राति अबेरसम्म निद्रै परेन,
कोठामा एक्लै छु,
तर एक्लोपन महशुस भएकै छैन ।
मेरो लोकन्थली डेराको एउटा कुना
सिंगै काठमाडौं अटाएको देख्दछु ।
निक्कै मलिन मुद्रामा
भोलि विदेश हिँड्न लागेको प्रेमीलाई
बिदाई गर्न सकस भएजस्तै गरी !
सुवास केसी र बसन्त थापाको गीत मनभित्र गुञ्जिन्छ
बामरी बामरी म भोलि गैहाल्छु बसे रामरी !
म ढुक्क छु म नहुनुले काठमाडौंलाई रत्तिभर फरक पर्दैन।
र
म विश्वस्त छु, म हुनुले मेरो बाहुण्डाँगीलाई चाहिँ फरक पर्छ
बुढ्यौलीले थला पर्न लागेका मेरा बडाबा बडाआमालाई,
जिन्दगीभर खेतीपाती, थलोभकारो गरेका मेरा दाजुभाइलाई,
जतिसुकै मिहिनेत गरेर पनि जस नपाएका मेरा भाउजूहरूलाई
कक्षा १० सम्म पुगेर पढाइ छोडेका मेरा भतिजा भतिजीहरूलाई
तल विर्तामोड आएर आत्मविश्वासका साथ बोल्न नसक्ने मेरा गाउँलेहरूलाई
थोरै सही तर फरक अवश्य पर्दछ।
अनि सबभन्दा धेरै फरक पर्दछ
ढाडको हड्डीको दुखाइले
पिर्कामा बसेर भाँडा माझ्न नसक्ने मेरी आमालाई!
३ बिसेक कटेर पनि हलो कोदालो गरिरहेका
मेरा बुवालाई ।
३ दशकको छिप्पिएको मगज हुँदासम्म पनि
बुवासँग मेरो बन्दै बनेन
बुवाको पहराजस्तो अडान
म खहरेजस्तो वेगवान
स्मृतिमा फर्किएर हेर्छु
बुवा चट्टानजस्तो भएर ममाथि ओत नलागिदिएको भए
यो संसारमा आइपर्ने सबै सबै प्रहारहरू
आफ्नो छातीमा नलिइदेको भए
म सायद, बिरुवामै निमोठिइने थिएँ
आज ३२ वर्षमा आएर बुवालाई धन्यवाद भन्न सिकेको छु
कृतज्ञ हुन सिकेको छु।
बुवालाई साथी बनाउने प्रण गरेको छु ।
सबभन्दा मिल्ने साथी ।
१२ वर्षको १ जुगमा मैले काठमाडौंलाई कति दुखाए
मलाई काठमाडौंले कति रूवायो
यी गौण कुराहरू हुन्
दुखाउने, रुवाउने भनेकै मनभित्र बसेकाहरूले न हो।
मैले दिएको दुखाइमा न्यानो स्पर्श गर्दै मल्हम लगाउन
पशुपति मृगस्थलीमा काठमाडौंसँग छाँद हालेर रूँन
काठमाडौं टेकेको पहिलो दिन हँसिलो मुहार पारेर
संसार जित्ने आशिर्वाद दिने घतानी आमालाई सुम्सुम्याउन,
पुतलीसडकमा भका मेरा एकजोडी बाआमा
शम्भु अंकल र आण्टीले पकाएको मिठो चिया पिउन,
अनामनगरमा पराजुली मामाले पकाएको रसिलो मासुभात खान,
मण्डला नाटकघरमा ऊर्जावान नयाँ पुस्ताले गर्ने नाटकहरू हेर्न,
कञ्चनपुरमा निर्मलाहरूमाथि हिंसा हुँदा, धादिङमा लक्ष्मी परियारहरू मारिइँदा,
सोतीमा नवराज विकहरूलाई 'प्रेम शहिद' बनाइँदै गर्दा काँकडभिट्टाबाट नाइट चढेर हररर काठमाडौं आइनैहाल्नेछु
यौटा प्लेकार्ड बोकेर माइतीघरमा उभिइन, १ घण्टा धर्ना दिन
माटो बनाइएका आवाजविहीनहरूलाई आवाज दिन
म काठमाडौं आइरहनेछु, धाइरहनेछु।
कहिले राष्ट्रिय प्रहरी प्रतिष्ठानमा तालिमरत
सूर्यजस्तो तेज र चट्टानजस्तो छाती बोकेर
देशको सेवा गर्ने संकल्प गरेर प्रहरी भएका भाइबहिनीहरूलाई
मैले देखे भोगेको समाजको जटिलता बुझाउन, उनीहरूका सुन्दर सपना सुन्न पनि म काठमाडौं आइरहन्छु, धाइरहन्छु
मेरो गाउँलेहरूको मिहिनेतले उब्जाएका सागसब्जी, मरिच बेसार, खोर्सानी तरकारी, सुपारी नरिवल उचित मूल्यमा
साटेर समृद्धि किन्न पनि म काठमाडौं आइरहन्छु, धाइरहन्छु।
बाहुण्डाँगी, झापा, काठमाडौं, नेपाल सबै त मेरो हो नै,
अनि फेरि यी सबै त यो धर्तीका हुन्।
यसर्थ यो काठमाडौं मात्र होइन म त यो धर्तीलाई पनि
अथाह प्रेम गर्छु।
मेरो छाती भित्रको यो धर्ती प्रतिको प्रेम दर्शाउन पनि
म काठमाडौं आइरहन्छु, धाइरहन्छु !!