कविता
एक प्रश्न
तिम्रो झरीको विज्ञानलाई
म को हुँ: वर्षात् कि हिमपात ?
मदिरा वा मात
सोधिहेर सुनौलो बिहानीेलाई
बिर्सेर एक निमेष स्वंयमलाई
जस्तो कि शीत,
एक सर्को बाफ बने जस्तै।
फेसबुके क्यानभासको एक चित्र,
‘रोगी’ तिमीलाई खल्बलाउँछ
र त पौख्छौ कुण्ठाहरू सर्वत्र।
त्यसैले त मेरो सरगममा
भो राख्दिनँ तिमीलाई
तिमीले मलाई ‘म’ हुनै दिएनौ
अब सुन्दिनँ तिमीलाई।
तिम्रो समानताको जहाजमा
उड्दैनन् किन रङ्गीचङ्गी पुतली ?
कत्ति विचित्र छ है तिम्रो अभिमान
मानौं !
न्यायालयमा श्रीमानले न्याय बिर्से जस्तै
बुझ्दैन कानुन ‘क्याटरपिलर’ देवसान।
उत्तरको खोजीमा
मेरा कयौं प्रश्नहरू
अहँ भेट्दैनन् मलाई, खोज्दैनन् मलाई
हुनसक्छ,
यात्राको एक भुलभूलैयामा
प्रश्नहरू, देख्दा हुन भोलिका घाम
लेख्दा हुन मनभरिको न्यानोपन
सायद,
खुल्ने छ आकाश एकदिन
र स्वतन्त्र घुम्नेछन्
तिम्रा, मेरा र हाम्रा
रंगीन सपनाहरू ।