नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रहेका किशोर प्रधानले नेतृत्व चयनमा मतदाता सार्वभौम रहेको तर मताधिकार प्रयोग गर्दा कतैबाट प्रभावित हुन नहुने बताएका छन्।
महासंघको साधारणसभामा प्रधानले कसैको प्रलोभनमा परेर मतलाई खेर जानबाट बचाउन सबैमा आग्रह गरेका छन्।
'नेतृत्व चयन गर्ने अधिकार मतदातासँग छ। तर मत हाल्दा अन्तरआत्माबाट निर्णय गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। माथिको मष्तिस्कको भर नपर्नुस। किनभने भोलि कार्यकाल सकिंदा पछुतो नहोस्। त्यसैले म फेरि पनि भन्छु आत्माको आवाजलाई सुनेपछि ठेस पुग्दैन। दिमागको कुरालाई एकछिनलाई छोडिदिनुस्' उनले भने।
लामो समयदेखि जिल्ला नगरबाट महासंघमा काम गर्दै आएकाले आफू नेतृत्वमा पुगेपछि समग्र निजी क्षेत्रको हक तथा अधिकार सुरक्षित गर्नका लागि काम गर्ने उनको प्रतिबद्धता छ।
'मेराे अनुभव तथा महासंघका दैनिक समस्या समाधानका लागि खट्नसक्ने क्षमता सबैले देखिरहेकाले नेतृत्व मतदान गर्दा मतदाताले ध्यान दिनुपर्छ', उनले भने।
वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको साथ पाएका प्रधानले आफू निर्वाचित भएपछि गोल्छाले बनाएको कार्ययोजना कार्यान्वयनमा काम गर्ने र अर्को कार्यकालका लागि नयाँ कार्ययोजना बनाउने बताएका छन्।
'अहिलेको नेतृत्व गर्ने शेखर गोल्छा हुनुहुन्छ। जसका लागि उहाँले कार्ययोजना बनाउनुभएको छ। त्यसैलाई मैले कार्यान्वयन गर्ने हो। अहिले ऋणात्मक हुँदै गएको अर्थतन्त्रलाई माथि उकास्ने हाम्रो ध्यान हुने छ' उनले भने।
महामारीका कारण नेपालको अर्थतन्त्र मन्दितर्फ उन्मुख भएको र यसलाई माथि उठानका लागि निजी क्षेत्रको पनि उत्तिकै सक्रियता आवश्यक पर्छ। नीतिगत व्यवस्थाका लागि सरकारसँग अर्थपूर्ण पहल गर्ने र काम गर्नका लागि निजी क्षेत्रलाई सशक्त बनाउने उनको भनाइ छ।
कृषि तथा उद्दमशीलता बढाएर देशमा रोजगारीको सृजना गर्न र लगानीको वातावरण बनाउन शेखर गोल्छाको नेतृत्वमा महासंघले काम गर्ने उनको दाबी छ।