सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो।
बर्सेनि रासयनिक मलको अभावमा नेपाली किसानहरूले भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका निम्ति सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन्।
‘मलको तत्कालीन समस्या समाधान हामीले गरिसकेका छौं। हामीले मलको दीर्घकालीन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ’, मन्त्री अर्यालले भनिन्, ‘यस वर्ष मलको अभावमा किसानहरू छटपटाउनुपर्ने छैन भने उत्पादनमा कमी आउने छैन। मध्यकालीन समस्या समाधानका निम्ति प्रक्रिया अगाडि बढाएका छौं।’
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा रासयनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई रासयनिक मल कारखाना स्थापना गर्नका निम्ति प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो।
सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडालिटीमा नेपालमा रासयनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासयनिक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ।