काठमाडौं उपत्यकाको सडकमा विशेष क्यामरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन गरिएको छ।
ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरी कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आइतबारदेखि परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
‘सर्भिलेन्स भेइकल’ले उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तीब्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले जनाएको छ।
माइक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटिभी क्यामराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सक्ने महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
त्यस्तै, यो भ्यानमा सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधी जडान गरिएको छ।
पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङ्घन हुने क्षेत्रमा भ्यान राखिने उनले जानकारी दिए।
कार्यक्रममा ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई पुरस्कृत र सम्मान समेत गरिएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ५३ जना चालकहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो।