उमेरले भर्खरै ४४ वर्ष पार गर्दै गरेका जोशिला युवा हुन्, रुपेश पाण्डे । आफ्नै स्वदेशी माटोमा केही गरौं भन्ने अट्टहास भावना छ, उनमा । उनी कुनै पनि राम्रा योजनाहरुमा अघि बढ्न कत्ति पनि हिचकिचाउँदैनन् ।
वीरगन्जको विकट ठाउँ उनको जन्मथलो हो । मध्यम वर्गीय परिवारमा जन्मिएका पाण्डले अहोरात्रको संघर्ष र मिहिनेतले काठमाडौंमा आफ्नो साम्रराज्य खडा गरेका छन् ।
तन, मन, लगन अनि इमानदारिता साथ काम गरे जुनै क्षेत्रको व्यवासायमा सफल भइन्छ भन्ने अनुभव छ उनको ।
उनी कुनै पनि पेसा व्यवसायमा सफल हुन शिक्षाको अधिक महत्व रहने बताउँछन । सधैं सफल व्यक्तिहरुको जीवनी पढ्न रुचाउने उनी अनौपचारिक रुपमा अध्ययनशील समेत छन् ।
उनी काठमाडाैँमा पुस्तैनी कपडाको व्यापार र फेशन शोरुम खोलेर बसेका कैयौं व्यवसायीको प्रतिस्पर्धामा उत्रेका छन।
१७ वर्ष अघि व्यापार गर्न प्रवेश गरेका रुपेश त्यस अघि यो शहरमा घुम्नका लागि भनेर एक दुई पटक केही दिनका लागि मात्र आएका थिए । वीरगन्ज, हेटौँडा तथा नारायणगढमा सफलतापूर्वक व्यापार सञ्चालन गरेका पाण्डेलाई काठमाडाैमा ब्यापार गर्न लाग्यो। उनी २०६० सालमा पहिलोपल्ट व्यापार गर्ने उद्देश्यका साथ काठमाडाैं प्रवेश गरे ।
काठमाडाैं प्रवेश गरेसँगै भारतबाट आयात गरेर महिला पहिरन जस्तै सारी, कुर्ता, लेहङ्गा विभिन्न स्टोरलाई सप्लाई गर्ने कार्य गरे । शुरुवाती दिनमा केही समस्या आए पनि उनको कारोबार विस्तारै फैलिँदै गयो ।
काठमाडाैंका व्यवसायीलाई माग अनुरुप सामग्री उपलब्ध गराउनका लागि विभिन्न स्थानमा गोदामको व्यवस्था गर्नुपर्यो । यस्तो गोदाम भाडामा लिएर सञ्चालन गर्नुभन्दा आफैले घर किन्ने सोच उनले बनाए । वीरगन्ज देखिनै बैंकसँग सम्बन्ध विकसित गरेका पाण्डेलाई काठमाडाैंमा घर–जग्गा खरिद गर्न खासै समस्या भएन ।
वि.सं. २०६६ सालबाट पाण्डेले आफ्नो व्यवसायमा नयाँ आयाम थप्ने सोच बनाए । सधैं न्युरोडको अग्लो घरमा रहेको आफ्नो अफिसबाट बजार नियाल्ने पाण्डेले अन्ततः आफै सडकमा ओर्लने सोच बनाए । ग्राहकसँग कुनै माध्यमबाट सम्पर्क गर्नुभन्दा सोझै सम्पर्क राख्ने उनको निर्णयलाई सार्थक बनाउन सफल भयो बिशालबजार अगाडि इन्द्रचोक नजिकैको जय अम्बे साडी शोरुम ।
सामानको सप्लाई गर्नु र आफैले रिटेल गर्नुमा धेरै फरक हुन्छ । तर, सडकमा ओर्लने बित्तिकै पाण्डेको व्यवसायले गति बढायो । शहरको परिधि बढ्दै गइरहेको अवस्थामा केवल न्युरोडको व्यापारले सन्तुष्ट हुन सकेनन् उनी ।
शहरको बाक्लो वस्ती भएको सबै क्षेत्रमा सस्तो, गुणस्तरिय र ब्राण्डेड पहिरन पुर्याउन सके व्यापार फैैलनसक्छ भन्ने उनको सोचले उनलाई सत्य साबित गर्यो । केही वर्षमानै उनले काठमाडौंका विभिन्न क्षेत्रमा करिब दुई दर्जन शोरुम स्थापना गरे ।
तर, भारतीय महिला पहिरनका ब्राण्डमा सीमित हुनुले पनि उनलाई पूर्णता पाएको आभास भएन । नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्राण्ड प्रतिको लगाव बढदै गइरहेको अनुभव गरेका पाण्डेले दरबार मार्ग, लबिम मल, जावलाखेल जस्ता स्थानमा विदेशी ब्राण्डका पसलहरू खोले । दरबार मार्गमा दामिलानो ब्राण्डलाई महत्व दिए भने लबिममा लुई फिलिप, इण्डियन टेरेन र जावलाखेलमा एपी ब्राण्डका शोरुम आरपी ग्रुपको स्वामित्वमा खोलिए ।
२०६६ सालमा रिटेल व्यवसायमा प्रवेश गरेका पाण्डेले करिब पाँच दर्जन अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल भित्र्याए । फेसन र गुणस्तर दुवैको पहिचान भएका युवा र वयस्क सबैका लागि सबैथरीको पहिरन, जुत्ता, ब्याग, लगेज आदी नेपालमा उपयुक्त मूल्यमा उपलब्ध गराए ।
अब, दश वर्षको ब्राण्ड यात्रा पश्चात पाण्डे नयाँ आयामको खोजीमा छन् । अहिले भएको व्यवसायलाई अझ मजबुत गर्दै लैजानका लागि उनका सहयोगी पर्याप्त छन् । उनी आफू भने अब नयाँ व्यवसायमा सशक्त ढंगले कदम बढाउने सोचमा पुगेका छन् ।
कोभिड–१९ को आगमनभन्दा अघि झण्डै पाँच तारे होटलमा लगानी गरिसकेका पाण्डे अहिले त्यो योजनालाई केही समय पर्ख र हेरको स्थितिमा राख्ने सोचमा देखिएका छन् ।
अहिलेसम्म नेपालीलाई विदेशी सामानको स्वाद चखाएका पाण्डेलाई अब विदेशमा नेपाल लैजानुपर्छ भन्ने सोचले घच्घच्याउन थालेको छ । उनलाई थाहा छ, नेपालको उत्पादनलाई विदेश पुर्याउनका लागि सबैभन्दा पहिलो समस्या गुणस्तर, त्यसपछि चाहिने मात्रामा परिमाणको कमी र तेस्रो आपूर्तिको निरन्तरता हो ।
यी विषयमा अध्ययन गरेर मात्र ठोस कदम चाल्ने सोचमा पुगेका पाण्डे अहिलेनै यही व्यवसायमा प्रवेश गर्दैछु भन्ने अवस्थामा पुगेका छैनन् । तर, चाँडै उनको नयाँ कदमको विषयमा जानकारी गराउने आश्वासन पनि दिन्छन् ।
यसरी हरेक व्यवसायमा हात हालेपछि सफल हुनुको रहस्य के हो भन्ने प्रश्न पाण्डेको जीवनी अध्ययन गर्ने जो कोहीलाई पनि लाग्न सक्दछ । उनी आफैँ भने यसको श्रेय आफ्नो लगनशीलतालाई दिन चाहन्छन् तर, निरन्तर एक्लै सफलताको साँचो हुन सक्दैन भन्ने प्रश्न स्वभाविक हुन्छ । पाण्डे थप्छन्, व्यवसायमा बचनको पक्का हुनु पनि एक प्रकारको गुण हो ।
आफूले व्यवसाय गरेर प्रतिस्पर्धीभन्दा धेरै कमाउने तर कामदार र सहयोगीको सेवा, सुविधा र तलबमा भने प्रतिस्पर्धीको बराबरी मात्र गर्ने कोशिस गर्ने व्यवसायी अन्ततः ओराले लाग्छ भन्ने पाण्डेको बुझाई छ ।