पुस्तक डेलिभरी तथा इ–बुकको सुविधा दिइरहेको अनलाइन पोर्टल ‘थुप्रै’ ले अडियोबुक विकास गरेको छ। साढे दुई वर्षदेखि पुस्तकलाई प्रविधिसँग जोड्दै आएको थुप्रैले सुन्न सकिने पुस्तकको सेवा सुरु गरेको हो।
पहिलो लकडाउनमा इ–बुक सेवा सुरु गरेको यस अनलाइन पोर्टलले अडियोबुकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको छ।
कामको व्यस्तताले पुस्तक पढ्न चाहेपनि समय निकाल्न नसक्नेहरुका लागि अडियोबुक उपयुक्त हुने थुप्रैका सहसंस्थापक दिपेश आचार्यले बताएका छन्।
यसरी छापिएका पुस्तक किन्नुभन्दा अडियोबुक सस्तो पर्ने र अनलाइनमार्फत् किनेर तुरुन्तै सुन्न सकिन्छ।
थुप्रैमा उपलब्ध अडियोबुकमा माधवप्रसाद घिमिरे, इश्वर वल्लभ, दिनेश अधिकारी, दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, श्यामल, सुजीव शाक्य, जीवन कुमार प्रसाईँ र अन्य लेखकहरुले आफ्नै आवाजमा वाचन गरेका कृतिहरु छन्।
प्रख्यात रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्दिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका चर्चित कृतिहरु पनि उपलब्ध छन्।
थुप्रैले यो सेवा नेपालय, दृश्य, कथालय, किताब पब्लिशर्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुल्बुल पब्लिकेशन, अक्षर क्रिएसन लगाएतका प्रकाशन गृहसँगको सहकार्यमा सुरु गरेको हो।
सहसंस्थापक दिपेशका अनुसार हाल प्रति अडियोबुकको मूल्य एक सय रुपैयाँ रहेको छ।
अडियो बुकहरु थुप्रैको आधिकारिक वेबसाइट र ‘थुप्रै’ मोबाइल एपबाट किन्न सकिन्छ।
नेपालमा रहेका पाठकहरुले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिङमार्फत् अडियोबुक खरिद गर्न सक्नेछन्। विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन्।
यसरी किनेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्प्युटरबाट सुन्न सकिने छ। यात्राको बेला ब्लुटुथ वा एण्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारीसाधनमा पनि अडियोबुक सुन्न सकिने थुप्रैले जनाएको छ।