समयसँगै परिवर्तन भईदेऊन आमा,
मेरी भाउजूलाई पनि मलाईजस्तै माया गरिदेऊन आमा।
रुन त के कुरा हाँस्न पनि कुना खोज्छिन् उनी,
घरका हरेक ठाउँलाई उनको हाँस्ने कुना बनाइदेऊन आमा।
बजारतिर घुम्न जाँदा मलाई भन्दै नभनी मनपर्ने कुरा ल्याइदिन्थ्यौ नि तिमी,
कति राम्रो सुहाउँछ भन्दै उनका हातमा पनि केही थमाइदेऊन आमा।
को छ र यहाँ उनको?
पछि गाँसेको साइनो त हो नि,
तिम्रै काखमा लुटुपुटिने वातावरण बनाइदेऊन आमा।
साना गल्ती त देख्दै नदेख न तिमी उनको,
ठूला गल्तीलाई पनि हाँस्दै हाँस्दै सुधार्न सिकाइदेऊन आमा।
कुनै दिन, म पनि त बुहारी हुँ नि त्यो घरको भन्दै,
भक्कानिँदै आएर तिम्रो सामु बरबराएँ भने,
मैले चुसेका ती छाती चर्किँदै तिम्रो मुटु पनि चीराचीरा हुँदैन र आमा?
कसैको मीठो बोली सुन्न पाउँदा पनि थकाई मर्छ भन्थ्यौ नि तिमी उहिले,
सम्झँदै त्यही, मुस्कुराउँदै मायालु अनुहार उनको तिर पनि देखाइदेऊन आमा।
किन उठेकी? सन्चो छैन, आराम गर भन्थ्यौ नि मलाई तिमी,
किन बुझ्दिनन् तिम्रा मर्म- तातो पानी दिँदै उनको निधार पनि सुम्सुम्याई दिएर त हेर आमा।
मेरो छोरो जोइटिङ्ग्रे भयो भन्छेउ नि तिमी,
चरुवा जाँदा उबेला लुकेर भारी कस्न आका हाम्रा बा बिर्सियौ र तिमीले आमा?
जा न केही त सघाइदे भनी बाटो तिमले फुकाइदिए,
जस्तो सुकै जंघार पनि ती दुई मिली तर्थे कि त!
छोरी कसैकी बुहारी छ भन्दै यति कुरा त बुझिदेऊन आमा,
मेरी भाउजूलाई पनि मलाईजस्तै माया गरिदेऊन आमा।