहरु मार्फत् बिगत १० बर्षदेखि लुधियाना, कानपूर, सिलिगुढी, पट्ना लगायत स्थानहरुमा इन्ल्याण्ड क्लियरेन्स डिपोहरु सञ्चालन गर्दै आएको छ। पहिलो पटक अन्तराष्ट्रिय बजारमा पनि प्रवेश गरेको हो।
नेपाली साझेदार ‘भ्याली टर्मिनल्स’ भ्याली ग्रुपको लजिस्टिक्स क्षेत्रमा काम गर्ने भगिनी कम्पनी हो। भ्याली ग्रुपले कुखुराजन्य उत्पादन र बितरण, फास्ट फुड, अटो मोबाइल, निर्माण सामाग्री उत्पादन, पूर्वाधार, आइटी आदि क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।