कविता
भवितव्यको कसुर कर्तव्यमा दरिएकोमा
तर कर्तव्य भने भवितव्य ठहरिएकोमा
जितिनी महतोसँग पीडा छ, क्षोभ छ र आक्रोश पनि
सदरखोरको नियतिसँगै ओइरो छ प्रश्नको पनि।
केही सम्झाउनी, केही सोधनीको सरोकार छ
र त जितिनी झर्किन्छिन् आफ्नै वारेससँग-
'देख्नुभो वकिलसाब!
कसरी फुत्किँदैछन् आँखै अगाडिबाट
खोरका सहबासी रागेपाटे बाघहरु
कसरी हुँइकिदैछन् हात हल्लाएर
शनिका काल अनि शिकारी स्वाँठहरु
रातारात फेरेर चोला इन्द्रको
ओढेर छाला नौसिंगे मृगको?'
केही अर्थको केही औचित्यको प्रश्न छ
र त जितिनी थप्दै जान्छिन् आफ्नै वकिलसाबसँग-
'सुन्नुभो वकिलसाब!
माइतीघर मण्डला महाभियोग भन्छ
आशंकाको हुरीले आस्थाको धरोहर भत्कन्छ
मौनताको कोलाहल समेत सर्वत्र चर्कन्छ
अब तपाई इमानले भन्नुस् आफै
वादी प्रतिवादीका कथाहरुलाई
आँखामा पट्टि बाँधी
एकथान तराजु बोक्नेहरुको
जिम्मा लगाउनुको अर्थ के हुन्छ?
अनेक वाद प्रतिवादका रिहर्सलहरुमार्फत
मन, तन र धनजति खियाएर
आस्थाको तथाकथित पन्तुरो सिरानी हाली
न्यायको कचौरा थाप्नुको अर्थ के रहन्छ?'
केही नियति र केही आक्रोशको प्रश्न छ
र त डाँको र हाँक सँगसँगै सुनाउँछिन् जितिनी-
'हेर्नुस् वकिलसाब!
सत्व बचाउँदा स्वयम् मर्नुपरेको कथा हो मेरो
पटक-पटक सत्य हार्नुपर्दाको व्यथा हो मेरो
बोल्नुस् वकिलसाब, मौनता किन साँध्नुहुन्छ?
विवेकलाई बाध्यताले किन बाँध्नुहुन्छ?
उज्यालो हुनुपर्ने आस्थाको आकाशमा
पहेलो बादलको जिकिर त उहिल्यै गरेकीँ हुँ मैले
तैपनि सम्झाउनुभो चाँदीको घेरा तपाईले
र भन्नुभो- नजीर खोज्छु, मेहनत गर्छु
सिद्धान्तको बहस गर्छु, निर्दोषिताको प्रमाण दिलाउँछु
तपाईको भवितव्यलाई भवितव्यै बुझाउँछु
दिउँसै रात परेबाहेक न्याय दिलाएरै छाड्छु
प्वाँख काटिएकी म के पो गर्न सक्थेँ र वकिलसाब
विवेकको विजयमा विश्वास गर्नुबाहेक?'
केही भोगाइका दृष्टान्त केही थकाइका वृत्तान्त छन्
र त जितिनी कारण र परिणाम सोध्दछिन्-
'अब तपाई आफै भन्नुस् वकिलसाब!
सगरको सिमान्त उचाइबासी
शितलताको मान्य आधार बादल त
अम्लवर्षा र रक्तवर्षा पो गराउन थाल्यो
वर्जित वायुसँगै बहकिएर त्यो
अभयसँग गर्जिन थाल्यो
चट्याङ बज्रिएर रजहाँसहरुमाथि
मूल्य मानक मास्न थाल्यो।
हुँदा हुँदा अब त त्यो रछाने रुपरंगमा प्रकट हुन थाल्यो
झोक्का झोक्कामा ठुस्स गन्हाउन पनि थाल्यो
अम्लवर्षाले दशी प्रमाणका पुलिन्दा बिटुलिन थाले
विधिशास्त्रका विद्वानहरु लाजको सती जान थाले
आखिर श्रीहरुकै श्रीवृद्धि, अनि हरेउकै हितवृद्धि हुने भए
तथ्य र सिद्धान्तको ठाउँ, चित्तवृत्तिले लिने भए
भन्नुस् वकिलसाब?
मैले पाउने न्याय कुन रंगको हुन्छ
भवितव्यले चुहिएर झरेको न्याय
कसरी परेको न्याय हुन्छ?