ऊ पहिलो चोटी सहर पस्दा,
मनै हुँ,
उसको हात समाएर,
बाटो कटाउने,
मैले नै पशुपती दर्शन गराएँ,
मैले नै एयरपोर्टमा ल्याएर,
प्लेन देखाईदिएँ,
म ऊभन्दा केही पुरानो थिएँ,
यस सहरका लागि,
एसएलसी सकेर रत्न राज्यमा भर्ना भएको ऊ,
मेरै डेराको पाहुना थियो,
मैले पकाउने, उसले भाडा माझ्ने,
हामीबीचको भद्र सहमति,
अल्छिपन, आलस्यता र उसको ठग मतिले,
ऊबाट बारबार तोडिइन थाल्यो,
उसले घरमै पकेट मार्न थाल्यो,
६ महिनामै उसको सुकुल गुण्डे शैलीबाट आजित भएर,
मैले उसलाई बेग्लै कोठा खोजेर बस्न भनिदिएँ,
गाउँमा जानकारी गराएपनि,
उता गाउँबाट बाबुले सुन्तला र घिउ बेचेको पैसा,
छोराको पढाइमा लगानी गरिरहेँ,
यता उ आइए नकटाई,
सिनेमा खेल्न र हिरो बन्न भनी बराल्ली रह्यो,
म आफ्नो दिनचर्यामा लागेँ,
उसले मलाई वास्ता गरेन,
मैले उसलाई भुलीदिएँ,
धेरै वर्षपछि सडक छेउमा, गाडीबाट कसैले चिच्यायो,
'केदार, ए केदार'
पहिला ठम्याउन गाह्रै पर्यो,
विस्तार मुहारबाट चस्मा हटेसँगै,
मैले ठम्याइ हालेँ,
अलि पोटिलो भएछ,
छोटो समयमै उसले आफ्नो घरको संख्या,
आफूले जोडेको जग्गा जमिनको क्षेत्रफल र
विदेशमा रहेका सन्तानसम्मको बेली विस्तार लगाउन भ्यायो,
मैले आफू बिएसम्म पढेर,
जागिरमा लागेको र अहिलेसम्म,
उही दिनचर्या कायम रहेको बताएँ,
उसले पढ्न सकेनछ,
जागिर खाने रुची पनि भएन रे,
व्यापार व्यवसाय उसले जानेकै छैन रे,
हातमा केही सीप नभएको उसको,
गाउँको सबै घर, खेतबारी बेच्दा,
यता ४ आनाको टुक्रो पनि आउने हैन,
आश्चर्यतापूर्वक मैले प्याट्ट सोधी हालेँ,
अनि घर, जग्गा, गाडी, बैँक ब्यालेन्स, र
बालबच्चालाई विदेशमा पढाउने यत्रो हैसियत कसरी?
ऊ अलि अक्मक्कियो,
कुरा लामो छ,
आज मेरो मिटिङ छ,
कोरोना सकिएपछि बसेर कुरा गरौँला,
ला मेरो भिजिटिङ कार्ड भनी,
ऊ बत्तियो, महँगो विलाशी कार लिएर,
म बाटामै उभिएर,
ओर्काइ फर्काइ उसले दिएको कार्ड हेर्न थालेँ,
जसमा लेखिएको थियो,
'डीएन शर्मा' संयोजक,
'देश प्रेमी कर्मठ युवा मंच'l