विगत दुई सातादेखि सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छैन।
बोर्डर छेउमा भएको सलह भारतकाे राजस्थान तिरै फर्किएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए।
उनकाअनुसार नेपाल प्रवेश गरेका पुराना सलह पनि मर्दै गएका छन्।
हावा पूर्वी दिशातर्फ बहेकोले तुरून्तै नयाँ सलह नेपाल आउने संभावना न्यून रहेको उनी बताउँछन्।
‘हावा पूर्वी दिशातर्फ बहेकोले तुरून्तै नयाँ सलह नेपाल आउने संभावना न्यून छ, हावा दिशा फेरियो भने पनि नयाँ सलह नेपाल आउन १०–१५ दिन लाग्छ,’ उनले भने।
अहिले जिल्लाबाट पनि सलहबारे कुनै जानकारी नआएको उनी बताउँछन्।
‘अहिले जिल्लाबाट पनि नयाँ सलहबारे कुनै जानकारी आएको छैन, घाम लागेको बेला फाट्टफुट्ट दुई/चार वटा उडेको देखिन्छ भन्ने जानकारी आएको छ,’ उनले भने, ‘त्यसले बालीमा कुनै क्षति गरेको छैन।’
असार १३ गते पहिलोपटक सलह नेपाल प्रवेश गरेको थियो। उक्त सलहले सामान्य क्षति गरेको विषादी व्यवस्थापन केन्द्रले बताएको छ। केन्द्रकाअनुसार साउन ३ बाट नयाँ सलह नेपाल प्रवेश गरेको छैन।