भदौको मध्य दिन।
हिजो बेलुकाको खाना खाने समयमा बुवासँग भोलिको काम छिनोफानो भए अनुसार नै अहिले हामी बुवा छोरा खुर्सानी टिप्न बारीमा छौं। आकाश खुलेको छ। घाम चर्को। पसिनाले शरीर भिजेको छ। खप्नै नसक्ने गरी घाम चर्किएपछि दुवै जना खोर्सानीको बुट्यानमा लुक्छौं। एकछिन शितल हुन्छ। हुन त नेपाली साना किसानलाई यदि कुनै कुराले शितलता दिन्छ भने त्यो हो उब्जनी।
यस्ता बोट बुट्यानहरू मात्र त हुन् किसानका साथी।
खैर! बुवा एउटा चुरोट सल्काउनु हुन्छ, "ए साँची! आज भाउ के रैछ सोध सोध, कालीमाटीमा 'थोक भाउ' आज १२० प्रति किलोसम्म छ भन्दैथी बैनी।"
बुवाको कुरा सुनेर म एकछिन अवाक् हुन्छु।
हैन मेरो कुरा कहिले पनि नखाने एकोहोरो बुढालाई आज किन कालीमाटीको 'थोक भाउ' सँग मतलब भएछ? एकछिन मौन बस्छु।
सँगै पढेको एक जना साथी 'तरकारी व्यापारी' भएको छ। व्यापारी साथीको व्यापार दायरा भने अलि साँघुरो छ।
यद्यपी उसको भागको नाफा किसान तथा उपभोक्तालाई बेच्ने तरकारी व्यापारीको नाफाभन्दा लगभग २ गुणा बढी छ।
अझ यो बन्दाबन्दीको समयमा त्यो नाफा कति गुणासम्म उक्लेको थियो, त्यो मेरो व्यापारी साथी नै जान्दछ।
एकपटक ती व्यापारी साथीसँग मेरो घम्साघम्सी नै भएको थियो, कारण मुलाको भाउ।
उपत्यकाका तरकारी बजारमा ४० देखि ५० रुपैयाँप्रति किलो 'थोक मूल्य' मा मुला बिकेको समयमा मैले लगभग ५०० किलो मूला उब्जाएको थिएँ।
ती साथीलाई फोन गरें,"जम्मा ५०० किलो हाराहारी भयो, के छ दर?"
"घाटा हुँदैन!"
" ए मोरा! भनन कति चलेको छ ?
"अरुको ४ मा उठाको हो, तिम्लाई ६ दिम्ला न !"
"बिचौलियाले बजार खाएर हाम्रो लगानी नउठ्ने भो।" एक किसिमको नैराश्यताले समात्यो मेरो आवाज।
"मूला! डाइरेक्ट घर घरमा बेच तिम्रो मूला, म लैजान्नँ!"
यस्तो घुर्की थियो त्यो जसलाई मैले सम्बोधन गर्न नसक्दा मेरो ३ महिनाको मेहेनत कुहिएर मल बन्न सक्थ्यो।
विकल्प थियो त्यही व्यापारी साथी।
फेरि भन्छु, त्यो व्यापारी साथीको व्यापारको दायरा भनेको म र उपत्यकाको ठूला-ठूला तरकारी बजारका तरकारी व्यापारी मात्र हुन्।
"हैन हैन! ल मैले उखेली दिएको छु, आएर लैजानु है," उसले सुन्यो अनि फोन राखिदियो।
दिनभरि मूला उखेलियो। धोएर सेतो पारियो। ३ जना खेतालो लागे।
साँझ उसको बोलेरो पिकअप मेरो घर सँगैको बाटोमुनि देखा पर्यो। दुई पटक हर्न बजाएपछि म बाटोमा निस्किएँ।
" १२ झोला रैछ हैन?"
"हो, बाँकी भोलि उखेल्दिन्छु है। अनि जम्मा कति किलो भो?"
"जम्मा ५०४ किलो भयो। १२ झोलाको १२ किलो कटाउनु पर्यो। त्यसो गर्दा जम्मा ४९२ किलोको पैसा पायौ तिम्ले"
"हैन, एउटा झोला एक किलोको हुन्छ र भन्या ?" फेरि त्यही नैराश्यताले मेरो बोली अड्कायो।
" हत्तेरी ! कस्तो किच्चकको तरकारी किनिएछ! ए साथी! यो यहाँको नियम हो।"
म फेरि त्यतिबेला पनि मौन बसेको थिएँ। मूला बाटोमै सड्ला भन्ने पिरले। मसँग अर्को विकल्प पनि त के नै थियो? त्यस दिनदेखि मैले उनलाई बिचौलिया भन्न छोडिदिए। उनी त व्यापारी हुन्। सरकारले बनाइदिएको तरकारी व्यापारी! गाउँलेले बनाइदिएको तरकारी व्यापारी। ठूलो-ठूलो तरकारी बजारको व्यापारीले बनाइदिएको तरकारी व्यापारी। को छन् र अब यो देशमा बिचौलिया? सबै त व्यापारी भैसके।
"बुवा तपाईं एकपटक व्यापारी साथीलाई सोध्नु त। तिनले कति भन्ने रैछन !"
बुवा देब्रे हातको बुढी औंला र चोर औंलाले चुरोट च्यापेर दाहिने हातले साथीलाई फोन लगाउन थाल्नु हुन्छ।
"ए कान्छा, आज खुर्सानी कति चल्या छ ?"
"कति छ, काका ?"
"बढी भए ३० किलो।"
"दिम्ला न धार्नीको १५०।"
"मात्रै!"
"अ ! फेरि एक धोक्रोको एक धार्नी काटिन्छ है काका, नियम हो।"
"ल बा ! त्यसो भए आज नटिपऔं।"
बुवा फिस्स पर्दै फोन राख्नुहुन्छ।
"कति भन्छ बुवा?"
"धार्नीको १५० रे!"
"के गर्ने त बुवा, एक धोक्रो त भरियो!"
"तँ जा तरकारी बजार! एक घण्टाको न बाटो हो। १०० रुपैयाँको बाइकमा तेल। याँ धार्नीको १५० त्याँ किलोको १२०। नून तेल आउने पैसा जोगिन्छ।"
"हो त बुवा?"
"गई हाल। ५ बजे हिँडिस भने ७ बजे फर्किन्छस्।"
कुखुराको दानाको धोक्रोमा खुर्सानी भरिएपछि बुवाले धोक्रो सिलाइदिनु हुन्छ। म नाम्लो लगाएर धोक्रो बोक्छु। सडकमा निस्किएपछि भारी बिसाएर बाइकमा खुर्सानीको धोक्रो जुटले बाध्छु र गन्तव्य जडिबुटी तरकारी बजार बनाएर निस्कन्छु।
बाटोमा अर्को पिर छ। निषेधाज्ञा भर्खरै खुलेको छ। जोर-बिजोर प्रणालीमा सवारी साधन चलेका छन्। आज बिजोरको पालो हो। मेरो पनि साधन बिजोर नै हो। तर पनि कतै सामान बोकेको भएर प्रहरीले बाटो रोक्ने हो कि भन्ने डर छ।
यत्तिकैमा पहिलो चेक पोस्ट आउँछ। म फुत्किन्छु। दोस्रो चेक पोस्ट। फेरि फुत्किन्छु। अब अर्को डर सुरू हुन्छ। यदि व्यापारी साथीले मलाई बजारमा ३० किलो खुर्सानी बेचिरहेको अवस्थामा भेटे मेरो अर्को लटमा उब्जाउ हुने ५०० किलो मूला नकिनिदिने पो हुन् कि? यही डरको सामना गर्न अगावै अर्को डर सुरू हुन्छ।
ठूला-ठूला तरकारी बजारका व्यापारीले मेरो ३० किलो खुर्सानी नकिनिदिने पो हुन् कि ? यदि यस्तो भएमा मैले फिर्ता लगेर त्यही व्यापारी साथीलाई नै १५० को दरमा बेच्नु पर्नेछ।
१५०? खुर्सानी तातिएर कुहिन सक्छ! अनि व्यापारी साथीले नकिनिदिने पो हो कि? अझ यदि उनले मलाई यहाँसम्म ल्याएर फिर्ता लगेको देखे भने मेरो अब फल्ने तरकारीको भाउ उनले कति देलान् ?
डरै डरमा म जडिबुटी तरकारी बजार पुग्छु।
बाइक बाहिर राखी खुर्सानी बेच्ने व्यापारी खोज्न बजारभित्र जान्छु। एउटी अधबैंसे महिला व्यापारीले बेच्न राखेको अलिक दिन पुरानो खुर्सानीमा मेरो आँखा जान्छ।
"दिदी, खुर्सानी कति छ?"
"३० को पाउ।"
"मैले भर्खर बारीबाट टिपेर लिएर आको छु, राख्नुहुन्छ?"
"कति छ? कतिमा दिनु हुन्छ?"
"हेर्नु अनि तपाई कति दिनुहुन्छ भन्नुस् न।"
महिला बाइकसम्म आउँछिन्। धोक्रोबाट एक ढिडी खुर्सानी निकालेर हेर्छिन्।
"८० दिन्छु किलोको।"
८० प्रति किलो भनेको २०० रुपैयाँ धार्नी पर्न गयो। अर्थात् करिब २० किलोमिटर पर भन्दा धार्नीमा ५० रुपैयाँ बढी।
"जम्मा ८० दिदी? हुन्न बरू म त कालीमाटी नै लैजान्छु।"
"यति खुर्सानी लिएर कालीमाटी?"
म वास्ता नगरी पुनः बजारभित्र पस्छु। त्यस्तै, अर्का व्यापारीलाई सोध्छु। उनी पनि खुर्सानी हेर्न आउँछन्।
"भर्खर टिपेर ल्याको हो दाइ! पूरै खन्याएर हेरे पनि हुन्छ। किसान नै म हुँ।"
"हेर्न पर्दैन भाइ, म पनि किसान नै हुँ। ९० दिन्छु हुन्छ?"
"९० मात्र?" मा अझै चित्त बुझाउँदिनँ।
"९५ ल।"
"दाइ म २० किलोमिटर यति बोकेर बार्गेनिङ गर्न आएको हैन। १०० दिनुस् राख्नुस्।"
"ल त जम्मा ५ मा के अड्किनु।"
बाइकबाट धोक्रो झिकेर हामी उनको पसलतर्फ लाग्छौं। धोक्रो तौलिँदा जम्मा वजन २८.३ किलो हुन्छ । दाइले मलाई २८३० रुपैयाँ नगद दिन्छन्। म एउटा मिसन सकिए जसरी रमाउँदै बाहिर निस्कन्छु।
"कतिमा बेच्नु भयो तपाईंको खुर्सानी?" बाइकमा साँचो राख्दै गर्दा एउटा अन्जान आवाज आँउछ ।
"किन हजुर पनि किन्ने हो?" यिनले अलि बढी पैसामा किन्थे कि भन्ने आशले सोधी हाल्छु।
"हैन कतिमा बेच्नु भयो भनेर।"
"जम्मा १०० दिए किलोको।"
"गाउँमा कति दिन्छन्?" यस्तो लाग्छ, यिनी सरकारी अनुगमनमा आएका हुन्। अब मैले न्याय पाउने भएँ।
"१०० देखि १५० सम्म छ धार्नीको।"
"त्यस्तै बिचौलियाले गर्दा हामी किनेर खानेलाई पनि गारो छ यता। तपाईं हामी जस्तो युवाले यस्तो कुरा उठाउनुपर्छ हेर्नुस्!"
साँझ ६:१५ भइसकेकोले म फिस्स हाँसेर निस्कन्छु। एकछिन पछि बुवाको फोन आउँछ।
"पुग्यौ?"
"हजुर! बेचियो।"
"१०० दिए?"
"ठ्याक्कै।"
"ल धन्यवाद।"
फोन राखेपछि आफ्नै धुनमा घर फर्कनतर्फ लाग्छु। यदि मैले यही चिज गाउँमा 'व्यापारी साथी' लाई दिएको भए आउथ्यो जम्मा १५४८ रुपैयाँ। आयो २८३० अर्थात् २ गुणा हुन २६६ बाँकी। यस्तै तर्क वितर्क गर्दै आउँदा थिमीको ट्राफिक लाइट ख्याल नै नगरी बाइक हुत्तिन्छ। प्रहरीसँग क्षमा मागी अगाडि बढ्छु म।
बेला बेला गति तोकिएको गति भन्दा अलि तीव्र हुन्छ। एक प्रकारको रिस उठिरहेको छ। किसानसँग। सरकारसँग। व्यापारीसँग। व्यापारी साथीसँग। किन दिँदैनस् मेरो मिहिनेतको भाउ? किन दिँदैनस् मेरो पसिनाको मूल्य? दुई गुणा नाफा खाँदै आएका बिचौलियाले कति ठाउँमा पसिना चुहाए? किन उपभोक्ता र किसानबीच यति विघ्न मूल्यको अन्तर? अब कृषिमा एउटा सक्षम चिकित्सकको बहालीमा ढिला भएकै हो? किनभने सरकार त फगत झाँक्री हो।
व्यापारी साथीहरू त झन् वनझाँक्री। विषादीजन्य सामग्री झिकाउनेदेखि बेच्नेसम्म सबै झाँक्री हुन् नेपालमा।
सरकारले साना किसानलाई आजसम्म आश्वासनबाहेक के नै दियो? दलगत सक्रियता नभएका निमुखा किसानहरूको लागि आज पनि सरकारी कृषि प्रणाली सामन्त शासन हो।
उदाहरण, कुनै नगरपालिकाले अनुदान स्वरूप पाएको साना जोत्ने ट्याक्टरहरू दलगत सक्रिय अझ भनौं क्रियाशील कार्यकर्तालाई मात्र किन वितरण गरिन्छ? यो एउटा उदाहरण मात्र हो।
स्थानीय निकायको यस्ता कयौं त्रुटिहरू सजिलै भेटिन्छ। अनुदान पाएको डि. ए. पी मलको बोरामा इंकित अधिकतम् मूल्य भन्दा १००० रुपैयाँ सम्म बढी तिर्न किन बाध्य छन् किसानहरू? के यो झाँक्री प्रवृत्ति हैन? ढ्यांग्रो ठोकेर रोग निको पर्छु भन्दै बिरामीको जटिलतालाई अझ जटिल बनाउने।
'व्यापारी साथी' कसै कसैले यिनलाई विचौलिया पनि भन्छन्। तर म भन्दिनँ। किन भनौ? यिनै विचौलियाले नकिनिदिए मेरो उब्जनी फेरि मल बन्छ। यिनीहरू वन झाँक्री हुन्। सम्पूर्ण किसानलाई 'खाए खा नखाए घिच!' अवस्थामा त्रसित बनाएका।
अर्का झाँक्री छन् किटनाशक व्यापारी। हामीले यति किरा मार्यौ कि अब यस्ता झाँक्रीहरूले दिएको औषधिले किरालाई छुदैन। यिनीहरू विज्ञ बिरलै होलान्। यिनीहरू झाँक्रीसँग अझ बढी नजिक छन्।
कथा सुनेर औषधि वितरण गर्ने। यस्ता झाँक्रीहरूले गर्दा पनि किसानहरूको 'आम्दानी अठ्ठनी, खर्च रुपैयाँ' भैरहेको छ। कहिलेकाहीँ चलेको चलन अनुरूप किसानहरू आफैं झाँक्री बनिदिन्छन् जसले घाउमा नून मात्र थपेको छ।
अब देशको सबभन्दा माथिल्लो निकाय नै झाँक्री भएपछि अरू को-को झाँक्री हुन् भनेर औंल्याउन पनि कहाँ सजिलो छ र !
बाइक अगाडि एउटा इम्बोस्ड नम्बर प्लेट भएको गाडी देखा पर्छ। के के पो बुझाउन खोजिएको हो त्यो नम्बर प्लेटमा म बुझ्दिनँ।
तल भएको नम्बरमा ध्यान जान्छ। २६०५। सोच्छु, तिम्रो गाडी नम्बर भन्दा मैले आज खुर्सानी बेचेर धेरै कमाएँ। यही प्रफुल्लता सँगसँगै म घर पुग्छु।
अनि साँच्चि 'म' 'म' भनेर आफूलाई सर्वनामले चिनाइरहँदा 'म' वास्तवमा को हुँ नै नखुल्न सक्छ। 'म' एक किसान हुँ। किसानको २३ वर्षे छोरा हुँ। किसान नेपालमा बस्छ। राजधानीदेखि २० किलोमिटर टाढाको गाउँमा। तर 'म' आवाज नेपालका सम्पूर्ण कृषकको हुन सक्छ। दबिएको दबाइएको आवाज।
फेरि सम्झन्छु त्यही आवाज, 'तपाईं हामी जस्तो युवाले यस्तो कुरा उठाउनुपर्छ हेर्नुस्।'