ट्यांकर चालकहरूले इन्धन ओसार–पसार नगर्ने भएका छन्। खोपको व्यवस्था नभएसम्मका लागि इन्धन ओसार–पसार कार्य स्थगित गरिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए।
‘हामीले पटक–पटक खोपको माग गर्दा खोप पाइएन, अब हामी खोपको व्यवस्था नभएसम्म इन्धन ढुवानी गर्दैनौं,’ अध्यक्ष लामाले भने।
उनका अनुसार आइतबारदेखिनै थानकोट डिपोबाट तेल ढुवानी गरिएको छैन।
कोभिड–१९ ले कतिपय ट्यांकर चालक तथा सहचालको मृत्यु समेत भइसकेसको उनले जानकारी दिएका छन्।
केही समय अघि प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले पनि इन्धन कारोबार गर्ने कर्मचारीलाई खोपको व्यवस्था नभए पेट्रोलियम कारोबार बन्द हुन सक्ने बताएको थियो।
खोप उपलब्धताका लागि पटक–पटक आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई माग गरेपनि हालसम्म पेट्रोलिय व्यवसाय क्षेत्रमा खोप उपलब्ध हुन नसकेको व्यवसायीहरूले बताएका छन्।
एसोसियसनले दिएका तथ्यांक अनुसार देशभर १० हजार ३ सय ४६ जना पेट्रोलियम कारोबारमा संलग्न रहेकाले सोही संख्या बराबर खोप आवश्यक रहेको बताएको छ।