नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेद्वारी दिएका दिनेश श्रेष्ठले महासंघको सुदृढीकरणका लागि आफू चुनावमा होमिएको प्रतिक्रिया दिएका छन्।
काठमाडौंमा जारी महासंघको ५४ औं साधारणसभा बोल्दै श्रेष्ठले अहिलेको समयमा नेपालमा थुप्रै व्यावसायिक अवरोध भएकाले त्यसमा सुधार गर्नका लागि महासंघको हस्तक्षेपकारी पहल आवश्यक भएको बताए।
गाउँमा भएका साना व्यवसायदेखि विदेशी लगानीका सन्दर्भमा थुप्रै अवरोध भएको तर महासंघजस्ता संस्थाबाट अहिलेसम्म प्रभावकारी पहल नभएको उनको भनाइ थियो।
अब आउने नयाँ नेतृत्वले त्यसमा पहल गर्ने र आफूले चुनाव जितेमा व्यवासायीमा विश्वास बढाउने काम गर्ने प्रतिबद्धतता जनाए।
'अहिले पनि देशमा नेपाली भन्दा विदेशी वस्तुको पहुँच सजिलो छ। सरकारले आफै ६ रुपैयाँमा बिजुली किनेर १२ रुपैयाँ बिक्री गर्छ। पेट्रोलमा त्यस्तै अधिक नाफा खाएर कर्मचारीलाई बोनस बाँडिन्छ। अनि निजी क्षेत्रका लागि अनुगमनका नाममा जरिबानामात्र उठाइन्छ। यस्तोमा कसरी मनोबल बढ्छ? उनले भने' यस्तै समस्या समाधानका लागि हाम्रो समूहले काम गर्ने छ।'
किशोर प्रधानको प्यानलबाट जिल्ला नगर वाणिज्य संघ तर्फबाट उपाध्यक्षका उम्मेद्वारी दिएका श्रेष्ठले आफ्नो समूहले कोरोना पछिको अवस्थामा सिर्जना भएका समस्या समाधानका लागि पनि काम गर्ने प्रतिबद्धतता व्यक्त गरेका छन्।