बसाइ मेरो सल्लेरी आर्मी ब्यारेक नजिकै थियो। साथी भेट्न भनि म नयाँ वर्षमा खाँदबारी तिर लागेँ।
आफूसँग सवारी साधन नभएकोले वैशाख महिना बेलुकापख हावाहुरी र पानीले बाटोमा समस्या हुने डरले त्यो दिन म बिहानै खाँदबारी एक्सप्रेस चढेर मुढेको बाटो हुँदै खाँदबारीतर्फ हुँइकिएँ।
मेरो लागि मुढे हुँदै खाँदबारी जाने बाटो विल्कुलै नयाँ थियो। जब हिले ब्यारेकबाट गाडी उकालो लाग्यो, त्रिशुले छेउछाउ तिर अलि तल मजाले फक्रिएका मनै लोभ्याउने ती वनभरि झ्याम्मै फुलेका लालीगुराँसहरु देखिन थाले।
ओहो! गाडी रोक्न लाएर ती फूलहरु चुम्दै सेल्फी लिन मन थियो तर अर्काको साधनमा हिँडेसी कहाँ सोचे अनुसार पाइन्छ र!
अब फर्किँदासम्ममा त ती फूलहरु पनि झरिसक्छन् होला है? मनमा प्रश्न तेर्सियो।
ती फक्रिएका लालीगुराँसहरु देख्दा शिलुको याद आयो। सम्झेँ, शिलु तिमी पनि यही लालीगुँरास जस्तै सुन्दर छौ। त्यो लालीगुराँस झैँ फक्रिएको जवानी जो कोहीले किन टिप्न नखोज्ला र?
तर के म बाहेक अरुले तिमीलाई टिप्न सक्ला र शिलु? फेरि मनमा अर्को प्रश्न उब्जियो, के गुराँसका फूलहरु पनि म नफर्किउन्जेल ओइलिएर नझर्लान् वा कसैले नटिप्लान् भन्ने ग्यारेन्टी छ र? मैले पनि त आजसम्म उनलाई प्रेम प्रस्तावबारे केही भनेको छैन नि? मैले माया गर्छु भन्ने उनलाई के थाहा होला र?
एक्कासी मेरो मानस्पटलमा उनी आइन्। पहिलो पटक क्याम्पसमा देख्दा कलेज सकिएर गेटबाट निस्कँदै गरेकी उनलाई कसैले बोलाएको थियो, 'शिला, परिचय मोडको बाटा जाऔँ है?'
मैले फर्किएर हेरेँ। सलक्क परेको लामो कपाल, काला आँखा, थोरै उठेको छाती, छिनेको कम्मर, मिलेको जीउडाल, हिँडाइमा लचकता, बोलीमा माधुर्यता, मिलेका दाँत, चुच्चो नाक, खैरो रंगको कुर्ता-सलवार अनि हातमा दुईवटा किताब।
लाग्या थियो कुनै दन्त्य कथाकी परी आज मेरो सामुन्ने छे। उनलाई मैले क्याम्पस गेटबाट फर्किएर परिचय मोडसम्म पुगुन्जेल हेरे तर त्यो दन्त्य कथाकी कुने परी थिइन ग, छिनमै गायब हुने अनि छिनमै देखिने।
उनलाई मैले अदृष्य नहुन्जेलसम्म नियाल्न सकेँ। सोचेँ नाम शिला रहेछ। क्षणभरमै मेरो कोही आफ्नै जस्तै लाग्यो, र मनमनै भनेँ 'मेरी शिलु!'
जीवनमा धेरैसँ गभेटियो, धेरैसँग बोलियो, धेरै केटीहरु देखियो तर एक्कासी उनलाई देख्दा म भित्र किन यस्तो विचित्रको भावहरु प्रकट भइरहेछन्? त्यसपश्चात म कोठा तर्फ लागेको थिएँ। करिब ३० मिनेटको उकालो, मनमा त्यै केटी।
मेरो अघि बाटो छ, अघिपछि मान्छेहरु पनि छन्, बायाँतर्फ गाडीहरु कुदिरहेका छन्। साँच्चीकै कल्पनामै हराएको म उनीसँग गेटबाट छुटिएपछि अभौतिक रुपमै भएपनि कल्पना कल्पनैमा कोठा आइपुगेँ।
कोठामा बिहानका जुठा भाँडा, ओहो! भद्रगोल। दिक्क लाग्यो, आज केही नखाई सुत्ने र भोलिपल्ट बिहान मात्र खाना खाने निधो गरेर ओछ्यानमा पल्टिएँ। सोचेँ, शिलु! तिमी को हौ? कहाँ हो घर, कहिल्यै क्याम्पसमा नदेखेको तिमीलाई, आज कसरी यहाँ छौ?
के हो थर? आजसम्म कहाँ थियौ? कुन लेभलमा पढ्छौ? मन अनेकौ जिज्ञासाहरुले घेरियो। तर देख्नसाथ उनको नै भैहाले झैँ भएको मेरो भावुक अनि कोमल मनले भन्दैथ्यो- तिमी जोसुकै हौ, तिमी मेरी हुने छौ, मेरो लागि नै तिमी आज संसारमा अस्तित्वमा छौ, शिलु!
मिल्ने भए त म तिमीलाई सिक्री भै सबैले देख्नेगरी घाँटीमा लगाएर हिड्ने थिएँ, झोला झैँ बोकेर दौडन्थेँ, घडी झै नाँडीमा लगाउने थिएँ। तर के त्यो मेरो भाग्यमा होला र? अनेकन कल्पना।
अर्को दिन बेलैमा खाना खाएर समयमै क्याम्पस पुगेँ, उनलाई देख्ने सोचका साथ। कलेज पुगेँ, पासाङ ल्हामु हल अगाडिको प्याराफिटमा बसेर एक तमासले एकोहोरो भई झुण्ड झुण्ड बसेर गफिई रहेका साथीहरुलाई नियाली रहेको थिएँ।
आवाज आयो 'सुन्नुस् न।'
म फर्किएँ। देखेँ उही केटी, शिलु! अतालिए झैँ भयो। नर्भस भएँ, ट्वाल्ल हेरिरहेँ। चिटचिट पसिना आयो, बोल्नलाई कुनै शब्द मुखमा आएन।
'हजुरको घर चानुवा हो?'
म झनै ट्वाल्ल परेँ।
'हजुर त सरस्वती उच्च माविबाट प्लस टु गरेर आउनु भएको रहेछ है?'
उप्फ! म झनै दिक्क भएँ, आँखिर यो सबै के भइरहेको छ!
'किन छक्क पर्नु भएको? हिजो मिनासँग कुरा भएको थियो, उनी लगायत अन्य साथीहरु सुकुना पढ्ने भएछन्। अनि सो विद्यालयबाट यो क्याम्पस पढ्न आउने हजुर मात्र हो रे।
मलाई फोटो पठाएर चिनाएकी थिई रामजी उही हो भनेर। अहिले हजुरलाई यहाँ देखेँ, उस्तै लाग्यो अनि चिनजान गरौ भनेर आएकी' ऊ रोकिइन 'मिना मेरो मिल्ने साथी, मेरो बुवाको साथीकी छोरी हो।'
उसकको धारा प्रवाह अझै रोकिएन, 'किन बोल्न अप्ठ्यारो मान्नु भएको हो? अनि सबै साथीहरु सुकुना गएछन्, हजुर मात्र किन यो क्याम्पसमा?'
तिमीले यसो भनिरहदाँ शिलु, तिम्रो हात समाएर आँखामा आँखा राखी नजिकै गई भन्न मन थियो- म तिम्रै लागि यहाँ आएको हुँ। तर तिमीले बोलाउन साथ पसिना पसिना भएको म त्यति भन्ने हिम्मत कहाँ राख्न सक्थे र!
बोल्नमा निडर ऊ अझै रोकिइन तर मलाई चुरो कुरो थाहा भैसेको थियो कि ऊ मिनाको साथी हो। मिना मेरो बच्चादेखि कै साथी थिई। उनले त्यति भनिरहँदा मिनाको साथी भनेसी मैले केही राहत महशुस गरेँ।
'म शिला, शिला भण्डारी। घर तेह्रथुमको ओख्रे, स्नातक प्रथम वर्षमा यही भर्ना हुन आएकी। तर नाम लेखाएर एक/दुई हप्तापछि फर्किहाल्ने हो। उता गाउँ तिरै टिचिङ गर्छु।'
मैले जवाफ दिएँ 'म रामजी, घर र थर त उतैबाट थाहा पाइहाल्नु भो होला।'
ऊ हाँसी र भनि 'कस्तो छोटो जवाफ, पैसा लाग्छ झैँ जस्तो।'
मनमनै भनेँ, 'तिमीलाई भन्नु पर्ने अनि तिमीसँग गर्नु पर्ने कुराहरु त महाभारत नै छन् शिलु, तर म कुनै दिन भन्ने छु, त्यो दिन तिमीले सिर्फ सुन्नुमात्र पर्ने छ, के मेरा सवै भावनाहरु व्यक्त गर्ने हिम्मत जुटाउँदासम्म तिमी मलाई सुन्ने धैर्यता राखिरहन सक्छौ त?'
घण्टी लाग्यो, हामी कक्षाकोठा तर्फ लाग्यौँ। उनी नँया भएको र उनको साथी सेकेन्ड इयरमा पढ्ने भएकोले हामीसँगै पछाडिबाट दोस्रो खालि बेन्चमा बस्यौँ। प्रोफेसर माधव भण्डारीको अनिवार्य अंग्रेजी कक्षा उहाँले 'इफ सेन्टेन्स' को बारेमा क्लास लिँदै हुनु हुन्थ्यो।
त्यहाँ पढाइँदै थियो, 'टाईप टु... इफ एस प्लस भीटु प्लस ओ कमा एस प्लस वुड/सुड/कुड प्लस भीवान प्लस ओ' मलाई वाक्य फुरिहाल्यो र मनमनै शिलु तिर हेर्दै भनेँ- इफ आइ वेयर योर बिएफ, आई कुड लिभ विथआउट ब्रेथिङ।
म तिर हेरेर फिस्स हाँसी, म झसंग भएँ। मैले मनमा सोचेको कुरा थाहा पाइछ क्या हो झैँ लाग्यो। तर उसले भनि- 'उता हेर्नुस् न, ऊ त्यो केटो डेस्कमुनि टाउको लुकाएर फोनमा बोलिरहेको छ।' म उता हेरेर हाँसेँ, यतिकैमा क्लास सकियो।
हामी बाहिर आयौँ। खालि पिरियड भएकोले गोलघरमा बसेर घर परिवार अनि मिनाको बारेमा कुरा गर्यौं। फेसबुकमा एड भयौँ र नम्बर साटासाट गर्यौँ। उक्त दिनको सम्पूर्ण कक्षाहरु समाप्त भएपश्चात हामी आ-आफ्नो कोठातर्फ लाग्यौँ।
चिनजान पश्चात हामी एकअर्कालाई एकदमै नजिकको साथी महशुस गरेका थियौँ। दिनभरि कलेजमा सँगै बस्ने, खालि घण्टीमा चौतारीमा बसेर ठट्टा गर्ने अनि कलेज छुट्टीपश्चात आरएस होटलमा मःमः खाने फर्किने त कहिले हिमाङ होटलमा चटपटे खाने फर्किने।
दिनहरु बित्दै गए। साथी साथी भएपछि फुर्सदको समयमा कहिले चुलिवन त कहिले सल्लेरी, कहिले टुँडिखेल त कहिले कचिडेसम्मको हिँडाइ, धुमाइ।
छोटो समयको उनको छुट्टी सदुपयोग गर्न मै हामी लाग्यौँ, म पनि त यता एक्लै एक्लै धुमधुम्ती कोठामा बस्नु परिरहेको बेला त्यहीँ माथि पहिलो भेटमा प्रभावित भएको म उनैसँग घुम्न डुल्न पाँउदा मन पुलकित नहुने त कुरै थिएन।
हप्ता दिन बित्यो, उनीसँगको त्यो भेट अनि सामिप्यताले मलाई अझ बढी आफ्नोपनको महशुस गराइरहेको थियो। त्यहीमाथि मनले रोजेको उनी। तर थाहा छैन उनको मनमा के थियो तर मेरो उनीप्रतिको आकर्षण कुनै कुण्ठापूर्ण आकर्षण थिएन। कुनै बनावटी थिएन, र अस्थायी थिएन।
एक किसिमले मेरो मन उनकै कब्जामा थियो। दिनदिनै क्याम्पसमा भेट अनि बेलुका फेसबुकमा च्याट, दैनिकी नै त्यही भइसकेको थियो। हामी यति नजिक भैसकेको थियौँ कि मलाई लाग्छ साथीभन्दा माथि नै प्रेममा थियौँ तर अव्यक्त प्रेम।
भेटमा नसके पनि फेसबुकमै भएपनि प्रेम प्रस्ताव राखिदिउँ कि झै नलागेको हैन तर उनी टाढिने होकि भन्ने डरले नै मैले प्रेम प्रस्ताव राख्न सकिरहेको थिइनँ। मनमा कुरा खेल्थ्यो, के प्रेम हुनलाई प्रेम प्रस्ताव नै राख्नु जरुरी छ र?
एउटाले प्रेम प्रस्ताव राख्ने अनि अर्केले स्वीकार गर्ने प्रकृया पूरा गरिसकेसी मात्र प्रेम हुने नत्र नहुने हो र? प्रस्ताव नै राख्न पर्ने भए त यो सम्झौता भएन र? ल मानै मैले प्रेम प्रस्ताव राखे उनले अस्वीकार गरिन् भने मेरो प्रेम मरिहाल्छ र?
यी अनेकौ प्रश्नले मेरो उनीप्रतिको माया व्यक्त हुन दिइरहेको थिएन, र ममा यो विश्वास गहिरो गरी बसेको थियो कि माया कुनै दुई पक्षको औपचारिक सम्झौता होइन। मोलमोलाई होइन। यो एकअर्काप्रतिको अघाद सामिप्यता हो, निष्ठा हो, व्यक्त गर्नै नसकिने भावना हो। अव्यक्त भएता पनि सोको गहिराई अर्को पक्षले सजिलै नाप्न सक्दछ।
बस मुढेशनिश्चरेबाट मादीतर्फ ओरालो झर्यो। झ्यालबाट सिधा अगाडि तर नजिकै मकालु लगायत धेरै हिमालहरुमा हिँउ टलक्क घामले टल्किरहेको देखिन्थ्यो। सम्झेँ, शिलु... मलाई थाहा छैन तिमी मलाई कति प्रेम गर्छौ तर मेरो तिमीप्रतिको प्रेम यही अगाडि देखिने मकालु हिमालभन्दा उच्च छ।
तिमीप्रतिको प्रेम यही हिमालको हिँउभन्दा स्वच्छ छ, तिमीलाई म हरेक सुख दिन सकूला नसकूला शिलु, तर तिमीलाई मेरा खुसीहरु बेचेर भएपनि कहिल्यै दुखी हुन दिने छैन। फेरि वरिपरि देखिने ती लालीगुराँसहरुले मलाई शिलु तफै डोहोर्यायो।
करिब दुई हप्ताको बसाइपछि शिलाको घर फर्किने दिन नजिकिँदै आयो, चैत्र ३० गते आइतबार उनी फर्किने निधो भएछ। बिहीबार कलेजबाट छुट्नेबेला उनले सुनाइन् 'अब, हामी धेरै दिनसँगै हुन्नौँ। आइतबार फर्किहाल्ने हो। दुई गतेबाट मेरो स्कुल सुरु हुन्छ।'
उनले त्यति भन्दा एक्कासी मलाई ऐठन भए झैँ भयो। एकोहोरिएँ, हेरिरहेँ, बोल्नलाई कुनै शब्द थिएन। दिउँसोको तीन बजिसकेको थियो, बेलहराको डाँडा तिरको आकाश पानि चुहुला झैँ कालो बादल मडारिइरहेको थियो। चिसो हावाको एक झोक्काले कानै चिसो हुनेगरी हानेर गयो।
म झल्यास्स भएँ, भनेँ 'ल भरे कुरा गरौँला च्याटमा।' यति भनेर म बोल्दै नबोली बजारतिर उक्लिँए। उनी आफ्नो बाटो लागिन्। सोचेँ, तिमी पर्सी जाने भएसी म क्याम्पस आउनु र न आउनुको के अर्थ होला र शिलु? तिमी बिनाको त्यो क्याम्पस परिसर मेरो लागि चिहान घर सरह हैन र?
हो, म व्यक्त गर्न सक्दिनँ तिमीप्रतिको प्रेम, तर तिमीले बुझ्नु पर्ने होइन र? गाउँको स्कुल छाडिदेऊ, बरु यतै कतै सानो जागिर खोज। यतै बस, नजाऊ शिलु। तिमी बिना धनकुटा मेरो लागि शून्य छ, कुनै भ्यालु छैन तर जब तिमी छौ, यो सहर मलाई स्वर्गसरी छ, प्रेमिल छ, हरेक चोक विशेष छ।
खाना खाएर डाटा अन गरेँ, मेसेज लेखेँ 'तिमी नजान मिल्दैन, शिला?'
जवाफ आयो 'हैट, के कुरा गर्नु भएको? विद्यालयमा भर्ना अभियान सुरु हुन लागेको छ। जानै पर्छ नि। टाढाको सरहरु आइपुग्न टाइम लाग्छ, म त्यहीँ गाउँको टिचर गइनँ भने त डामाडोल भैहाल्छ नि?
हेडसरले दुई गते अनिवार्य हाजिर हुनु भनेर छुट्टी दिनु भएको। हतपत्त, आफ्नो विषयको रिजल्ट तयार गरेर यता कलेजमा भर्ना हुने समय जान्छ भनेर मात्र आएकी हुँ, पर्सी त जसरी नि फर्किनु पर्छ।'
उनको च्याट पढिरहँदा मलाई हरेक शब्द शब्द चट्याङ सहितका असिनाहरु बर्सिए झैँ लागि रहेको थियो। फेरि मेसेज आयो, 'अब दुई दिन छ, बरु कतै घुम्न जाऔँ। भोलि शुक्रबार हाफ छुट्टी नै हो, पर्सी शनिबार नै भै गयो। फेरि भेट कहिले हुने हो थाहा छैन, भेटेको बेला एउटा सम्झना पनि हुन्छ।'
सुरुका दुई वाक्य पढ्दा खुसीले तरंगीत भएको मेरो मन, अन्तिमको 'फेरि कहिले' भन्ने शब्दले मन छियाछिया भयो। मैले जवाफ लेखे 'हुन्छ, भन कता जाऔँ।' जवाफ आयो, 'भोलि, हिले, वक्रकुण्डेश्वर महादेव, अनि पर्सी नमस्ते झरना' मैले लेखेँ 'ओके डन, बिहान ६:३० बजे सल्लेरी आऊ।'
बिहान ७ बजे हामी हिले उत्रियौँ, करिब १० मिनेट हिँडिसकेसी पुग्यौँ। वक्रकुण्डेश्वर महादेव मन्दिर। वरिपरि चियाबगान, चियाबगानको बीचमा वक्रकुण्डेश्वर महादेवको मन्दिर।
मन्दिर वरिपरि विभिन्न आकारका ढुंगाहरु र ढुंगामा प्रकृतिक रुपमै बनेका विभिन्न देवताका तस्बिर, अनि पाइला जस्तो देखिने छापहरु, नजिकै दुईढुंगा माथि तिर जोडिएको र बीचमा छिर्न मिल्ने गुफा जस्तो ठाँउ जहाँ एक तिरबाट छिरेर अर्को तर्फ निस्कँदा पाप काटिन्छ भन्ने धार्मिक विश्वास रहेछ।
उक्त मन्दिरमा केही कुरा माग्दा पुग्छ भन्ने धार्मिक विश्वास रहेछ। गेटबाट छिर्यौँ, जनजाति मूलका पूजारी रहेछन्। पूजा गरेर आउन अनुमति प्राप्त भयो। वरिपरि घुम्यौँ, पूजा गर्यौं र पूजारीबाट भगवानलाई ढोगी आफूले चिताएको कुरा माग्न अनुरोध भयो।
मलाई थाहा छैन शिलु, तिमीले के माग्यौ? तर मैले हजार जुनीसम्म पनि तिमी मेरै हुनु, मेरा हरेक सुख अनि खुसीको हिस्सेदार तिमीलाई नै बनाउन पाउँ भगवान। मेरी शिलुलाई कसैको नजर नलागोस्, स्वस्थ अनि त्यो मुहारमा सधैँ खुसी देख्न पाइयोस् भनि कामना गरेँ।
त्यसपछि हामी धर्मद्वार जहाँ एकतिरवाट पसेर अर्को तर्फ निस्कँदा आजसम्म गरेका सबै पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वास छ, त्यहाँ छिर्न गयौँ। उनी अघि बढिन्, पहिला ढोगिन् र टाउको छिराइन्।
मैले सोचेँ 'भगवान, जानअन्जान कुनै उनीबाट गल्ती भएको भए माफ गरिदेऊ उनलाई, र कुनै अक्षम्य पाप भए त्यो पापको भारी सबै मलाई बोकाई देऊ। म बोक्न तयार छु। उनी पल्लोपट्टि निस्किइन्।
म पहिला पनि दिदीहरुसँग आएर छिरिसकेको हुनाले इच्छा लागेन। त्यसपश्चात हामी चिया बगान तर्फ लाग्यौँ, उनले सोधिन् 'के माग्नु भयो त?'
तिमीले सोधिरहँदा तिमीलाई अँगालेमा बेरेर कपाल सुमसुम्याउँदै सबै चिताएका कुराहरु भन्न मन थियो, शिलु तर म नाजवाफ भएँ र जवाफ दिएँ 'त्यस्तो केही थिएन मेरो अनि तिम्ले?'
'मेरो झन् के हुन्थ्यो र?' हामी चिया बगान तर्फ मोडियौँ। हामीले केही सेल्फीहरु लियौँ तर मलाई एउटै कुराले पिरोली रहेको थियो कि यो आजको मेरो खुसी केही दिनको पछि अनिश्चितकालको लागि टुङ्गिने छ।
वरिपरिको त्यो हरियो चिया बगान पनि मलाई कुनै उजाड मरुभूमि झैँ लागिरहेका थियो, मनमा देखावटी हाँसो देखिएता पनि मनमा बेतमासले आँधिहुरी चलिरहेको थियो। दिनभरको घुमाइपछि हामी धनकुटा फर्कियौँ।
दिनभरिको चिसोले होला बेलुका रुघा अनि घाँटी दुख्ने व्यथा सुरु भयो। जसोतसो निदाएँ, बिहान उठ्दा हल्का ज्वरो महशुस भइरहेको थियो। बिहान ७ बज्यो, उताबाट कल आयो 'खै त आउनु भएको?'
मैले भनेँ 'हिजोको चिसो अनि हावाले होला, मलाई विसन्चो जस्तो भइरहेको छ, आज नजाऔँ है। पछि फेरि जाँउला नि।'
'ओहो! होर? पख्नुस, म मेडिकल गएर औषधि ल्याइदिन्छु नि।'
'पर्दैन, अलि सन्चो होला, खाना खाएर म आफैँ जाउँला।'
नभन्दै तीस मिनेटपश्चात ऊ आई। झोलामा डि-कोल्ड र सिटामोल ल्याएकी रहिछन्। निधारमा हात राख्दै भनिन्, 'हेर, यस्तो हनहन्ती ज्वरो छ, अस्पताल नै जानु पर्छ जस्तो छ। म खाना बनाउँछु अनि तल अस्पताल गएर देखाउन पर्छ।'
तिम्रो यो मप्रतिको प्रेमपूर्ण स्पर्शले साँच्चै शिलु म चङ्गा झैँ हलुका महशुस गरिसकेको थियो। आखिर तिमीमा के छ त्यस्तो, कि तिमी मेरो सामु उभिँदैमा, तिमीले मेरो हात एकपटक निधारमा राख्दैमा मलाई हलुका महशुस भयो। के अव तिम्रो अनुपस्थितिमा म मेरो अस्तित्व असम्भव हुन लागेकै हो त? जथाभावी छरिएका भाँडाकुँडा मिलाउन थाली।
सोचेँ, यो कोठाका बग्रल्ती भाँडावर्तन मिलाएर के हुन्छ र शिलु! अहिले मिलाउँछौ भरे उस्तै हो, बरु देखाउन नसकी मनभित्रै बग्रेल्ती उकुसमुकुस भएर पोखिन नसकेको मेरो माया सजाएर राखिदेऊ, शान्ति त प्राप्त हुन्थ्यो।
फेरि सोचेँ मैले भन्न नसेपनि माया त यिनीमा पनि पक्का छ नि, नजिक हुँदैमा औषधि लिएर कोही केटा मान्छेको कोठामा आएर यति हेरविचार गर्नलाई उनको म को थिएँ र? के यो चै माया हैन र? के उनले मलाई माया गर्छे भन्ने देखाउन माया गर्छु तिमीलाई भन्नै पर्थ्यो र!
यति कुरा मैले बुझनु पर्ने हैन र? मनमा यस्तै कुराहरु खेल्दै गए, खाना खायौँ। अझै विसन्चो भयो भने मात्र अस्पताल जाने अडान मैले राखेँ। सुरुमा नमानेकी ऊ 'पछि गाह्रो भयो भने बोलाउनु, बजारमा किनमेल छ, भोलि घर जानु छ। कपडाहरु पनि मिलाउनु छ' भनेर निस्की।
बाहिर टन्टलापुर घाम लागेको थियो, मेरो मनमा उनकै बारेका कुराहरुले झरी परिरहेको थियो। आखिर यतिका दिन भैसक्यो भेट भएको, यति नजिक भैसक्यौँ तर पनि मैले किन भन्न सकिनँ कि म तिमीलाई माया गर्छु शिलु।
यही कुरा मात्र मनमा खेलीरह्यो। फेरि सोच्छु, भोलि यो गैहाल्छे, ढिला गर्नु हुँदैन। अहिल्यै फोन गरेर भन्छु, 'म तिमीलाई माया गर्छु शिलु, आउ, मेरो यो उजाड मनमा भर्खरै वसन्तले वृक्षको पाउलो फेरे झैँ मेरो जिन्दगीमा मायाको पाउलो लिएर आऊ। आँट गर, हामी दुई एक भएसी पाउलो आफै फक्रिने छ।'
तर फेरि उनी मेरो यो कुराले टाढा हुने डरले केही भन्न सकिनँ। म निरीह भएँ, ममा कुनै जोश छैन जाँगर छैन। फेरि सोचे, १२/१३ दिनमा सायद कुनै चोक थिएन अब हामीलाई नचिन्ने, कुनै चौतारी थिएन।
हामीलाई नभेट्ने, कुनै पार्क, खाजाघर थिएन कि हामीलाई नदेख्ने, अब पनि दुनियाँ चिन्ने जान्ने क्याम्पसका साथी लगायतले एक किसिमको लख काट्न थालिसकेका थिए भने मै फेरि तिमीलाई मेरो मायाको व्याख्या गरिरहनु पर्छ र शिलु?
साँझ परिसकेको थियो, कल आयो, शिलु 'कस्तो भयो सन्चो भयो? खाना खानुभयो? ल राम्रो केयर गर्नुहोस है, अहिल म साथीसँग छु राख्छु। म बिहानै जान्छु, मलाई छोड्न सल्लेरीसम्म आउनु होला।'
जवाफ दिएँ 'ठिक भैसकेँ, हुन्छ आउँछु।'
बिहान भयो, कल आयो 'म व्यारेक अगाडि आइसकेँ। छिटो आउनुहोस्, गाडी छुट्छ फेरि।'
म उठेँ, टिसर्ट लगाएँ, निस्किएँ। सल्लेरी पुगेँ, मुसुक्क हाँसिन् ऊ। भनिन् 'आज त बिरामी जस्तो देखिनु भा छैन त, खै ज्वरो?'
निधार तिर हात ल्याइन्, छुट्टिने बेलाको त्यो स्पर्श मलाई निर्जीव वस्तुले छोए झैँ लाग्यो। गाडी आयो, साँगुरी यातायात। उनी चढिन्, भनिन् 'ल, कल गर्दै गर्नुस्। म पनि गर्छु, डाटा चलेको बेला अनलाईन आँउला। भिडिओ कल त नहोला तर च्याट हुन्छ, सि यु, टेक केयर अब पछि वर्खे बिदामा आँउला है।'
बिदाइको हात हल्लाइन्। मलाई भने हात उठाएर बिदाइ गर्ने हिम्मतसम्म पनि थिएन। टाउको हल्लाएँ। उनी चडेको गाडी उकालो लाग्यो, आँखाबाट आँसुहरु चिउँडो हुँदै छातीमा तप तप झर्न लागे।
हिजोसम्म स्वर्ग झैँ लाग्ने त्यो धनकुटा आज एकाएक उराठ लाग्दो मरुभूमि झैँ लाग्यो। कलेजको ड्रेसमा कोही कसैलाई देख्दा पनि मन भारी हुन थाल्यो। कोठा गएँ। दिनभरि खाटमा पल्टिएँ।
श्वास चलिरहेको छ, धड्कन चलिरहेको छ तर पनि शरीर कुनै मुर्दाघरको मुर्दाभन्दा कम छैन। हलचल छैन, सोझो, सिधा, उत्तानो। त्यो दिन चाउचाउले छाक टार्ने विचार आयो, चाउचाउ किनेँ। थोरै झोल हालेर पकाएँ, खाँए र पल्टिए।
एसएमएस आयो, 'आई ह्याभ अराइभ्ड। मिस यु, टेक केयर।'
फोन डायल गरेँ, सम्पर्क हुन सकेन। सायद नेटवर्क राम्रो आउन्न रैछ सोचेँ। यतिकैमा अब यही अवस्थामा धनकुटा बस्न नसक्ने बरु केही दिन साथीको तिर खाँदबारी बिहानै जाने प्लान बनाएँ।
मेसेज गरेँ, 'आई विल गो टु खाँदबारी टुमरो, कल यु इन द मर्निङ।'
कुनै रिप्लाई आएन, रातभर निन्द्र परेन।
एक्कसी ब्रेक लाग्यो, गाडी रोकियो। खाजा खाने बेला भएछ। सभाखोला छेउको पसलमा सबैजना उत्रियौँ। ओहो! तुम्लिङटार आइपुग्न लागिएछ। मादीदेखि सभाखोलासम्मको यात्रा पत्तै नपाई ती कलेजका दिनहरू याद गरेरै कटिएछ।
पुल छेउमा गएँ, मोबाइल निकालेँ। उनलाई कल हानेँ, स्वीच अफ! सोचेँ, शि, न एसएमएस, न मिसकल, न फोन। तीस घण्टा हुन लाग्यो हामी छुटेको, कसरी सक्छै है बस्नलाई। न बिहान कल लाग्यो, न बाटोमा लाग्यो, न अहिले लाग्छ।
न तिमीले गर्छौ, तिमी पनि मान्छे हैन र? कति निष्ठुरी बनाउन सक्छौ है मन? के तिमीलाई मसँग बोल्न मन लागेन र? के म तिमी बिना खुसी छैन भन्ने थाहा छैन र? साथीकोमा पुगेँ, गफगाफ भयो। सुत्नेबेला कल हानेँ, सम्पर्क हुन सकेन।
बिहान फेरि कल हानेँ, सम्पर्क हुन सकेन। तीन दिन गयो तर कहिल्यै न फोन न मेसेज! ओहो! छोरी मान्छेको मन कति निष्ठुरी हुँदो रहेछ है। अब मलाई अझ बढी दिन बस्ने कुनै इच्छा भएन। मन भुलाउन साथीकोमा आएको म, तिम्रो अनुपस्थितिमा बोलीसम्म पनि सुन्न नपाई म कसरी बस्न सक्छु र?
अर्को दिन उनको पूरा ठेगाना मिनाबाट लिएर, उनको गाउँ नै भेट्न जाने योजना बनाएँ। मनमा अनेकौ आशंकाहरु जन्मिए। प्रश्नहरु तेर्सिए। भन्न मन लाग्यो, यतिका दिनसम्म, सम्पर्क विहीन भएर बसेर तिमीले कुन खेल जित्न खोज्दै छौ शिलु?
ममा अब कुनै खुसी, उमगं, जोश, जाँगर, तागत केही छैन। मेरो खुसीहरु एकाएक, आत्महत्या गर्दै छन् वा हत्या गर्दै छौँ? मेरो उमंग, जोश जाँगरहरुको मृत्यु भयो वा सुनियोजित रुपमा मार्दै छौ? यो सबै प्रायोजित हो वा अवश्यम्भावी थियो?
तिमीलाई एक पटक भेटेर अँगालोमा बेरी सोध्न मन छ। शिलु, म आउँदै छु...
क्रमशः