खान लाउनसम्म त उसले जेनतेन पुर्याएकै हो। लालाबालालाई दुःखजिलो गर्दै उभ्याएकै हो। तर, कहर पर्यो उसको जीवनमा। लगातारको वर्षाले बागमती नदी उर्लियो र बगायो जम्मै फाँटहरु। लहलह बालाले झुल्ने खेत खलियान केही रहेन। छिनमै परिणत भयो बगरहरुमा।
मुन्टो लुकाउन जेनतेन उभ्याएको भुसको झुप्रो रहेन। अन्नपात केही रहेन। उर्लदो भेलले मलिलो माटो त लग्यो लग्यो-लग्यो, सुखलको सुन्दर संसार पनि लग्यो। उसकी प्राणप्यारी सन्तनिया र चम्किला सनरु र कनन उर्लदो भेलमा समाहित भए। केही गर्न सकेन उसले। सकेन उसले उनीहरुलाई बचाउन।
आकाश अझै शान्त भैसकेको थिएन। अन्तिमका केही थोपाहरु अझै टप्कदै थिए। छिटफुट बादलका गडगडाहटले सबै आश्वस्त हुन सकिरहेका थिएनन्। ठूलै सन्त्रासले जरा गाडेको थियो सर्वत्र विश्रामपुरभरी।
यति ठूलो विध्वंश होला, कसैले अनुमान गरेकै थिएनन्। नदीको प्राकृतिक प्रवाहलाई धमिल्याउँदा यस्तो बिपत्ति होला, सोझा विश्रामपुरवासीले सोचेकै थिएनन्। जनसँख्याको वृद्धिसँगै विश्रामपुर वस्ती सरेर नदीको आडैमा आइपुगेको थियो। नदीमाथि अनधिकृत दोहन व्याप्त थियो।
कैयौँको रोजीरोटी पनि नदी माथिनै निर्भर थियो। बजारतिर विश्रामपुरको बालुवा हारालुछ्सँग बिक्री हुन्थ्यो। नदीको अप्राकृतिक उत्खनन्मा रोक लागेको भए पनि राजनैतिक दलका नेता र प्रशासनको मिलेमतोमा यो व्यवसाय फस्टाएको थियो। तर सधै उस्तै भएन। उही प्रकृया चलेन। यो पटक बागमती भयंकर रिसाइन् र उझाड् बनाइदिइन् खेत खलियान र कैयौँ जीवनहरु।
सुखलका कैयौँ रातहरु अनिदो बिते। सम्हालिने पूरा-पूरा कोशिस गर्थ्यो तर सक्दैनथ्यो। उसका छिमेकी झगरु र बिलट बेलाबेला आएर उसलाई सम्झाउने गर्थे। जीवनका अनेकन गाथा भन्थे। अरु पनि उसैगरी भेलसँगै बगेका र धेरै बेघरबार भएका घटना सुनाएर सान्त्वना दिन्थे।
जीवन आखिर अरुको हेरेर जीउने त हो भन्थे। उनीहरुलाई सुनीञ्जेल उ भित्र केही आशा जाग्थ्यो। जीवन जीउने उत्साह पलाउँथ्यो। मनमनै अलि आश्वस्त हुन खोज्थ्यो। तर जब उनीहरु जान्थे, उ एक्लै पर्थ्यो। केही सोच्नै सक्दैनथ्यो। बाँकी जीवन जीउने चाहना क्षीण बन्दै जान्थ्यो। आँखा अगाडि उही पुराना दिनहरु नाच्थे।
उ र उसको नातामा भाइ पर्ने सट्ठु केही वर्ष अघि सन्तपुरको कार्तिकेश मेला भर्न गएका थिए। सन्तनियालाई उसले पहिलो पटक त्यहीं देखेको थियो। संयोगले रोटे पिङमा उनीहरु एउटै पिर्कामा बसेका थिए। पिङ जब जोड्जोड्सँग मच्चिन्थ्यो सन्तनिया डरले उसको पाखुरा समाउँथी।
पिङमा मचिञ्जेलसम्म उसले सन्तनियाको सपाट अनुहार हेर्न त्यति राम्रो अवसर पाएन। पिङको मच्चाईमा रमाउन छोडेर मुन्टो घुमाउदै हेर्नु पनि भएन। अलिकति शरम भएको मान्छले यस्तो गर्नु पनि भएन। जे देख्यो एक छेउ मात्र सम्भव भयो। पिङको पालो सकिएपछि दुबै सँगै पिर्काबाट ओर्लेका थिए। अब सन्तनियालाई पूर्ण देख्न सकिन्थ्यो। उसको पोटिलो निधारमा रातो बिन्दिया टपक्कै टाँसिएको थियो। आँखाका कोशमा तेर्सिएको गाजलको रेखी उसलाई खुब सुहाएको थियो। उसका चम्किला आँखाहरुमा सुखलका आँखा गडेका थिए।
सन्तनियाले थाहा नपाउने गरी लुकी-लुकी नजर स्वाद लिदै उसले थुप्रै पटक मनमा लड्डु फुटाएको थियो। एक जवान पठ्ठोलाई सुन्दर युवतीको मादकताभन्दा अरुमा के नशा लाग्थ्यो होला र! उ सन्तनियाको रुपमा यसरी लठ्ठिएको थियो कि घर फर्किदा बाटोभरी उसकै मनमोहक अनुहार याद आइरह्यो। साइकलको रफ्तार खाल्टोमा जाकिँदा पनि उसको होसले काम गरेको थिएन।
अरूबेला खाल्टोमा जाकिदा खराब बाटोलाई लिएर उसले कैँयन पटक सरकारलाई गाली दिएको थियो। तर आज उसलाई सन्तनिया बाहेक केही याद रहेन।
सट्ठुको भरमदुर प्रयासपछि सन्तनियाको ठेगाना पत्ता लागेको थियो। एकदिन सट्ठु गहुँ पिस्न बजारको मिलमा जाँदा सन्तनियालाई देखेको थियो। गहुँ पिस्ने पालो आएपनि त्यतिकै छोडेर उ सन्तनियाको पछि लागेथ्यो। पछ्याउँदै उ सन्तनियाको घरकै आडमा पुगेथ्यो। धन्न सन्तनिया र उसका घरकाले थाहा पाएनन्। नत्र उसको के हालत हुन्थ्यो।
सन्तनियाको दाइ हरियाले उसको हड्डी पथली बाँकी छोडदैनथ्यो। यति ठूलो जोखीम मोलेर सठ्ठुले यार-यारीको नमुना प्रस्तुत गरेथ्यो। हतारिदै यो खुसीको खबर सुनाउन पिस्नु पर्ने गहुँको बेपर्वाहा गर्दै उ सुखलको घरतिर दौडेथ्यो।
सुखलले सन्तनिया पाउन अनेक अनेकन जुक्ति लगाउनु परेको थियो। 'हम मिलादेबै!' भन्नेजति सबैलाई बिटुनिको भट्टीमा मस्त दारु पिलाएको थियो। सन्तनियाको नातामा दाइ पर्ने एउटाले सन्तनिया मिलाईदिने नाममा उबाट 'क्यू एन्ड क्यू' घडीनै छट्काएथ्यो। के मात्रै गरेन उसले! लामो पापड् बेलाईपछि सन्तनियाका परिवार राजी भएका थिए सन्तनियाको बिहे सुखलसँग गरिदिन। तर, दहेज स्वरुप केही नदीने सर्त राखेका थिए।
सुखललाई सन्तनिया चाहिएको थियो, दहेज हैन। सर्त उसले मञ्जुर गर्यो। बिहेपछि केही वर्षको अन्तरालमै उनीहरुको मायाको प्रतिफल जन्मिए सनरु र कनन।
समय बित्यो, बाढीको लहर मूलधार तिरै फर्किन लागिसकेको थियो। तर अझै पनि सुखलको मन बिगतको चित्रबाट फर्केको थिएन। सुन्दर बिगत, हिरा जस्ता चम्किला सन्तान, मनले खाएकी पत्नी, एक टुक्रो मलिलो बारी र ज्याला पाइने मौसमी काम। काम नपाए वा नभए नदीको बालुवा खोस्रीयो, थुप्रो लगायो र ट्याक्टरवालालाई बेच्यो। एउटा संसारका लागि आवश्यक सबथोकले भरिपूर्ण।
जीवनको एउटा मध्यम गति, यति र लय। तर जुन नदीको आश्रयले बाँचीरहेको थियो त्यसैले उसको सबथोक लग्यो। अब के गर्ने कसो गर्ने उ कुनै ठोस निर्णयमा पुग्न सकेको थिएन। अरुहरु तङ्ग्रीने कोशिसमा लागिसकेका थिए।
बचेखुचेका झ्यासझुसबाट ओत लाग्नेसम्मको व्यवस्था गर्नमा उद्दत थिए। कोही लकडी, बास आदिको जोहो गर्न बाढीले केही बचेको पटेल गाँउतिर गएका थिए। कोही जंगलबाट काँचा लाथ्रा ओसार्दै थिए। कोही बालुवा खोस्रेर आफ्नो जमिन निफन्ने ध्याउन्नमा थिए।
सुखलको आफ्नो तयारी केही थिएन। आफ्नो बारीमा सुगा धपाउन ठड्याएको मचान, जो बाढीले बगाउन सकेन त्यसैले भरथेग गरिरहेको थियो। पानीको गड्गडाहट्ले बिश्रामपुरको पूरा शृष्टि उजाड् पार्यो तर सुखलको मचानलाई त्यति बिघ्न असर गरेन।
खै किन हो, साराका सारा बस्ती उजाडिदा पनि मचानलाई केही भएन। किन मचान बगेन, त्यसभित्रको विज्ञान के हो उसलाई थाहा हुने कुरै भएन। 'बरु यो मचान बगाएको भए म पनि आफ्नासँगै बग्थे, आज यो दिन त भोग्नु पर्दैनथ्यो!' उ मनमनै सोच्थ्यो।
'आपतबिपदमा आफ्नो मात्र सोचिने रहेछ, मान्छे आफूलाई मात्रै धेरै माया गर्दो रहेछ, अनि बल्ल अरुलाई' आफूभित्रको मनोवादले उसलाई दिव्य ज्ञान प्राप्त भएझै लाग्थ्यो। उसको जोहो भनेको त्यही मचान थियो। उसले पनि अरुको झैं केही जोहो गर्नुपर्ने हो।
मान्छे स्वभावैले अरुको प्रगतिमा इर्ष्यालु हुन्छ। अरुको सानो प्रगतिले मात्र पनि आफू धेरै पछि परेको अनुभूत गर्छ। तर उसलाई आफ्नो बन्दोबस्तीको कुनै पिर थिएन। लाथ्रा ओसार्दै गर्दा बिलट सुखलको मचानमा आइपुग्यो र सुखललाई सोध्यो- ‘अरे, जादैनस लाथ्रा लिन? कत्ति टोलाएर बस्छस रे! अरु सबले आफ्नो जोहो गरिसके, तँ भने टोलाएरै बस्!’
बिलटको भनाईले उसलाई सानो पनि असर गरेन। बाढीले मुर्झाएको विश्रामपुर हेर्दा हेर्दै ब्युतिने तरखरमा थियो। मान्छेहरु पुनः आ-आफ्नै यथावत गतितिर उन्मुख हुदै थिए। सुखलले भने आफूलाई ब्युताउन विश्रामपुर नै छोडने विचार गर्यो। बिलट, झगरु र सट्ठुले उसलाई रोक्न अनेकौ कोशिस गरे तर उसको मन फर्केन।
आफूसँग बचेको एउटा पोको बोकेर भारी मनले उसले विश्रामपुर छोड्यो। अलिपर पुगेपछि दोबाटोमा अल्झियो। कहाँ जाने पटेल गाँउ या बजार तिर, असमजस्यमा पर्यो। खासमा आफू कता जाने उसलाई थाहै थिएन। जान त जाने तर कसकोमा जाने? आखिर दुबै ठाँउमा उसलाई राख्ने कोही पनि त थिएनन्।
पटेल गाँउभन्दा बजारतिरै उसले आफू पालिने सम्भावना देख्यो। 'जे पर्ला सोही टर्ला, दिन आफ्नै हो, रात बाटो छेउका कुनै प्रतिक्षालयमा बिताउनुपर्ला!' उसले अठोट गर्यो र बजारतिर लाग्यो।
उ पैदलै हिडेर वीरेन्द्र बजार आइपुग्दा झमक्कै साँझ परिसकेको थियो। उ सरासरी प्रतिक्षालयतिर गयो। पोको बिसायो। भोकले नराम्रोसँग उसको पेट लुछ्यो। सट्ठुले दिएको जलखाईको पोको खोल्यो। चिउरा रहेछ। चिउरा चपायो। नजिकै कलमा मुख भिडाएर पेटभरी पानी खायो। र, पोकोको सिरानीमा टाउको अड्याउँदै भोलिदेखि नै कामको खोजिमा लाग्ने अठोट लियो र भुसुक्क निदायो।
भोलिपल्ट सबेरैदेखि उ कामको खोजीमा यताउता भौतारिन थाल्यो। धेरै ठाँउमा कामको बारे सोधपुछ गर्यो तर कसले दिने उसलाई काम। बजारमा मजदुरीका कामहरु जति पनि पाइन्थ्यो तर चिनेको कोही नभएर होला, काम पाउनै मुस्किल पर्यो।
उ बाटो छेउ चौतारोमा यसै सुस्ताईरहेको थियो। चुरोट्को धूँवा उडाउदै फारूक पनि चौतारोमा सुस्ताउन आइपुग्यो जो घर बनाउने ठेक्का लिन्थ्यो। 'उफ् कस्तो गर्मी हो! यो भदौको घामले प्राणै लिन्छ जस्तो छ!' फारूक बर्बराउँदै चौतरीको सियालमा ठ्यास्स बस्यो। उसले सुखलतिर पुलुक्क हेर्यो र चिनेझैँ गर्यो। सुखलले पनि कतै देखेझै चिनेझै नजर विस्तारित गर्यो। दुवैले एकार्कालाई चिनेको झैँ हेरे।
‘काँ हो घर?’ फारूकले सोध्यो।
‘विश्रामपुरतिर हो। बाढीले सब लग्यो। कामको खोजीमा यता बजारतिर आएको’ सुखलले एकै सासमा सबै बेलिविस्तार लगायो।
'ए ! काम खोज्दै आएको? बालुवा चाल्न आउँछ त?' फारूकले सोध्यो।
'काम त जे-जस्तो पनि आउँछ नि हजुर, तर खै कसले दिन्छ र!’ सुखलले विनम्रपूर्वक भन्यो।
'काम भैहाल्छ नि! मैले अनिल साहुको घर बनाउने ठेक्का लिएको छु, तिमीले त्यहीँ काम गर्नु। बालुवा चैँ राम्रो चाल्नुपर्छ नि!' फारुकले आश्वत तुल्याउँदै भन्यो।
सुखलले काम पायो। एउटा तनावबाट जे होस् मुक्त भयो। काम सकिएपछि फारूकले नै बिलासको घरमा लग्यो। बिलास कुनै जमानाको ठूलो गल्लाको मालिक थियो। गाउँतिरबाट आउने अन्नपात जति सबै उसैले किन्थ्यो। सहरतिर पठाउने गर्थ्यो र मनग्ने आम्दानी गर्थ्यो।
उसको महत्वाकांक्षाले आकाश छोयो। गौरको पुरेनवा दरबार शैलीको बंलो बनाउँदा बनाउँदै ऋण लागेर उ भारत पलायन भएको थियो। किसान र अन्य कैयौँको तिर्नुपर्ने बक्यौदा खाएर भागेको थियो। अपुरो घर जे होस् बस्न मिल्ने सम्मको थियो। कैयौँका परिवार त्यसमै अटाएका थिए। सुखल पनि अटायो।
मिहिनेती सुखलले केही महिनामै आफ्नो बन्दोबस्त गर्यो। एउटा साइकल पनि किन्यो। आफ्नो कोठामा ज्यान पाल्न चाहिने जति न्यूनतम सबै सामान जुटायो। आखिर जीवन जीउन कसै न कसैको त साथ चाहिने रहेछ्। बोल्ने साथी, यस्सो गुनासो गर्ने पनि त चाहिने रहेछ्। यहि महशुस गरी उसले रम्भालाई एकदिन आफ्नो कोठामा भित्रायो।
उसले रम्भालाई काम कै सिलसिलामा चिनेको थियो। फारूकले नै उसलाई काम दिलाएको थियो। उ इँट्टा बोक्ने गर्थी। रम्भा पनि एक्ली थिई। उसका पनि कथा सुखलका झैँ कम कारुणिक थिएनन्। त्यसैले होला दुबैको मन मिल्यो र सँगै बस्ने निणर्य लिए।
केही समयपछि सुखल र रम्भाले एउटा सल्लाह गरे र गरिरहेको पेशा छोडी मुरी कचेरीको व्यापार गर्ने निर्णय गरे। हरेक गाउँका हाटमा उनीहरु पुग्थे र मुरी कचेरी बनाएर बेच्थे। व्यापार राम्रैसँग चल्दै गयो। दुवैले आफ्ना सुखका दिन फिरेका अनुभव गरे। यधपी, दुवैजना आफ्ना पुराना दिनहरु सम्झेर बेलाबेलामा सुक्सुकाउँथे। एक अर्कालाई सम्झाउँथे र अङ्गालोमा बेरिन्थे।
बिलासको घरको आढमै एउटा ठूलो पिपलको ठूलो रुख थियो। बेलुकीपख सबैजना रुखमुनि बसेर बात मार्थे। कसको के भयो? कसले कति कमायो? को हिसाब लगाउँथे। केही क्षण भजन पनि गाउँथे र आफ्ना पिर चिन्तालाई भुल्ने कोशिस गर्थे।
भजनको नेतृत्व सुखलले नै गर्थ्यो। उसको स्वर मिठो थियो र ढोलक पनि खुब राम्रो बजाउँथ्यो। बाटो हिड्ने बटुवा पनि रोकिएर उसको मिठो स्वर सुन्थे र मज्जा लिन्थे। कहिलेकाही उनीहरु घोडीदेवी मन्दिरतिर पनि भेला हुन्थे र साँझलाई गुन्जायमान बनाउँथे।
एकदिन अचानक रम्भा गायब भई। सुखलले सम्भावित सबैतिर खोज्यो। तर भेटिएन। कसैले खबर ल्यायो- रम्भा फारूकसँग भागी। सुरुमा त उसलाई पत्यार नै लागेन। तर कुरा बुझ्दै जाँदा साँचो नै ठहरियो। फारूक नारी भनेपछि पहिलेदेखि नै हुरुक्क हुने गर्थ्यो। उसलाई कैयौँ पटक आफ्नो ठेक्कामा काम गर्ने नारीको शोषण गरेको आरोप लागेको थियो।
नारीलाई लिएर उ बद्नाम जस्तै थियो।
ठेक्काबापत प्राप्त धेरैजसो रकम उ नारी माथि नै खर्चिन्थ्यो। रम्भामाथि उसको नजर पहिलेदेखिनै थियो। तर कडा मिजासकी रम्भा उसलाई छेउ पर्नै दिन्नथी। बरु सुखलसँग उसको मन जोडिएको थियो। तर, फारूकको अनेकौ लालसा र धम्काईमा उ अन्ततः बाध्य भई।
सुखल फेरि एक्लो भयो। अचेल मुरी कचेरी बेच्न हाटतिर अलि कमै जान्थ्यो। बरु जिर्णोद्वार हुँदै गरेको घोडीदेवी मन्दिरमा श्रमदान गर्न जान्थ्यो। दुईछाक खान त्यहीं मिल्थ्यो। बेलुकीपख सारा पिर भुलेर भगवानको चरणमा आफूलाई समाहित गर्थ्यो। सुरिलो स्वरले भजनमा मग्न हुन्थ्यो र सबैलाई मनोरन्जन तुल्याउँथ्यो।
उसको यस्तो चाला देखेर सबैले उसलाई मन्दिरको पुजारी झैँ व्यवहार गर्न थाले। मन्दिर समिति लगायतले पनि उसलाई पुजारी नै बनाउने ठहर गरे। उसले पनि सहर्ष स्वीकार्यो। आफ्नो बाँकी जीवन भगवानको साधनामा व्यतित गर्न पाउँदा आन्नद महशुस गर्यो।
एउटा सामान्य जीवन यापन गरिरहेको उ नयाँ स्वरुपमा परिवर्तन भयो। आखिर जीवन यहि नै त हो, हरेक स्वरुपमा आफूलाई ढाल्नु र जीउने कला खोज्नु। अन्ततः सुखल पुजारी भयो।