कविता
पदमा पुगेपछि सबैले
हाइसन्चो भा'छ भन्ठान्छन्
घुम्ने मेचमाथि बसेर
फन्को ला'छ भन्ठान्छन्
टाउकोमा आ'को जिम्मेवारी
मलाई मात्र था'छ
कति भा'को छ जिउ भारी
मलाई मात्र था'छ
चिनेजानेका सबै मेरैमा धाइरा'छन्
नचिनेकाले सधैँ धारे हात लाइरा'छन्
मेरो त अचेल गिदी नै खाइरा'छन्
कति हो कति गारो समय आइरा'छन्
मलाई मात्र था'छ
हिँड्न मनलाग्दा'नि गुड्नुपर्ने
जहाँ जाँदा'नि सधैं उड्नुपर्ने
घामपानीमा छाता ओढ्नै पर्ने
ठूलो भएको छाप छोड्नै पर्ने
कम्ति तनाव छ मलाई?
दागधब्बा कतै लाग्नै नहुने
रिसमा नि कहिल्यै जाग्नै नहुने
सरसहयोग कतै माग्नै नहुने
नसकेपछि भाग्नै नहुने
कम्ति तनाव छ मलाई?
अलिकती सम्पत्ति कमाउनै नहुने
रमाइलो साँझ झन् जमाउनै नहुने
ब्यालेन्स खोजेर सात पुस्ता खोतल्छन्
विदेशतिर यस्सो रमाउनै नहुने!
गुनगान कसैको गाउनै नहुने
कतै पनि एक्लै धाउनै नहुने
मिडियामा लगातार छाउनै नहुने
मान पदवी कुनै पाउनै नहुने
कम्ति तनाव छ मलाई?
झुपडीहरू पुग्दा'नि
कानुनबाट लुक्दा'नि
कामबाट चुक्दा'नि
बैरी सामु झुक्दा'नि
शिर ठाडो पार्नै पर्ने
जटिल समय टार्नै पर्ने
के थाहा सर्वसाधारणलाई?
कति धेरै छ तनाव मलाई!