'हजुरको फोन आयो, उठाउनु न' निन्द्रामै निलिमा बोली। म निन्द्राबाट झल्यास्स बिउझिएँ। उठाउन खोज्दा खोज्दै फोन काटियो, तीन मिस्कल आइसकेको रैछ।
'कस्ले गर्छ हँ, हजुरलाई यति बिहानै फोन?' निलिमाको शंका मिश्रित आवाज सुनियो। आइमाईहरुको बानी नै हो शंका गर्ने, जतिसुकै विश्वास भए पनि स-सानो कुरामा शंका गरिहाल्छन्। ऊ पनि यसबाट के अछुतो रहन सक्थी।
'लेऊ, अब फोन आएपछि आफै उठाऊ' मैले उस्को हातमा फोन थमाइदिएर किचन तिर लागेँ। उस्को हातमा पर्नासाथ फोन बज्यो। हतारिदै निलिमाले फोन उठाइ। मैले चिया उमालेँ, दुई कप कालो चिया लिएर बेडरुम पुगेँ। त्यतिबेलासम्म पनि निलिमा फोन कानमा लगाएर बसीरहेकी थिइ।
उस्को आवाज पहिलेभन्दा निकै कारुणीक भइसकेको रैछ। ला! कस्को फोन हो? मनमनै चिसो पस्यो। दिमागमा केही चिर-परिचित युवतीका अनुहारहरु एकपछि अर्को गर्दै घुम्न थाले। निलिमाले फोन राखिदिई।
'निलु चिया समाउ' चियाको कप उस्को अगाडि राखिदिएँ। उस्ले म तर्फ हेरी, आँखा रसाईसकेका रहेछन्।
'कस्ले गर्या फोन?'
उस्ले मेरो प्रश्नको प्रवाह नगरी निकैबेरसम्म चुपचाप बसिरही। त्यसपछि चियाको कप समातेर चिया पिउन थाली।
'चिनी हाल्नु भएन?' उस्ले मुख बिगार्दै सोधी।
'खै लागेन र?' साँच्चिकै चियामा त चिनी हाल्नै बिर्सेछु। प्रायः केटाहरु अल्छी हुन्छन् म जस्तै, हतपत्त किचनमा नपस्ने अनि पसिहाले पनि ढङ्गको परिकार बनाउन नजान्ने। कहिलेकाहीँ म उस्लाई सोध्ने गर्थेँ 'के बनाउँ तिमीलाई?'
'पहिला बनाउनुस् अनि पछि नाम दिउँला' मुस्कुराउदै ऊ भन्ने गर्थी। उस्ले किचनमा गएर चियामा चिनी थपेर ल्याइ।
'अब चाहिँ बल्ल चिया, चिया जस्तै भयो' म जिस्किदै बोलेँ।
'सम्बन्ध चिया जस्तो हैन, पटक-पटक चाखेर स्वाद फेर्दै खान मिल्ने। हातमा लिएपछि तितो भएपनि मिठो मानेर खान सक्नु पर्छ, नभए जुठो हाल्नु हुन्न' निकै बेरको शून्यतालाई चिर्दै निलिमा बोली।
मनमा फेरि अर्को पटक ह्वात्तै चिसो पस्यो। एक कप चिया रित्तिदा उस्का दुवै आँखा आँसुले टम्म भरिए। आँखाको डिलसम्म आइसकेका आँसु रहनु र खस्नुको दोधारमा अडिए। म केही बोल्न खोजेँ तर अहँ! सकिनँ। शब्दहरु घाँटीसम्म आएर अड्किए।
'सम्बन्धमा विश्वास र चियामा चिनी भएन भने ती दुवै चिज खल्ला हुन्छन्, खानु नखानुको कुनै अर्थ नै हुन्न' उस्को अन्तिम वाक्यले मलाई नराम्रोसँग चिथर्यो। ऊ आँसु पुछ्दै किचन तिर लागि।
हतार-हतार गर्दै मोबाइलको कल लग हेरेँ, विदेशबाट आएको नम्बर रैछ। इन्टरनेट खोलेँ, उफ्फ कस्तो स्लो नेट पनि। बल्लतल्ल कनेक्ट भयो। फेसबुकमा त्यो नम्बर राखेर सर्च गरेँ, उहीँ चार वर्ष पुरानो मान्छेको प्रोफाइलमा गएर अड्कियो।
सपना शर्मा फ्रम काठमाडौँ नेपाल। दिमागले फेरि एक गोल चक्कर लगायो, मुटु पहिलेभन्दा छन् छिटो धड्किएर बाहिरै आउला जस्तै भयो। अनि एउटै प्रश्नले पटक-पटक घोचीरह्यो 'सपनाले के भनी निलिमालाई?'
उस्ले आफ्नो लोकेसन पनि चेन्ज गरिसकिछे। लिभ्स इन सिड्नी अस्ट्रेलिया। मान्छेले जुनसुकै देश परिवर्तन गरेपनि कहिल्यै आफ्नो विगतलाई परिवर्तन गर्न नसक्दो रहेछ हगी?
प्रोफाइल फोटो खोलेर हेरेँ, समुन्द्रको किनारमा ऊ कसैको काखलाई सिरानी बनाएर सुतेकी थिइ। त्यो उस्को वाउ! अहँ! हैन, बाउको उमेरको श्रीमान थियो सायद।
एउटै मान्छेमा अभिभावक अनि पति दुवैको गुण भएको मान्छे विरलैले भेट्छन्। ऊ तिनै भाग्यमानी मध्यकी एक थिइ। उस्लाई पिआरको काख चाहिएको रैछ, म बेकारको साथ दिएर के बस्थी ऊ। चार वर्षपछि मैले हाम्रो सम्बन्ध टुट्नुको मुख्य कारण थाहा पाएँ।
कतिपय सम्बन्धहरु टुट्नकै लागि बन्दा रहेछन्। जतिसुकै आत्मियताको बिज रोपेपनि शंका अनि छलकपट कै मलजल बढी हुँदो रहेछ, म उल्लुलाई थाहै थिएन। मनमनै हाँसो उठ्यो।
प्रोफाइल स्क्रोल गर्दै निकै तलसम्म उस्का फोटाहरु हेरेँ, केही पुराना फोटाहरुमा आफैले गरेको कमेन्ट पढेँ।
'राम्री
-हजुरको हेर्ने नजर राम्रो, (पानको पात मिसिएको उस्को रिप्लाई)
होर?
-होनि। उममम... (स्टिकरको हाँसो)'
दश वटा जति फोटामा गरेको कमेन्ट मेटाइदिएँ।
उस्को फोन कलले ल्याएको तरंग प्रोफाइल हेरेर मात्रै कसैगरी पनि मेट्न सकिनँ। फेरि डायल गरेँ त्यही नम्बर मोबाइलको स्क्रिनमा। फोन एकैपटमा लाग्यो।
'खाना पाक्यो, खाना खान आउनु। अफिस जान ढिला हुन्छ' तेस्रो घन्टीसँगै निलिमाको आवाज किचनबाट बेडरुमसम्म आइपुग्यो। हतार-हतार फोन काटेर कल लगबाट हटाईदिए अनि ब्ल्याक लिस्टमा राखीदिएँ नम्बर। फेसबुक दुवैलाई अब एउटा रङ नम्बरबाट कल आउनेछैन, ढुक्क भएर किचन तिर लागेँ।
मोबाइलमा जस्तै जिन्दगीमा पनि रङ नम्बर रुपी सम्बन्धका कलहरु आइरहन्छन्। त्यसलाई रिसिभ नगरुन्जेल थाहै नहुँदो रहेछ की त्यो कल रङ हो या राइट। आज खानासँगै निलिमाको गाली पनि मिसाएर खानुपर्ने भयो, एउटा अर्को झुट बोलेकोमा।