कोही आऊ,
हानीदेऊ एसिड मेरो अनुहारमा
ताकी म मेरो फोटो जिन्दगीभर नहेरूँ
यस्तो कुरूप हुँ कीम हिडिँरहँदा कतै,
बच्चाहरू तर्सिदै भागुन्
बुढाबुढी अभागी भन्दै बाटो लागुन्
सुन्दर युवा-युवतीले कठै यसको जिन्दगी भनुन्
तिज, दशै, तिहार कहिल्यै उज्यालो नहोस् मलाई
मैले गर्दा अरु सुन्दर देखिउन् यसैमा छ भलाई
काममा होस् वा प्रगतिको लाममा
जाममा होस् या हरेक ठाममा
यस्तो नराम्रो हुँ
बकुल्लाको बथानमा काग पसेजस्तो
सुन्दरताको खोजीमा
आवरणको रोजीमा
मलाई नहेरोस् बाहिरी दुनियाँले
मैले नहेरू बाहिरी संसार
तर म बेवास्ता नगरू आफैँलाई
अस्तित्व आफैँ भित्रको
नहेरू आँखा खोलेर ऐना
हेर्न प्रयत्न गरूँ आफ्नैभित्र
जो देख्न प्रयत्न नगरीएको
नखिचिएको र नदेखिएको मन मैनालाई
रहर हटोस् पूर्णत बाहिरी रमझमको
इन्द्रेणीको, रङ्गहरूको
देखावटी सुन्दरता र ढङ्गहरूको
जे–जे होस्, बेवास्ता होस् मलाई आवरणको
तर याद रहोस् श्वासप्रश्वासको,
हरेक पलको, प्रत्येक आनन्दको
केही आओस् घच्घचाओस् मलाई
अज्ञानताको स्वप्नबाट ब्युताओस् मलाई
उत्सवमय जिन्दगीको मन्त्र
सुनाओस् मनको कानैमा कानेखुसी गर्दै
बाह्य सुन्दरता
आँखाले देख्ला, यन्त्रले खिच्ला
तर आन्तरिक सुन्दरता मनैले खिच्छ
मनैमा छिप्छ।