मैले अन्तिम वचन बोलेसँगै
तिमीले सोच्यौ होला मेरो स्वर सुकिसक्यो
मैले अन्तिम सास फेरेसँगै
तिमीले सोच्यौ होला मेरो अस्तित्व मेटिसक्यो
तिमी गलत छौ, साँच्चै तिमी गलत छौ।
धुवाँ भै उडेका मेरो शरीरका हरेक अणुहरु
आज पनि कता-कता जीवित छन्
मैले बोलेका हरेक वाक्य अनि शब्दहरु
आज पनि कता-कता गुन्जिरहेछन्
म जीवित छु, साँच्चै म जीवित छु।
ती अणुहरु देख्न तिमीसँग साधन छन्
तर आँखा छैन
ती शब्दहरु सुन्न तिमीसँग कान छन्
तर हृदय छैन
तिमी कम्जोर छौ, साँच्चै नै कम्जोर छौ।
लाग्दै होला कसैले तिमीलाई देखेको छैन
सबै कुराहरु गोप्य छन्
लाग्दै होला कसैले तिमीलाई सुनेको छैन
सबैको कान बन्द छन्
तिमी भ्रममा छौ, साँच्चै नै भ्रममा छौ।
तिमीले गरेका हरेक कर्मको साक्षी
तिमी भित्रकै अणुहरु हुन्
तिमीले बोलेका हरेक शब्दको ध्वनी
तिनै अणुहरुले सुनेका छन्
साक्षी छन्, अणुहरु साक्षी छन्।
एकदिन ती अणुहरुले भन्नेछन् अरुलाई
तिम्रा कुकर्मका सूचीहरु
तिम्रा झुटिला वाक्यहरु
तिमी पुरै नांगिने छौ, तिमी पुरै भासिने छौ
यो सत्य हो, साँच्चै सत्य हो।