आमा,
कोरोनाको कहरले तगारो हाल्यो
यसपाला पनि आउन सकिनँ
माफ गर आमा,
तिम्रा चाउरिएका हातले
काम्दै काम्दै
निधारभरि रातो टीका थाप्न पाइनँ,
कन्दै कन्दै
संस्कृतका आशिष जानेजति सबै दिन्थेउ
त्यो पनि लिन पाइनँ,
तिम्रो अनुहार हेर्दाहेर्दै
दसैं कस्तो दसैं हुन्थ्यो
दसैं जस्तो दसैं हुने भएन,
कमाएर आइज जमाएर दसैं मानौला भन्थेउ
कमाउन पनि सकिनँ,
दसैंमा तिम्रो हातको टीकाआशिष अब
जुन छोएजस्तो भयो
आमा
यसपाला पनि आउन सकिनँ।
छोरानातिले डाँडाकाँडा ढाके तिम्रा
तर,
सप्तमीमा फूलपाती पर्सने नाति भएन
अष्टमीमा मन्दिर जाने साथी भएन
नवमीमा पूजा गर्ने हतियार भएन
दसमीमा टीका थाप्ने निधार भएन
न जमरा घुसाउने छोराको माथ
न मासु भुट्ने बुहारीको साथ
यस्तै भयो आमा,
यसपाला दसैं, दसैंजस्तो भएन
थुकले चिउरा भिजाएर
दसैं खाउ है आमा!
आँशुले अक्षता मुछेर
टीका लाउ है आमा!!
आँशुले अक्षता मुछेर
टीका लाउ है आमा!!!
यसपाला पनि आउन सकिनँ।