एउटा गाउँमा एउटा सानो घर थियो जहाँ दुई जना बुढाबुढी मात्र बस्दथे। हुन त यही घरमा दुई छोरा, दुई छोरी र नातिनातिनी पनि नजन्मेका भने होइनन्। कुनै समयमा यहाँ निकै चहलपहल हुन्थ्यो।
घरभरी मान्छेहरु अनि गोठमा दुई वटा लैना भैसी, र थुप्रै बाख्राहरु हुन्थे। उताबाट बुहारीले घासको भारी बोकेर आउँथिन, आमाले भान्सामा मिठोमिठो खानेकुरा पकाउथिन्। बुवाले दलानमा बसेर तमाखु तान्थे अनि केटाकेटीहरु आँगनमा रमाउदै खेल्थे।
छोराहरु भने पैसा कमाउन परदेश गएका थिए। तर अहिले त जताततै सुनसान छ। आँगनमा लेउ लागेको छ, गोठ रित्तै छ, खेतबारी बाँझै छन् अनि पखाभरी हरियो घास खेर गएको छ।
हरेक बिहान बुढी आमा सबेरै उठेर सकि/नसकी दैलो लिप्छिन् अनि डढेर कालो पीध भएको ताप्के चुलोमा बसाल्दै भन्छिन्- 'दुध हालेको चिया खान मन लागेर के गर्नु भैसी पाल्न नसकेपछि।'
त्यतिकैमा आटीबाट बुवा खोक्दै झर्छन् अनि भन्छन्- 'क्यार्नु बुढी, यस्तै रैछ दैवको लिला। अब कति पो बचिएला र? मर्ने बेला छोराछोरीको हातबाट पानी खान पाइन्न कि भन्ने पिर छ।'
बुढाबुढी कहिले दशैं आउला र आफ्ना सन्तान घर फर्केलान् भन्ने आशाको साथ दिन गनेर बस्छन। बारीमा फलेको काक्रो छिपिसक्दा पनि छोराछोरी आएपछि खाने भनेर नटिपी राखेका छन्। कहिले घरछेउको केराको घारी हेर्दै दशैँसम्म पाके हुन्थ्यो, छोराछोरीले खुब मिठो मान्छन् भनेर सोच्छन्।
भैसी पाल्न नसकेपनि एउटा खसी दशैँमा छोराछोरी आएपछि काट्ने भनेर पालेर राखेका छन्। आखिर के थाहा बुवाआमालाई उता छोराछोरी बफ ममको स्वादमा पल्किन थालिसकेको कुरा। उता सहरमा नातिले धेरै पढेर डाक्टर भएको छ तर यता गाउँमा हजुरबुवालाई ज्वरो आउँदा सिटामोल दिने मान्छे छैनन्।
बुहारीले घरमा काम गर्ने मान्छे राखेर बसेकी छन् तर यता आमालाई बिरामी भएर नसक्दा पानी तताएर खान दिने कोही छैनन्। बुवाआमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुडा माथि भनेको सत्य नै रहेछ जस्तो लाग्छ।
सायद समयमै गाउँघर राम्रोसँग विकास भएको भाए आज यो दिन देख्नु पर्दैनथ्यो होला। गाउँमै राम्रो शिक्षाको व्यवस्था भएको भए पढाईलेखाइको खोजीमा भौतारिन पर्दैनथ्यो होला। रोजगारीका राम्राराम्रा अवसरहरु गाउँमा नै भएको भए कसैलाई त्यो अरबको खाडीमा गएर पसिना चुहाउन पर्दैनथ्यो होला र बुढाबुढीलाई बुढेसकालमा एक्लै बस्नु पर्दैनथ्यो होला।
गाउँघर र दुर्गम ठाउको विकासका निम्ति थुप्रै योजनाहरु नआएका भने होइनन् तर ती योजनाहरु केबल कागजमै सिमित भएका कारणले त्यहाको अवस्थामा खासै रुपान्तरण आउन सकेन जसको कारण मानिसहरु आफू जन्मेको गाउँघर छोडेर सहर जान बाध्य भए।
एक पटक छोरा आएर बुबाआमालाई सहर लिएर गएका थिए। त्यो गाउँको शितल हावापानीमा रमाउने बानी लागेका बुढाबुढी, सहरको कोलाहलमा कहाँ बस्न सक्थे र? त्यहाँको तडकभडक, देखावटीपना र मानिसहरुको व्यवहार पचाउन नसकी दुखसुख गरेर भएपनि आफ्नै गाउँमा बस्छौँ भनि एक महिना बसेर फेरि गाउँ फर्किए।
एक दिनको कुरा हो, बिहानको खाना खाएर बुवा दाउरा चिर्दै थिए र आमा खरानीले भाडा माझ्दै। त्यत्तिकैमा रेडियोमा गित बज्छ- 'छोरा अमेरिका छ, छोरी जापानतिर छ, तिनले त बिर्से बाउआमा, हाम्लाई तिनकै पिर छ।'
आखाभरी आँसु टिलपिल पर्दै बुवाले भने- 'यो रेडियोले पो मनकै कुरा गर्न थाल्यो, गित पनि हाम्रै लागि बनाएको रैछन्।'
त्यहीबखत सहरबाट छोराको फोन आउँछ। छोराले बुवाआमालाई केही पिर नगरी बस्न भन्दै केही सामानको जरुरी पर्दा दोकनबाट लिएर आउनु, पैसाको चिन्ता लिनु पर्दैन म आएको बेला सबै तिर्छु भन्छन्। दोकान गएर सामान ल्याउन पनि कहाँ सजिलो छ र?
आधा घन्टाको उकालो बाटो हिडेर जाँदा घुडा दुख्ने समस्याले सताउँछ। वास्तवमा भन्नुपर्दा यो उमेर त बसीबसी छोराछोरी पकाएर दिएको खाने उमेर हैन र?
दुख गर्यो छोराछोरी जन्मायो, हुर्कायो, ठूलो मान्छे बनायो, बुढेसकालमा एक्लै। छोराछोरीले पनि के गरुन्? सहर जाम, उतै बसौला भनेकै छन् तर बुढाबुढी सहर गएर बस्न मान्दैनन्। मानुन् पनि कसरी? सहरमा थुनिएर जेलमा बसेको जस्तो लाग्छ रे।
अखिरमा दोस कस्को त? यो कथा केवल एउटा घरको मात्र हैन, अहिले हाम्रो देशको ग्रामीण क्षेत्रका प्रायः घरहरुमा यही कहानी देखिन्छ।
समयमै दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्यहरु गरिएको भए सहरको तुलनामा गाउँघर पछाडि पर्ने थिएन होला अनि रोजगार लगायत अन्य सुविधाहरु खोजेर मानिस आफ्नो जन्मथलो छोडेर बिरानो भूमिमा जादैनथ्यो होला र आज यस्तो तितो यथार्थ कसैले देख्नु पर्दैनथ्यो होला।