चिर निन्द्रामा सुतिरहेको
सडक किनारमा बसेर
च्यातिएका सपनाहरु, सिलाईरहेछ
जिन्दगीका दागहरुमा, पालिस पोतिरहेछ
मधुरो भविष्यलाई, टल्काईरहेछ
मिजार दाइ।
उही काठको बाकस
उही पुराना औजारहरु
घामपानी नथेग्ने
करङ भाँचिएको
उही थोत्रो छातामुनि
पुस्तौँपुस्तादेखि चलाईरहेछ
जाँगरिला हातहरु
घोटीरहेछ नलीहाड
बगाईरहेछ रगत पसिना
यही सडकमा।
अब नउध्रिनेगरी तुन्नुछ सपनाहरुलाई
रंगहरु भरेर हटाउनुछ
समाजका कालो दागहरुलाई
चम्किलो बनाउनुछ
नयाँ पुस्ता हिड्ने गन्तव्यलाई।
मिजार दाइ!
निन्द्राबाट जाग्नु पर्छ तपाई पनि
उथलपुथल पार्नुछ यो धर्ती
जुरुक्कै उठाउनुछ
मस्त निदाईरहेको सडकलाई र
आँधीबेहरी ल्याउनुछ
सदियौँदेखिको कुरीति ध्वस्त बनाउनलाई।