समय थप गरी सामाजिक सुरक्षा कोषका केही व्यवस्थालाई सहज र अनुकुल बनाउन बैंकरहरुले नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद वास्तवलाई आग्रह गरेका छन्।
मन्त्री वास्तव र नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरुबीच बिहीबार भएको भेटवार्ताका क्रममा मन्त्री वास्तवले कोषका व्यवस्थालाई सहजीकरण गरेर लैजानका लागि आफू सकारात्मक रहेको जनाए।
‘कोष, बैंकका पदाधिकारी र कर्मचारीहरु सबैसँग बसेर एउटा निचोड निकाल्नुपर्छ, यो कोष कर्मचारीहरुकै हितका लागि हो’ मन्त्रीले भनेका कुरा उदृत गर्दै भेटमा सहभागी नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले भने।
भेटवार्ताका क्रममा आफूहरुले समय थपेर केही विषयहरुमा संशोधन गरेर अघि बढ्न आग्रह गरेको उनले बताए। सो विषयमा तत्काल आफूले प्रतिबद्धता जनाउन नसके पनि सहजीकरण गर्ने सम्वन्धमा मन्त्री सकारात्मक देखिएको उनले बताए।
‘सामाजिक सुरक्षा कोषमा भएका कमजोरीबारे आफूले राम्ररी बुझेर अघि बढ्ने प्रतिवद्धता उहाँले जनाउनुभयो’ ढुंगानाले भने।
समाजिक सुरक्षा कोषमा २०७८ असार मसान्तभित्र सबै योगदानकर्ता सहभागी हुनुपर्ने अन्यथा त्यसपछिका योगदानकर्ता निवृत्तिभरण योजनामा समावेश हुने व्यवस्था छ।
सामाजिक सुरक्षा कोषले सरकारी र निजी कर्मचारीलाई विभेद गरेको, बचत गरेको रकम झिक्न कि जागिर छाड्नुपर्ने वा ६० पुग्नुपर्ने व्यवस्था रहेको, कोषले दिने पेन्सन प्रचलित ब्याजभन्दा कम र साँवा गुग्ने अवस्था भएको लगायतका विषयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी असन्तुष्ट छन्।