यो पुस्तक मादी गाउँपालिकाका विद्यालयको सामाजिक शिक्षा विषयमा पाठ्यक्रम बाहिरको ‘रिफ्रेन्स बुक’का रूपमा अध्ययन गर्न लगाउनु एकदम राम्रो हुन्छ। यो नयाँ पुस्ताका लागि प्रेरणादायी पुस्तक बन्नेमा म विश्वस्त छु।
हिमालय मिलन मा.वि.ताङतिङमा प्रधानाध्यापकका रूपमा २३ वर्ष काम गरिसकेका ओमप्रकाश गुरुङ ‘ताङतिङ मेरो गाउँ’ नामक संस्मरणात्मक कृति लिएर पाठकसामु आउनुभएको छ। नामको पहिलो शब्द ‘ओम’ हटाएर ‘प्रकाश’का रूपमा बढी परिचित गुरुङ वास्तवमा ताङतिङ गाउँका लागि उज्यालो छर्ने प्रकाश बनेर धेरै अघिदेखि शिक्षा सेवामा लाग्नुभएका एक जना प्रतिबद्ध समाजसेवी, शिक्षक र सामाजिक अभियन्ता हुनुहुन्छ।
आफ्ना लाहुरे पिता सेवारत मलेसियामा जन्मेको भए पनि उहाँको हुर्काइ र निम्न माध्यमिक तहसम्मको पढाइ ताङतिङमै भयो। माध्यमिक तहको पढाइ पनि मादी किनारको सोंधामा रहेको दुधपोखरी मा.वि.मा भएको थियो। गाउँमा पढ्दा होस् या बेंसी झरेर सोँधामा पढ्दा, उहाँ असाध्य लगन र मेहनतका साथ पढाइलाई अगाडि बढाउने अनुशासित विद्यार्थी, आज्ञाकारी छोरा र मिलनसार सहृदयी साथीका रूपमा परिवार, समाज र विद्यालयमा परिचित हुनुहुन्थ्यो भन्ने कुरा उहाँको प्रस्तुत पुस्तक पढ्दा र उहाँलाई चिन्ने बुझ्नेसँगका कुराबाट पनि थाहा पाइन्छ।
प्रकाश सर लामो समयदेखिका मेरा मित्र हुनुहुन्छ। मा.वि.मा हुँदाको समयमा भेट त भयो होला तर म त्यति सम्झिन्न। कलेजमा उहाँ आईए पढ्दा म पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सभापति थिएँ। उहाँसँग कहिलेकाहीँ भेट भैरहन्थ्यो। उहाँमा ज्ञानप्रतिको लालसा र पढाइप्रतिको लगाव देखिन्थ्यो। राजनीतिक काममा भने प्रकाशजी सतर्कतापूर्वक समर्थन गर्ने तर अलि रिजर्भ देखिने, प्रश्नहरू लिएर हिँडेको जिज्ञासुजस्तो बढी देखिनुहुन्थ्यो। एउटै भेकको भएकाले पनि मलाई उहाँप्रति चासो रहन्थ्यो। पढाइ र शिक्षण पेसासँगै अघि बढाएर पछि उहाँ स्थायी रूपले गाउँमै बसेर शिक्षा सेवामा लाग्नुभयो। आफ्नो विद्यालयलाई त्यस भेगकै नमुना बनाउनुभयो। यद्यपि अहिले गाउँमा विद्यार्थी घट्दै जाँदा केही समस्या होला तर उहाँ आफ्नो प्रतिबद्धतामा अडिग हुनुहुन्छ।
गाउँलेको सक्रिय सहभागिता, विदेशमा बस्ने ताङतिङेहरूको सहयोग र मितेरी स्कुल एवं मितेरी गाउँका सहृदयी मित्रहरूले थपेको ऊर्जाका कारण हिमालय मिलन मा.वि.ले उहाँको समयमा राम्रो प्रगति गरेको छ। ‘ताङतिङ मेरो गाउँ’ पुस्तक प्रकाश गुरुङको जीवन अनुभूतिहरूको सँगालो हो। झट्ट हेर्दा यस्तो अनुभूति निजात्मक हुने भए पनि यो पुस्तक पढ्दै जाँदा प्रकाश हुर्कंदाको समयको ताङतिङे गुरुङ समाज, संस्कृति र अर्थतन्त्रका अनेक पाटा भेटिन्छन्।
पुस्तकमा तीसओटा छोटाछोटा निबन्ध समावेश गरिएको छ। सपना भाँचिएको बिहानबाट सुरु गरेर घोक्रेलासम्मको यात्रा गरेर सकिएको संकलनमा प्रसङ्गहरूलाई अघिपछि फ्ल्यासब्याकमा पनि हेर्न मिल्ने गरी राखिएकाले पाठकलाई अन्तिमसम्म तानिरहन्छ। लेखकले एउटा प्रसङ्गबाट भित्र प्रवेश गरेपछि अनेक उपकथा उनेर एउटा आख्यानात्मक रूप दिएका छन्। शीर्षकमा भिन्नभिन्न सन्दर्भ छन् तर ती आपसमा कथाजस्तै उनिएका छन्। गैरआख्यान भए पनि आख्यानको स्वाद दिने यी निबन्धमा स्थानीय समाजमा रहेको लाहुरे प्रभाव, शिक्षाका लागि त्यहाँका मानिसले गरेका प्रयास, केटाकेटीहरूको हुर्काइ, सामाजिकीकरणका अनेक आयाम पनि समेटिएका छन्।
त्यससँंगै प्रकाशले कसरी लाहुरे हुने सपना छाडेर शिक्षा सेवामा लाग्ने अठोट गर्नुभयो, कसरी ताङतिङको अहिलेको विद्यालयको भौतिक संरचना बने, यसमा कसले कसरी सहयोग गरेजस्ता अनेक पाटा पनि छन। पुस्तकमा उहाँको परिवारको कथा छ। उहाँका दौंतरीहरूले एक घण्टा तल पर्ने सोंधाको विद्यालयमा पढ्दा गरेका सङ्घर्षका बिम्ब छन्। उहाँको पारिवारिक जीवनको आख्यान छ। दक्षिण कोरिया र बेलायत घुमेर सँगालेका अनुभव र अध्ययनबाट आर्जन गरेका अनेक ज्ञानका पोका छन्।
पुस्तक पढ्दा मलाई विशेष मन परेका दुइटा पाटा छन्। पहिलो हो, ताङतिङको जनजीवनको चित्र। आरम्भमा पाठकले नै हाम्रो लाहुरे परम्पराले कसरी ससाना बच्चामा मनोसामाजिक प्रभाव पारेको हुन्छ भन्ने सन्देश दिन्छ। त्यसैगरी पहिले लमजुङ र पछि कास्कीको एउटा कुनामा पर्ने उक्त लेकाली गाउँको संस्कार, संस्कृति र मानिसको आजीविकाका अनेक पाटा खुल्छन्। स्थानीय नामसहितका खोला, वनपाखा, चरन र खर्क, लेकाली डाँडापाखाका चित्र आउँछन्। सिक्लेसदेखि क्होलसोंथर क्रवुडाँडासम्म गुरुङ थलोहरूका कथा आउँछन्। अर्कोचाहिँ तुँ र मुँ अर्थात् उपल्लो र तल्लो खेतमा कसरी असार या मंसिर गर्न परिवारै झर्थे, कसरी काम गरिन्थ्यो, केके फल्थ्यो र अहिले कसरी गाउँ पूरै परनिर्भर भएको छ भन्ने अर्थराजनीतिक सन्दर्भहरू पुस्तकमा पढ्न पाइन्छ। अर्को महत्वपूर्ण पाटो भनेको ताङतिङमा कसरी आधुनिक सञ्चार सुविधाको विकास गर्ने प्रयास गरियो भन्ने विवरण पनि हो।
पुस्तकमा भएझैं पहिले हुलाकीले लाहुरसम्म जोड्ने सञ्चार परम्परा अहिले इन्टरनेट, टेलिभिजन र स्मार्ट फोनमा पुगेको छ। तर आरम्भमा इन्टरनेटसँग जोडिन गरिएका प्रयासहरूले हाम्रो विकास र समाज परिवर्तनका लागि भएका सङ्घर्षको कथा भन्छन्।
मलाई चित्त नबुझेको पाटो भने यो पुस्तक यति राम्रो र स्थानीय समाजसँग गाँसिएको भएर पनि सकेसम्म स्तरीय नेपाली अथवा संस्कृत भाषा निकट बनाएर लेखिनु हो। ठाउँका नाउँ र अरू भाषामा नभएका शब्दबाहेक सबै नेपालीमा लेखिँदा यसले रैथाने स्वाद गुमाएको छ। हजुरबा पुस्ता या बाबुआमा पुस्ताका मानिसको भनाइ तथा उखानहरूलाई गुरुङ भाषामै राखेको भए यो पुस्तक झन् स्वादिलो हुने थियो।
पुस्तक वास्तवमा एउटा कालखण्डका मानिसका दुःखसुख र समाजको सामूहिक चेतनाको अभिलेख पनि हो। अहिले नै यो पुस्तकमा भएका कतिपय प्रसङ्ग त्यही गाउँका नयाँ पुस्ताका लागि अनौठा लाग्ने भइसके। बसाइँसराइले गाउँ पातलो भएको छ। जनसङ्ख्या कम छ र विद्यालयमा विद्यार्थी कम हुँदै गएका छन्। पहिले लेकमा लगाइने आलु हराउन थालेको छ। लेकाली भेडीगोठ र गाईगोठ हराएर गएका छन्। चोया, अल्लो र ऊनीका सामान उत्पादन या त हराएको छ या घटेको छ। माथिल्लो बेंसीमा नै खेत रोप्न छोड्दै गएका छन्। पाखा र खेत बाँझा छन्।
प्रकाशहरूले पढेको सोँधाको मा.वि. स्थापनाको ४० वर्ष नपुग्दै रहने कि नरहनेजस्तो अवस्थामा पुगेको छ। उकालीओरालीमा भारी बोकेका अनुभव अब सवारी साधनले बिर्साउँदै लगेका छन्। सामाजिक सम्बन्धहरू फेरिन थालेका छन्। रोदीघरको परम्परा लगभग सकिन थालेको छ। गाउँ अब पर्यटन केन्द्र बन्दै गएको छ। विद्यालयको कामबाट उब्रेको समय प्रकाश आफैं पनि होमस्टेमा पर्यटकको स्वागत गरेर बिताउनुहुन्छ। पर्यटन विकासका लागि उहाँले राम्रो प्रयास गरिरहनु भएको छ। भाषामा परिवर्तन टड्कारो रूपमा देखिन्छ। यी नै कुरा उहाँको पुस्तकले भन्छ।
सायद २०३६ भदौतिर म पहिलोपटक ताङतिङ पुगेको थिएँ। गुरुङ गाउँको भव्यताको अनुभव मैले त्यहीँ गरेको हो। त्यस यता म बीसौं पटक त्यता पुगेको छु र यसका बदलिँदा रूपहरूको अनुभूति गरेको पनि छु। मैले आवरणमा फेरिदै गरेको देखेका जे अनुभूति छन् त्यसको भित्री पाटासम्म पुग्न भने मैले पनि प्रकाशको पुस्तकै पढ्नुप¥यो। यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु।
मेरो विचारमा यो पुस्तक मादी गाउँपालिकाका विद्यालयको सामाजिक शिक्षा विषयमा पाठ्यक्रम बाहिरको ‘रिफ्रेन्स बुक’का रूपमा अध्ययन गर्न लगाउनु एकदम राम्रो हुन्छ। यो नयाँ पुस्ताका लागि प्रेरणादायी पुस्तक बन्नेमा म विश्वस्त छु। यसमा हाल गाउँपालिकाका अध्यक्ष रहेका प्रकाशका दौंतरी वेदबहादुर गुरुङले सहयोग गर्न सक्नु होला भन्ने मेरो आशा छ।
एक जना असल शिक्षकका रूपमा प्रकाशका अनुभवहरूले नयाँ पुस्तालाई प्रेरित गर्ने मैले विश्वास लिएको छु। प्रकाशजीलाई पुस्तकका लागि धेरैधेरै बधाई तथा शुभकामना दिन्छु। मलाई परिचयका शब्दहरू लेख्ने अवसर दिनुभएकामा उहाँलाई धेरैधेरै धन्यवाद !
(हिमालय मिलन मावि ताङतिङ, कास्कीका प्रधानाध्यापक ओमप्रकाश गुरुङको पुस्तक ‘ताङतिङ मेरो गाउँ’ आज शनिबार पोखरामा सार्बजनिक हुँदैछ।)