गएको आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणले विकास निर्माणमा ४७ अर्ब १४ करोड खर्च गरेको छ। कोरोना भाइरस महामारीका कारण पछिल्लो समय आयोजना प्रभावित हुँदा पनि प्राधिकरणले खर्चमा भने सन्तोषजनक गर्न सफल भएको जानकारी दिएको छ।
यो खर्च प्राधिकरणका लागि विनियोजन गरिएको बजेटको ८१ प्रतिशत हो। गएको वर्ष विभिन्न स्रोतबाट सञ्चालित आयोजनाका लागि ५८ अर्ब ४ करोड विनियोजन गरिएको थियो। समग्र भौतिक प्रगति(निर्माण) भने लक्ष्यको ८२ प्रतिशत सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ।
विश्वव्यापी महामारी कोभिड–१९का कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदासमेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘वन क्षेत्रको जग्गा प्रयोगमा रहेको प्रक्रियागत झन्जटका कारण सिर्जित समस्या, जग्गा अधिग्रहणको समस्या, प्रसारण तथा वितरण लाइनमा भइरहेको अवरोध सबै आयोजनाले व्यहोरिरहेका साझा समस्या हुन्, गत आवका ४ महिना कोभिड–१९का कारण आयोजनाहरुको निर्माणमा चैतर्फी प्रभाव पर्यो’, कार्यकारी निर्देशक घिसिङले भने।
गएको वर्ष निजी क्षेत्रका १५ आयोजना निर्माण सम्पन्न भई १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।
प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण, ६३५ मेगावाटको दूधकोसी, माथिल्लो मोदी ए, तामाकोसी पाँचौ जलविद्युत्लगायतका आयोजनाको विस्तृत अध्ययनका लागि १ अर्ब ९५ करोड विनियोजन गरिएकोमा २६.४८ प्रतिशत मात्रै खर्च भएको छ ।
प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माणाधीन छन् । माथिल्लो तामाकोसीको निर्माण यस वर्ष सक्ने लक्ष्य राखिएको छ ।
१५ जिल्ला पूर्ण विद्युतीकरण
मुलुकभरका ७७ जिल्लामध्ये १५मा पूर्ण विद्युतीकरण भएको छ । गत आवमा ११ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको हो । यसअघि पर्वत, स्याङजा, काठमाडौं र भक्तपुरलाई पूर्ण विद्युतीकरण गरिएको प्राधिकरणले जानकारी दिएको छ।
गएको वर्ष धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र वर्दियालाई पूर्ण विद्युतीकरण भएका छन्। ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखेको थियो ।