माउन्ट केटु सफलतापूर्वक आरोहण गरेर स्वदेश फर्किएको दश सदस्यीय नेपाली आरोहण टोलीलाई काठमाडौंको पाँचतारे होटल म्यारियटले स्वागत गरेको छ।
पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो माउन्ट केटुको हिउँदमा सफल आरोहण गरेर नेपाली आरोही दलले कीर्तिमान कायम गरेका थिए।
आरोहण दलका सदस्यहरुको स्वागतमा होटलले आज रात्रीभोजको आयोजना गरेको थियो। सो अवसरमा काठमाडौं स्थित विदेशी नियोगका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो।
आठ हजार ६ सय ११ मिटर उचाइको केटु हिमालमा हिउँद याममा अहिलेसम्म कसैले पनि आरोहण गरेका थिएनन्। नेपाली १० जना आरोहीले सफलतापूर्वक यो कार्य सम्पन्न गरेका छन्।
नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले केटु आरोहण गरेका हुन्।
दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनविना नै आरोहण गरेका थिए। सुरूमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखर पुगेका थिए।