काठमाडौं उपत्यकाभित्र ११ स्थानमा यात्रु सहायता कक्ष
काठमाडौं उपत्यकाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ।
सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, र नाडाको सहकार्यमा उक्त सहायता कक्षको व्यवस्था गरिएका हो।
बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु गरिएको छ।
सहायता कक्ष हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाका तर्फबाट रजत श्रेष्ठ, टाटा मोटर्स कमर्शियल गाडीका तर्फबाट सुरज सिंह, यातायात व्यवस्था विभागका तर्फबाट केशव जम्मरकट्टेल, लगायत महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका तर्फबाट कर्मचारी प्रतिनिधिहरु थिए।
गत वर्षभन्दा यो वर्ष दशैं मनाउनको लागि उपत्यका छोड्ने यात्रुहरुको अनुमान कम गरिएको छ। तर, यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु नआओस् भनेर यो सेवा दिइएको बताइएको छ।
उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकोले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले सहायता कक्ष राखिएको हो।
यात्रु आवतजावतको क्रममा सामाजिक दुरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्ने र स्यनिटाइजरको प्रयोग लगायत सूचना यो कक्षबाट दिइनेछ।