कार्यक्रम हल खचाखच भरिएको थियो। ड्यासमा केही उपल्लो दर्जाका मानिसहरू पनि आसिन थिए। मन्तव्यको क्रम सकिएर कविता वाचनको सिलसिला चलिरहेको थियो।
केही कविहरूपछि उद्घोषकले एउटा नाम लिएर बोलाए,अब आउँदै हुनुहुन्छ चर्चित कवि ‘बाँचेको मान्छे’ ।
उद्घोषकले लिएको नामले नै उपस्थित सबैलाई चुप बनायो। दर्शक स्रोताहरूले आफू-आफूमा भइरहेको संवाद रोके र कविता वाचनका लागि ड्यासतिर गइरहेको मान्छेतिर दृष्टि घुमाए। गाइँगाइँ गुइँगुइँ बन्द भयो। गुनगुनले मौरीको घारजस्तो भएको कार्यक्रम हल सुनसान भयो।
सानो गाँठीको, फ्रेन्चकट दाह्री पालेको, गहुँगोरो वर्णको केटो ड्यासमा उक्लियो र तीखो आवाजमा कविता वाचन गर्न थाल्यो।
कविताका केही पंक्तिहरू यस्ता थिए :
मुटुको मसी हस्तिहाडमा भरेर
आकाशभन्दा विशाल क्यानभाषमा लेखिएको छ इतिहास
र छापिएको छ
जन्मिन बाँकी मानिसका मष्तिस्कहरूमा
के मेट्न सक्छौ तिमी ?
***
भो भगवान केही माग्दिनँ म
नदेऊ मलाई वरदान
यदि मागें भने फेरि
मागौंला, बन्दुकको नालबाट फुत्किएको गोली
धुवाँमा परिणत भएको सग्लो बारुद
आमाका आँखाबाट झरेका
आँसुका थोपाहरूको मूल्य
बलात्कार पछि मारिएका निर्दोष चेलीका अस्मिता र
शहीद दाजुहरूको तेस्रो नेत्रले देखेको
स्वर्णिम भविष्य।
***
हावाको आकार देखेको
पानीको बासना सुँघेको
प्रकाशको गतिसँगै दौडिएको चेतनालाई
वरदान दिन सक्षम छ के तिम्रो तथास्तु ?
त्यसैले भो भगवान नदेऊ वरदान
माग्दिनँ केही तिमीसँग।
***
उसले कविता वाचन गरिरहँदा मेरा पनि रौंका फेद सुनिए। कविता सुनेपछि हलभरिका जो कोही ताली नबजाई बस्न सकेनन्। उसले थुप्रै बेथिति÷असन्तुष्टि भगवानको नाममा चढायो र सबैको आङ सिरिङ बनायो।
कार्यक्रम सकियो।
सबैजना उठेर हलबाहिर निस्कन थाले तर म भने उसलाई पर्खेर बसिरहेँ निकैबेर।
प्रायः सबै मानिसहरू निस्किएपछि बल्ल ऊ उठ्यो। उसका पछि लागेर म पनि हलबाहिर निस्किएँ।
कविताका विषयमा भन्दा उसको व्यक्तिगत जीवनबारे केही बुझ्ने इच्छा जाग्यो।
सडक किनारसम्म नबोली पछि मात्र लागें। सडक पेटीमा उभियो ऊ। म पनि उसकै छेउमा उभिएँ। एकछिन अलमल भो के भनेर बोलौं।
नामबाट बोलाउन बाँचेको मान्छे जी भन्न अप्ठ्यारो लाग्यो।
आफूभन्दा उमेरले पक्कै सानै हुनुपर्छ भन्ने अनुमान लगाएँ र भने, भाइको कविता निकै राम्रो थियो।
मैले त्यसो भन्दा ऊ केही सर्माएजस्तो गर्यो। उत्तर केही दिएन।
मैले पुनः भने - जाऊँ भाइ चिया खान।
ऊ अक्मकियो ।
मैले उसको हातै समातेर डोर्याएँ र नजिकै चिया दोकानमा छिराएँ।
लगभग तीन बजिसकेकोले मैले कालो चियासँगै दुई ठाउँ रोटी तरकारी पनि मगाएँ। हामी आमनेसामने बस्यौं।
मैले कविताबाटै कुरा सुरू गरें, उसले फेरि पनि कुनै प्रतिक्रिया जनाएन।
केही भन्न खोजे जसो गर्यो तर भनेन। चियाको कपबाट आकाश नै छेडौंला जस्तो गरेर बाफ उकालो लागिरहेको थियो।
उसले त्यही बाफलाई नियाली रह्यो निकैबेर।
उसको टोलाइले मलाई झन् उत्सुक बनायो।
मैले पुनः भने - भाइले आफ्नो नाम ‘बाँचेको मान्छे’ राख्नुमा कुनै खास कारण पनि छ कि ?
मैले यो प्रश्न गर्ने बित्तिकै उसका आँखा यसरी नाचे कि मानौं कुनै नर्तकी शास्त्रीय संगीतको तालमा यसरी नाचेकी छ, उसका सम्पूर्ण नसाहरूमा देवी चढेको छ।
ऊ मान्छे होइन देवी भएकी छ र आफू सामुन्ने रहेका, आफ्नो यौवनको मादकतामा मदहोस् नारायणहरूलाई प्रफुल्ल पारेर उनीहरूलाई स्खलित पार्न चाहन्छे। भन्नुको तात्पर्यः उसका आँखाहरू अनियन्त्रित नाचेका थिए।
केही समय उसले त्यसरी आँखा नचाएपछि म पनि एकछिन मूर्तिझैं भएछु। दुवै जना चुपचाप भयौं।
केही मिनेटको अन्तरालपछि उसले चियाको कप उठाएर सुरुप्प पार्यो। मसँग अनुमति लिएर एउटा चुरोट मगायो र सल्कायो।
सल्कँदै गरेको चुरोटको टुप्पो एकटकले हेरिरह्यो।
आकाशतिर फर्किएर चुरोटको धुवाँ फुसुसु पार्यो।
मैले रोटीको एक टुक्रा तरकारीमा चोबेर मुख बाएको मात्र के थिएँ, ऊ केही दबेको र भावुक लयमा बोल्यो- दाइ तपाईंले मेरो नामको तात्पर्य किन सोध्नु भएको ?
मेरो प्रश्नको उत्तर दिनुको अलावा उसैले प्रतिप्रश्न गरेपछि तरकारीमा चोबेको रोटीको टुक्रा हातमै लिएर मैले त्यो अमूल प्रश्न आफैंलाई सोधें।
मेरो ज्ञानचक्षु त्यसै प्रश्नको वरिपरि घुम्न थाल्यो।
केहीबेर गमेपछि भनें, अरु सामान्य मानिसको भन्दा फरक नाम भएकोले कुनै घटना परिघटना वा परिस्थितिले हो कि भनेर मात्र सोधेको। अन्यथा नमान्नू होला।
मैले त्यति भनेपछि ऊ अरु गम्भीर भयो र भन्यो - हो दाइ मेरो वास्तविक नाम सत्यप्रसाद हो।
मैले बाँचेको मान्छे राख्नुमा सानो हैन ठूलो कारण छ। उसले अगाडि भन्दै गयो।
आजसम्म कसैलाई नसुनाएको यथार्थ तपाईंसामु पोख्दैछु।
यसलाई तपाईं कुन रूपमा लिनुहुन्छ मलाई थाहा छैन तर म जे भन्दैछु। त्यो पूरापूर सत्य भन्दैछु।
त्यसपछि उसले वायुको वेगमा भन्न थाल्यो।
म त्यो बेला आइएस्सी दोस्रो वर्षको अन्तिम परीक्षाको तयारीमा थिएँ। एकदिन बिहान त्यस्तै नौ बजेको हुँदो हो। म कलेज सकेर डेरातिर फर्कंदै थिएँ।
मेरो निकै मिल्ने साथी त्रिलोचनले फोन गरेर उसको घरमा डाक्यो। हामी समय-समयमा ‘कम्बाइन स्टडी’ गर्थ्यौं ,कहिले मेरो कोठामा, कहिले उसको घरमा।
मैले सोचें, सायद उसले कुनै न्यूमेरिकल हल गर्न सकेन र बोलायो।
त्रिलोचन काठमाडौंमै घर भएको सम्पन्न परिवारको सदस्य थियो।
उसका बुवाले राजनीति गर्नुहुन्छ भन्ने सुनेको थिएँ तर उसका बुवासँग मेरो भेट भएको थिएन।
म उसको घर अगाडि पुगेर कराएँ, त्रिलोचन ऽऽऽऽ... माथि बार्दलीबाट कसैले हेर्यो र भित्र आउन सङ्केत गर्यो।
सायद ती मानिस त्रिलोचनका बुवा थिए। मैले उनलाई पहिलोचोटि देखेकोले चिनिनँ। म सरासर तेस्रो तलामा उक्लिएँ। म दुई तीन पटक उसको कोठामा गइसकेकोले सरासर उसकै कोठातिर लाग्दै थिएँ।
त्रिलोचनले म यता छु सत्ये यतै आऊ भनेर अर्को कोठामा डाक्यो। त्यो उनीहरूको बैठक कोठा रहेछ।
त्रिलोचन केही किताब र कापीहरू फिँजाएर पढिरहेको रहेछ। मैले मेरो सुर्काउने झोला सोफामा मिल्काएँ र ऊ बसिरहेको गलैंचामै बसें।
हामी केही छलफल गर्दै थियौं। अघि मलाई भित्र डाक्ने मान्छे आएर मेरो झोला भएकै ठाउँमा बसे।
त्रिलोचनले मेरो बुवा भनेर चिनायो। मैले नमस्कार गरें। त्यसपछि म पुनः किताबमै घोत्लिएँ। त्रिलोचनका बुवा फुत्त उठेर बाहिर गए र केहीबेरमै फर्किएर त्यही ठाउँमा बसे। म भने उसको कापीमा इमेज फर्मुलाको प्रयोग गरी नुमेरीकल हल गर्न थालें।
दश मिनेट पनि बितेको थिएन होला। तीन जना मानिसहरू सरासर भित्र पसेर सबैतिर खानतलासी गर्न थाले। लेख्दा लेख्दैको कलम त्यतिकै छोडेर म उठें। हाउभाउ हेर्दा उनीहरू सादा पोशाकका सुरक्षाकर्मीहरू जस्ता थिए तर को थिए मैले चिनिनँ।
जनयुद्धको समय भएकोले मलाई उनीहरूदेखि डर लाग्यो।
मैले सोफाको मेरो झोला बोकें र बाहिर निस्कन खोजें। उनीहरूले मलाई रोकेर मेरो झोला खोसे र फटाफट झोलाका किताब कापी मिल्काउन थाले। म उनीहरूले मिल्काएका किताब कापी टिप्न थालें। किताब कापीसँगै पाँच–पाँच सयका दुई बिटा अर्थात् एक लाख रुपैयाँ र केही थान सहयोग रसिदका प्याडहरू पो निकाले। म तीन छक्क परें।
मैले अतालिँदै भने- ती पैसा र प्याडहरू त मेरा होइनन्। मेरो ब्यागमा त दुइटा किताब र केही कापीहरू मात्र थिए। कहाँबाट आयो त्यत्रो पैसा ?? कहाँबाट आए ती रसिद प्याडहरू !!! मैले आश्चर्य प्रकट गर्दै त्यति मात्र के भनेको थिएँ।
एक जनाले मेरो पाखुरामा समाउँदै लछार्यो र बोल्यो- तेरो ब्यागको सामान तेरो नभए कस्को त ? अब हामी चिनाउँछौं कसको भनेर। चुपचाप हिँड हामीसँग।
त्यति भनेर उनीहरूले मलाई त्यहाँबाट बाहिर निकाले।
दुई जना अगाडि र एक जना मेरो पछि लाग्यो।
मलाई त्यसरी बाहिर निकाल्दा त्रिलोचनले भन्यो- ऊ त मेरो कलेजको साथी हो कहाँ लाने उसलाई ?त्रिलोचनले त्यति मात्र के भनेको थियो उसलाई कसैले तानेर कोठाभित्र हुल्यो।
भर्याङ ओर्लंदाओर्लंदै पछाडिको मानिसले मेरो पाँसुलामा दुई लठ्ठी हान्यो। पीडा सहन नसकेर म थुचुक्क बसें।
अगाडिकोले अहिले नहान भन्दै मलाई तान्यो।
म उठेर खुट्टा खोच्याउँदै हिँडें।
बाहिर सडकमा भ्यान रहेछ। भ्यानको ढोका खोलेर मलाई ढोकाभित्र घँचेटे। भ्यानभित्र पस्नेबित्तिकै आँखामा कालो पट्टी बाँधे।
त्यसपछि मलाई कहाँ लगे केही थाहा छैन। केही पर पुगेपछि अगाडि सिटमा बसेको एक जनाले भनेको मधुरो सुनें - झण्डै दुई करोड उठाएछ !
भन्दाभन्दै उसले आफ्नो क्याप फुकाल्यो र देखायो निधारभन्दा अलि माथिदेखि पछाडिसम्म टाँका मारेको टाउको। बल गरेर घुँडासम्म सुर्कियो सेतै खुइलिएको लिभाइजको पाइन्ट र देखायो दुबै खुट्टामा तलदेखि तिघ्रासम्म चिरिएका अपरेसनका दाग।
दाहिने हातको चोरऔंलातिर इङ्गित गर्दै भन्यो - शरीरका अन्य भागको उपचार गर्दागर्दै यो औंलोतिर डाक्टरको नजर पुगेनछ। यो औंलो अहिलेसम्म सिधा हुँदैन पूरै खुम्चिएको छ।
उसले त्यसरी धारा प्रवाह भनिरहँदा बीचमै रोकेर मैले पुनः सोधें, यो सब कसरी भयो ?
उसले सुनाउन थाल्यो, आँखामा पट्टी बाँधेपछि लगभग डेढ/दुई घण्टाको समयपछि हुनुपर्छ मेरो टाउकोमा गह्रौं वस्तु बज्रिएको, त्यसपछि कति समय वा दिन पछि हो मलाई याद छैन।
मेरो होस् खुल्दा म टाउको नभएका मान्छेका चिसा शरीरसँग टाँसिएको थिएँ। ठूलै कल्याङमल्याङ थियो। मलाई एउटै मात्र आवाज ‘वीर शहीदहरू अमर रहुँन्’भनेको याद छ। त्यसपछि मलाई आफू शहीद भइसकेछु भन्ने लाग्यो। होस खुल्दा म अस्पतालको शैयामा थिएँ।
यति भन्दाभन्दै उसले आफ्नो झोला खोल्यो।
झोलाबाट आइएसई प्रथम वर्षको मार्कसिट निकाल्यो र मेरो अगाडि राख्यो। मार्कसिटमा सत्यप्रसाद भुजेल लेखिएको थियो। जसमा कुल प्राप्ताङ्क ३६५ अर्थात् ७३ प्रतिशत आएको रहेछ।
मार्कसिट हेर्दाहेर्दै मेरो छाती ढक्क फुल्यो।
आँखाबाट बुर्लुक्क दुई थोपा आँसु खसे। म भावुक भएँ। छिनमै मैले आफूलाई सम्हालें।
उसले अगाडि थप्दै गयो- त्यसपछि मेरा खुट्टाले शरीर थामेर उभिनँ र मेरो मस्तिष्कले आफूलाई चिन्न पाँचौं वर्ष लाग्यो। आफूसँग पढेका साथीहरूले मास्टर डिग्री पनि सकिसकेका थिए। कोही डाक्टर बनिसकेका थिए। त्यसपछि मैले औपचारिक शिक्षा लिन सकिनँ सर।
बोल्दा बोल्दै उसको वाक्य अड्कियो। एक्कासि भक्कानियो ऊ। दाइ भन्दै सम्बोधन गरिरहेको उसले मलाई सर भन्न थाल्यो। उसका आँखाबाट बर्बरी आँसु खसे।
एकछिन टेबलमा घोप्टियो र कपको बाँकी चिया सुरूप्प पार्यो।
आँसु पुछेर पुनः भन्न थाल्यो - सर, मलाई डाक्टर बनाउने मेरो बुवाको सपना पूरा गर्न सकिनँ मैले। पढ्न गएको छोरो अलपत्र भएपछि मलाई खोज्न महिनौ, वषौं भौंतारिनु भएछ मेरा बा।
म हराएपछि घरमा दिनहुँ जसो मेरा बाआमालाई केरकार गर्न मानिसहरूको ओहोर दोहोर भइरन्थ्यो रे।
कहिले एउटा पक्ष आएर तेरो छोरो त यस्तो पक्षको रहेछ भन्थे अरे, फेरि अर्को दिन अर्कै पक्ष आएर तेरो छोरो उस्तो पक्ष। जुन पक्ष आए पनि पीडामाथि पीडा थपेर जान्थे अरे।
दुवै पक्षलाई सम्मान गर्नुपर्ने ! मेजमान गर्नुपर्ने । एक त छोरो हराएको पिर अर्को आफूले खाइनखाइ साँचेको उनीहरूलाई ज्युनार गराउनुपर्ने !
आजित भएर मलाई खोज्दा खोज्दै दिक्दार मेरा बाले आफूलाई सम्हाल्न नसकेपछि मेरो तलासीमा दुधकोसी पुग्नु भएछ। चप्पल किनारमै छोडेर दुधकोसीमै हेलिनु भएछ। बाले लगाएका हात्तीछाप चप्पलले उहाँ स्वर्गीय भएको पुष्टि भएछ।
बुवाको स्वर्गवास भएको केही समयपछि परिवारमा एक्ली मेरी आमाले पनि विछिप्त अवस्थामै धुरीको बलोमा पासो लगाएर आफ्नो इहलीला समाप्त गर्नु भएछ।
त्यसरी मेरा सृष्टिकर्ताहरू दुवै नरहेपछि परिवारको एक्लो सन्तान म धर्तीभरि वास्तव मै एक्लो भएँ। म पनि मर्नुपर्ने थियो दुर्भाग्यले बाँचे।
सर...आज मलाई मेरो वास्तविक नामले कसैले चिन्दैन र चाहन्छु नचिनोस् पनि।
हो, त्यसै बेलादखि हो सर मैले आफ्नो नाम बाँचेको मान्छे लेख्न सुरू गरेको।
त्यसपछि मेरो जिन्दगीका आरोहअवरोह त झन् भनि साध्य छैन। फेरि कुनै समय तपाईंसँग बस्ने अवसर मिलेछ भने भनौंला है।
आज म निकै टाढा पुग्नुछ।
उसको कहानीले मन विक्षिप्त भयो। समाजमा यस्ता निर्दोष पात्रहरू अरु पनि अझै कति होलान्? मनभित्र झन् खसखस भयो।
उसका बाँकी कुरा पनि आजै सुनौंजस्तो भएको थियो। आज पर्यन्त उसको दिनचर्या कसरी बितिरहला! उसले विवाह गर्यो कि छैन होला !! नगरेको भए उसकी प्रेमिका छ कि छैन होला !!! छ भने कसरी सुनाउँदो हो उसले आफ्नो यस्तो कहाली लाग्दो कथा।
यी र यस्तै यावत कुराहरू मेरो मानसपटलमा घुमिरहेका थिए।
समय निकै घर्किई सकेकोले फेरि भेट्ने वाचा गरेर हामी त्यहीँबाट छुट्टियौं र आआफ्नो दर्गदिशातिर लाग्यौं।