बीसको दशकदेखि नेपाली साहित्यमा कलम चलाएकी सर्जक भुवन ढुंगाना समाजमा एउटी नारी कसरी त्यागिएकी हुन्छे, कसरी उसको जन्मअगाडि नै भ्रूण हत्या हुन्छ, छोरा र छोरीमा कसरी र के कारणले विभेद गरिन्छ भन्ने अनुभूतिमा ‘परित्यक्ता’ उपन्यास लिएर हामीसामु उपस्थित भएकी छन्।
कवि र कथाकारका रूपमा परिचित ढुंगानाले पञ्चायत कालमा ‘सिउँडी’ साहित्यिक त्रैमासिक पत्रिका सम्पादन गरेकी हुन्। उनका ‘युद्धको घोषणा गर्नुअघि’ र ‘धर्मबिम्ब’ कथा संग्रह प्रकाशित छन्। उनको नारीको परित्यक्त अनुभूतिमा लेखिएको यो पहिलो उपन्यास हो।
यस उपन्यासमा जस्तै म बाँचेको समाजमा नारीले जन्मदेखि नै आफ्नो अधिकार गुमाइसकेकी छे। सानी हुँदा बाबुको अधिनमा, बिहे भएपछि पतिको अधिनमा रहनुपर्ने सामाजिक मान्यताले आधिपत्य जमाएको छ। त्यसैले त समाजमा नारी स्वतन्त्रता र समानताका आवाज उठिरहेका छन्।
यस उपन्यासमा समाजमा नारीहरू कसरी युगौंदेखि उपेक्षित र त्यागिएका छन् भन्ने विषय मुख्य रूपमा प्रकट भएको छ। उपन्यासकी मुख्य नायिका मायाले नेपाल र वनारसका गल्लीमा भोगेका बाल्यकालदेखि बुढ्यौलीसम्मका जीवनका परिवेश वरिपरि उपन्यास घुम्छ।
प्रकृति मानव जीवनको सुन्दर उपहार हो। मानव जीवनलाई सही तरिकाले जीउन सिकाउने एउटा असल गुरू पनि हो भन्ने मलाई लाग्छ। म जन्मेको, हुर्केको सामाजिक परिवेशमा नारी र पुरुषको जीवन चल्ने तरिका एउटै छ तर नारी र पुरुषसम्बन्धी धारणा चाहिँ फरक फरक किसिमका छन्। यस्तो खालको वातावरण सिर्जना हुनु दुःख लाग्ने कुरा हो।
परिवारमा जति बाबुको महत्त्व हुन्छ, त्यत्तिकै महत्त्व आमाको पनि हुन्छ। तर म बाँचेको समाजमा बाबुआमाको समान अधिकार भएको भेटिँदैन। नारीलाई आफू सरह समानता र इज्जत दिएको देखिँदैन। त्यसैले जहिलेसम्म नारीले आफैले आफ्नो अधिकार खोज्दैनन्, तहिलेसम्म समाजमा उनीहरू पितृसत्ताको दमनमा थिचिएर बस्नुपर्ने परिस्थिति भइरहने रहेछ।
नारी समाजमा कति अपहेलित छे, उसको जन्मलाई समाजमा कसरी तिरस्कार गरिएको छ भन्ने कुराको चित्रण गरिएको उपन्यास हो, परित्यक्ता।
यस उपन्यासको पहिलो परिच्छेदमा भनिएको छ- 'त्यस दिन आमाको आँखाबाट रोएँ, आफ्नो सुरक्षाका लागि चिच्च्याई–चिच्च्याईकन रोएँ। थाङ्नामा बेरिएर आमाबाट परित्यक्त भएर एक छेउ सुतिरहेकी थिएँ।' छोरा जन्मँदा उत्सव मनाउने यो समाज छोरी जन्मँदा किन त्यागिदिन्छ? के पुरुषको जन्ममा महिलाको आवश्यकता हुँदैन? महिलाबिना पुरुष बाँच्न सक्छन् यो समाजमा? महिला र पुरुष एकअर्काका सहयात्री हुँदा हुँदै पनि महिलालाई तल्लो तहको व्यवहार किन गरिन्छ? यो उपन्यास पढ्दा यस्तै प्रश्न जन्मिँदै जान्छन्।
यस उपन्यासमा माया अथवा मन्दोदरी त्यागिएकी व्यक्तिका रूपमा चित्रित भएकी छे। माया पात्रले आफू हुर्किएको समाज, परिवारमा नारीहरूले भोग्नुपरेको अवस्था, उनीहरूलाई दोस्रो दर्जामा राखेर गरिएको विभेदको अनुभूति दिन्छ। यो उपन्यास महिलाका निजी र शारीरिक विविध पक्षसँग जोडिएको छ।
छोरीको सामाजिक हुर्काइमा बालिका, किशोरी, युवती अनि प्रौढावस्थाका विषय मुख्य रूपमा प्रस्तुत भएको छ। त्यस्तै पाठेघर, मातृत्व प्रसव वेदना, रजस्वला अनुभूति पनि आएका छन्। नारी सृष्टिकर्ता हुन् भन्ने जान्दा जान्दै पनि समाजमा उनलाई किन समान आँखाले हेरिँदैन?
एउटी नारीको गर्भावस्थादेखि बुढ्यौलीसम्मको चित्रणमा मायाको भूमिका प्रमुख छ। नारीको गर्भमा भ्रूण रहनासाथ छोरा वा छोरी हो भन्ने कुराको विभेद सुरू हुने गरेको देखिन्छ। छोरा भए उसको जन्म उत्सव हुने र छोरी भए गर्भमै तुहाउने पनि गरिन्छ। कति छोरी भ्रूणले यो संसारमा आउनसम्म नपाएका घटना हामीले सुनेका र भोगेका छौं।
छोरीको जन्म भए उनीहरूलाई यो समाजमा दोस्रो दर्जाका मान्छेका रूपमा व्यवहार गरिन्छ। उनीहरूका घरभित्रै सीमित हुनुपर्ने सीमारेखा कोरिएको हुन्छ। यहाँ माया आमाको पाठेघर, जन्मघर, कर्मघर हुँदै अगडि बढिरहिन्। उनी सृष्टिकर्ता भए पनि उनले आफूलाई आफू हुनुको गर्व गर्न नसकेको देखिन्छ।
वनारसको गल्लीमा बाल्यकाल बिताएकी मायाको सपना नृत्याङ्गना बन्ने थियो। उनको त्यो सपना पूरा हुन सकेन। धेरै वर्षपछि उनी फेरि वनारस जाँदा यी सब कुराहरू सम्झन पुग्छिन्। बाल्यकालका साथी अजयले उनलाई झाँसीकी रानीको कथा सुनाएको र आफूलाई त्यस नारीजस्ती साहसी बनाउन नसकेको, जीवनलाई जुलेबीको स्वादजस्तै गुलियो अनि रसिलो बनाउने मायाका रहरहरू एक-एक गर्दै हराउँदै जान्छन्।
उनले आफ्नो मनभित्र अजयप्रति सलबलाएका अनुभूति कहिले पनि व्यक्त गर्न सकिनन्। त्यस किसिमको अनुभूतिले उनलाई एक किसिमको आनन्द पनि दिएको अनुभव गर्छिन्। मनका भावहरू व्यक्त गर्न नसक्नुमा बाल्यकालदेखि आमाको घर उनको आफ्नो होइन भन्ने सामाजिक सोचाइले मायाको मनमा गहिरो चोट पुर्याएको हुन्छ। उनको मनमा 'म जन्मेखि नै परित्यक्त छु' भन्ने भावहरूले जरो गाडेको हुन्छ। उनको मनमा केही चुनौतीका प्रश्न पनि उठेका छन्, 'के जन्मिनु मेरो दोष हो? बिन्ती छ, मेरो आमालाई यो प्रश्न नसोध! कसैले पनि अब नसोध, छोरा कि छोरी?'
महिलाका पीडा र व्यथामा हिन्दू संस्कार र सभ्यतासँग जोडिएका केही मिथकहरू आएका छन्। यसमा कुनै जात र वर्गका तहहरू कोरिएका छैनन्। एकल पात्र माया वा मन्दोदरीले आमाको गर्भ हुँदै जन्मदेखि बुढ्यौलीसम्म जीवनमा भोगेका तीतामीठा अनुभूतिका कोलाजहरूको निर्माण गरिएको छ। थोरै पात्रहरूले बुनिएको यस उपन्यासमा मायाकी आमा, उनका पति जीवन, उनका बाल्यकालका साथीहरू अजय र गिरिधर, उनकी ठूल्दिदी र उनकी नृत्य शिक्षिका आदि छन् भने मिथकीय पात्रहरूमा मन्दोदरी, द्रौपदी, दुर्गा, सरस्वती र सीता छन्।
त्यस्तै यी पात्रका लागि उपन्यासकारले थोरै शब्द खर्चेकी छन् तर पनि ती पात्रको तस्बिर र उनीहरूको परिवेश पाठकसामु जीवन्त रूपमा देखा पर्छन्।
मायालाई यस उपन्यासमा उदासीन देखाए पनि उनीभित्र पनि आफ्नो अस्तित्वको बोध भएको घटना यसरी चित्रण गरिएको छ, 'इतिहासमा म परित्यक्त हुन्नँ। सीताजस्तै कुनै ठाउँमा उभिने छु। त्यस बखत तिम्रो र मेरो सम्बन्ध सहअस्तित्वका लागि होइन, आ-आफ्नो अस्तित्वका लागि हुने छ।'
दस परिच्छेमा संरचित यो उपन्यास मायाका एकलापीय अनुभूतिहरूको बिम्बात्मक संयोजनले रोचक बन्न पुगेको छ। बाल्यकालका प्रिय सम्झनाका लहरहरू, यौवनका कुतूहलताका साथै रोमाञ्च, बुढ्यौलीतिर ढल्कँदै जाने क्रममा नारी जीवन र उसको शरीरमा आएका परिवर्तनले मायालाई झस्काउँछ।
मायाले जिलेबी र उमेरलाई दाँजेकी हुन्छिन्, 'जिलेबी पाक्न थालेको धेरै वर्ष भएछ। म आफ्ना पाकेका केसहरू सम्याँउछु, काला केसदेखि सेता केससम्म। जिलेबीको सेतो रङ रातो नभएसम्म त्यहीँ उभिरहन्छु। रङ परिवर्तन प्रकृतिको, मानिसको, जिलेबीको।'
उनको विचारमा जिलेबीको स्वाद फर्किन्छ तर बाल्यकाल फर्किँदेन। बाल्यकाल त सम्झनाका नदीमा बगिरहने गर्छ। त्यस्तै बाल्यकाल मानिसको जीवनको सुन्दर पक्ष हुने रहेछ। यहाँ माया पनि बाल्यकालमा स्कुल र साथीहरूसँग बिताएका मीठा पलहरूमा रमाएकी छन्।
नेपालय प्रकाशनले हालै प्रकाशित गरेको 'परित्यक्ता' उपन्यास काव्यात्मक छ, चित्रात्मक छ। यो कृति पढ्दै जाँदा उपन्यासभन्दा एउटी किशोरी नै पाठकसामु आएको अनुभूति हुन्छ। कथा भन्ने उनको शैली पनि एकदम काव्यात्मक र चित्रात्मक छ।