मध्यरातमा झुपडीमा आगो लगाएर
तिमी मस्त निदाउँछौ कुम्भकर्ण झैँ
तिम्रा उडनदस्ता युद्ध जितेको उद्भासमा
मग्न भई उत्सव मनाउँछन्
तिम्रो उपस्थितिमा, तिम्रै इमारतमा।
बस्ती खरानी हुन्छ , जीवन उजाडिन्छ, सपना टुट्छन्,
बल्लतल्ल बसाएको घरसंसार
आँखै अगाडि खाग हुँदा,
झार्नका लागि आँसु पनि रित्तिन्छ आँखामा,
बोल्नका लागि शब्द पनि रोकिन्छ घाँटीमा,
तिमी कथित वर्गीय समानताको पुराण लगाएर
प्रसाद बाँड्छौ, उनै रित्तिएकाको आँसु र चित्कार।
मालिक, बस्तीका भोका नाङ्गाको आँखामा
सदियौँदेखि मडारिएको अभावको ज्वाला
तिमीले कहिल्यै देखेनौ,
लाग्छ तिमीसँग अभाव देख्ने आँखा छैन,
गुनासो सुन्ने फुर्सद पनि छैन
पीडा बुझ्ने मुटु पनि छैन,
सत्तालिप्साले तानिएको बेला
भोकाएको स्याल बनेर तिमी छिर्छौ बस्तीमा
र झुकेको अभिनय गछौँ।
बाँकी हरेक समय बस्तीका कर्मवीरहरुलाई झुकाउँँछौ
तिम्रो पाउमा।
बस्तीले तिमीलाई मत दियो,
मान दियो, सम्मान दियो, सलाम ठोक्यो।
आफू बाहिर पहरेदार भएर
तिमीलाई झुपडीको न्यानो काख दियो,
गाँस काटेर तिमीलाई तृप्त बनायो।
सिउँदोको सिन्दुर पुछेर, काख रित्याएर
इतिहासको कठ्घरामा आफूलाई उभ्यायो।
बदलामा बस्तीले काट्दैछ अनिदो रात
बस्तीले खप्दैछ असैह्य भोक,
बस्तीले भोग्दैछ असीमित पीडा।
र बस्तीले बिर्सिएको छ हाँस्न।
मालिक के पसिनाको मोल तिम्रो आश्वासनले तिर्न सक्छ?
भोकाएको पेट तिम्रो भाषणले भरिन सक्छ?
उजाडिएको बस्तीमा तिम्रो खोक्रो राष्ट्रवादले हरियाली फर्काउन सक्छ?
रित्तिएको काख, खोसिएको सिन्दुर फिर्ता दिन सक्छ?
जवाफ छ तिमीसँग यी प्रश्नहरुको?
मालिक तिमीलाई थाहा छ?
तिम्रो महलमाजस्तो झुपडीमा पर्दा हुँदैन,
पर्दाभित्रको ढाकछोप हुँदैन, गुटबाजी हुँदैन
र कालो चरित्र लुकाउन अँध्यारो चाहिँदैन।
हिउँ झैँ कञ्चन मन भएकाको बस्तीमा
तिम्रो आगमन मडारिएको आँधीबेहेरी जस्तै हुन्छ
र उडाएर गरिबका सपना निमेषमै
तिमी फर्किन्छौ आफ्नै इमारतमा महिसासुर बनेर।
फेरि बस्ती बगर हुन्छ, पानीको प्यासमा पर्खिरहने
फगत बगर।
त्यसैले मालिक, मेरो बिन्ती छ,
तिम्रा भष्मासुर पाइला गरिबको बस्तीमा नपरोस्।
बस्तीलाई बस्ती नै रहन देऊ,
जहाँ खुला धर्तीमुनि नाङ्गै आङले
हाँसी हाँसी कटाउन् दुःखका दिन
बाँडेर आधा मानो अन्न, टार्न सकून् दुःखका छाक
निथ्रियोस् आँखाको आँसु, सद्भावले, प्रेमले,
र मायाको अँगालोले,
अनि धुवाइरहोस् चिसो चुल्हो तिम्रो अहंकारलाई तोडेर जुनी जुनीसम्म।