सरोवर पिउने पानीले आफ्नो विचार चोरेर डिआरपानीले गरेको दाबी असत्य रहेको आरोप लगाएको छ।
'तपाईको घरमा पिउने पानी सकियो, अर्डर गर्नुस घरमै आइपुग्छ शीर्षक'को समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको कम्पनीले बताएको छ।
विभिन्न कम्पनीले प्रशोधन तथा शुद्धिकरण गरेको पानीको गुणस्तर प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ बमोजिम भए नभएको नियमित जाँच गर्ने, जाँचको नतिजा उपभोक्ताको जानकारीको लागि सार्वजनिक गर्ने, पानी प्रशोधन तथा शुद्धिकरण गर्ने स्थलको सरसफाई के कस्तो छ भनी नियमित निरीक्षण गर्ने र मापदण्ड बमोजिम रहेका पानीलाई मोबाइल एप्लिकेशनको माध्यमबाट खरिद गर्न मिल्ने व्यवस्था गरी खरिद गरिएको पानीलाई उपभोक्ताको घर तथा कार्यालयमा लगेर वितरण गर्ने उद्धेश्यले सरोवर पिउने पानीकाे स्थापना भएको हो।
२३ जेष्ठ २०७७ मा दर्ता भएको यस सरोवर पिउने पानी प्रा.लि.ले हाल मोबाईल एप्लिकेशन डेभलपमेन्ट, वेभ साइट डेभलपमेन्ट, कर्मचारी नियुक्ति लगायतका प्रशासनिक कार्य गरी रहेको बताएको छ।
हप्ता दश दिन भित्रै सेवा संचालन गर्ने गरी काम भई रहेको जानकारी सरोवरले गराएको छ।
सरोवर पिउने पानीको माथि उल्लेखित उद्धेश्य अनुरुपको सेवा व्यवसाय संचालन गर्नका लागि नवप्रर्वतन व्यवसाय अनुदान पुँजी माग गरी राष्ट्रिय योजना आयोग समक्ष सरोवर पिउने पानीले निवेदन दिएको समेत बताएको छ।
'राष्ट्रिय योजना आयोगमा पठाइएको प्रस्तावना प्राप्त गरेर हो वा हाम्रो फेसबुक पेज तथा वेभसाईटमा राखिएको विवरणबाट हो डिआरपानीले हाम्रो विचार, योजना, शैली सँग हुबहु मिल्ने गरी विचार चोरेर डिआरपानीले गरेको दाबी पूर्ण रुपमा असत्य रहेको र यसले हामी माथि ठूलो अन्याय भएको अनुरोध गर्न चाहन्छु', कम्पनीले भनेको छ।
डिआरपानीले बदमासी गरी दाबी गरेको विचार सरोवर पिउने पानीको रहेको र र डिआरपानीले दाबी गरे झैँ पानीको गुणस्तर जाँच गरी पानी वितरण गर्ने पहिलो कम्पनी डिआरपानी नभई सरोवर रहेको बताइएको छ।