अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहने बताएका छन्।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन्।
समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको उनको भनाइ छ।
‘अर्थतन्त्रको उत्थानशीलता कायम गर्दै परिस्थितिलाई हरसम्भव बसमा राख्ने प्रयत्नका बावजुद निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपूर्ण नै रहेका छन्।’
आशातित रूपमा आर्थिक पुनरुत्थान प्रक्रियाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड-१९ को दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरू र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको बताए।
कोभिड-१९ को विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ,’ उनले भने, ‘यसैगरी समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासमा चुनौती थपिदिएको छ।’
अर्थमन्त्री पौडेलले जनस्वास्थमा आएको संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा वस्तुको रूपमा लिइने विश्वास व्यक्त गरे।
उनले खोपको आपूर्तिमा सबै देशले सहजरूपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको बताए।
आर्थिक पुनरुत्थानको गतिलाई दीगो बनाउनको लागि साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नु पर्ने उनको भनाइ छ।
सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तरआवद्धताको माध्यमबाट क्षेत्रीय समृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको धारणा व्यक्त गरे।
एसियाली विकास बैंकको ५४ औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखको बैठक भएको हो।