सिभिल मल व्यवस्थापनले लक डाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ।
कोभिडका कारण सरकारले गरेको लक डाउन अवधिको ४ महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो।
सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेले चैतदेखि असारसम्म ४ महिनामा ५० प्रतिशत छुट, साउन भदौ र असोज गरी ३ महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवपस्थापन पक्षसँग सहमति भएको बताए।
कार्तिकबाट एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उनले बताए।
सरकारले साउन ७ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेपनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए।
पसल सञ्चालन भएपनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए।
सिभिल मल बचाउ अभियान नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचो समेत हस्तान्तरण गरेका थिए।
मंगलबार मध्यरातिबाट लागू हुनेगरी सरकारले लकडाउन अन्त्यको घोषणा गरिसकेको छ। सरकारले लक डाउन खोलेपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ।