आफैसँग पढेका सबैजना विदेश जान थाले। मेरो मनमा पनि विदेश जाने हुटहुटी चल्यो। दुनियाँ गएको देख्दा आफू पछि परेजस्तो पनि लाग्यो।
ममीलाई फोन गरेँ।
'ममी, म पनि विदेश जान्छु। यहाँ बसेर केही होला जस्तो छैन।'
'हैन एक्कासी के भन्छ यो! भन्दाभन्दै विदेश गैन्छ? अघिपछि केही सोच्नु पर्दैन?'
'भन्दा भन्दै हैन, धेरै सोचेर भनेको हुँम्। म भोलिदेखि आइईएलटिएसको क्लास जोइन गर्छु, ८ हजार जति लाउच पठाइदिनु।'
'खुरु-खुरु यही बसेर पढ्, डिग्री (ब्याच्लर) सक्काई अनि जहाँ जानी हो जा।'
सानैदेखि मूर्ख स्वभावको म, एक्लो छोरो भएर होला मलाई जे भन्यो उही पुर्याइदिने घरकाले। मलाई खासै नाइँ सुन्ने बानी नै थिएन। जवाफ फर्काएँ 'अरु कुरो थाहा छैन, भोलि पैसा हाल्दिनु खातामा।'
मेरो जिद्धीका अघि ममीको केही लागेन। भोलिपल्ट ११ बजे म्यासेज आयो- योर अकाउन्ट इज क्रेडिटेड बाइ १०,००० रुपिज। हत्त र पत्त बानेश्वर गएर पैसा निकालेँ, गाडी चढेँ र पुगेँ पुतलीसडक।
आइईएलटिएस कहाँ गर्ने? कति लाग्छ? सब बुझी सकेको थिएँ। एमिनेन्ट नाम गरेको कन्सल्टेन्सीमा पैसा बुझाएँ र भोलिपल्टदेखि क्लास लिने गरी फर्किएँ।
मन उडेर अमेरिका पुग्यो। आफ्नै गाडीमा अमेरिकाका चिल्ला सडकमा कुध्यो, आफैले कमाको पैसामा रमायो, छुट्टै स्वतन्त्रतामा रमायो र बिर्स्यो यहाँको खाल्डाखुल्डी परेका सडक, धुवा-धुलो, गाउँका उकाली-ओराली।
सब बिर्स्यो मनले र बिर्स्यो बुढेसकालतिर लम्किँदै गरेकी एक्ली आमालाई पनि। बा परलोक सुधारेको ४ वर्ष हुँदा पनि बाको कमी हुन नदिएकी ती आमालाई कसरी बिर्स्यो होला है त्यो बेला यो मनले! अहिले सोचेर पनि धिक्कार लाग्छ।
आइईएलटिएस पढ्न थालेको २ हप्तापछि कन्सल्टेन्सीले भन्यो- पासपोर्ट र अरु डकुमेनटेसनको तयारीमा लाग्दै गर, आइईएलटिएसको पनि डेट लिन पर्छ अब।
म पासपोर्ट बनाउनलाई घर गएँ। पासपोर्ट बनाउनलाई घर आएको भनेपछि बल्ल ममीलाई म साँच्चीकै विदेश जाने निर्णय गरेछु भन्ने पत्यार लाग्यो।
'तँलाई नपुग्दो के छ र? म एक्ली बुढीलाई छोडेर किन जान्छस् विदेश? भनेजस्तो सजिलो पनि कहाँ हुन्छ र विदेशाँ? मर्ने बेला पानी हाल्ने पनि कोही हुनी भएनन्। बाबु मैले भनेको मान्छेऊ भने नजाऊ करे।'
यसो भन्दै गर्दा ममीको घाँटीमा गाठो पर्यो। आँखा टिलपिल गर्न थाले। ममीले आँसु लुकाउन भरसक प्रयास गर्नु भयो तर सक्नु भएन। भक्कानिनु भयो। म फगत ममीका आँसु हेरीमात्र रहेँ। हुन त त्यती बेला मेरो मुटुमा पनि गाठो परेजस्तो भएको थियो तर लोग्ने मान्छे बलियो हुनपर्छ भन्ने सुनेको थिएँ। म ब्यर्थै बलियो भए।
'त्यस्तो सोचेर हुन्न का ममी, म सधैँलाई कहाँ जान लाको हुँम त नि? २-४ वर्ष बस्छु अनि आएर तपाईंलाई पनि लगिहाल्छु नि। यो देशा बसेर महिनाको १५ हजार कमाउन नि गाह्रो हुन्छ। हुआ त भाडै माझे नि लाखौ कमाइन्छ।'
भर्खर १२ सकेको मलाई नेपालमा पैसा कमाउन कतिको गाह्रो हुन्छ भन्ने थाहा थिएन तर दुनियाँले भनेको सुनेको थिएँ।
'मास्टर सकेका बिहान कलेज, दिउँसो बोर्डिङ र बेलुका ट्युसन पडाउने शिव दाइ र धुर्ब दाइ पनि पोहोर अष्ट्रेलिया गए। अधिकृतमा नाम निकालेका दिवाकर दाइ पनि डिभी परेर अमेरिका उडेको २-४ वर्ष भैसक्यो।
मेरै साथी २ महिनाअघि पुगिकन काम पनि गर्न थालिसक्यो। आखिरमा ढिला गए नि चाडै गए नि जानी विदेश नै त रच' मैले मुटु दह्रो बनाइसकेको थिएँ। ममीका आँसुले पनि नपग्लिने गरी दह्रो बनेर पासपोर्ट बनाएर नै फर्केँ।
अमेरिकाको रंगिन सपनामा नै रमाएँ। डकुमेन्ट भ्यालीडेसन, डेट यताउतामै व्यस्त भएँ केही दिन। ममीसँग लगभग दिनहुँ कुरा हुन्थ्यो। मैले देखेका रंगिन सपनाको सहरमा जाने दिन नजिकै आउँदै थियो।
तयारी तीव्र गराउँदै थिएँ। एकदिन अचानक मामाको फोन आयो। फोन उठाउँने बित्तिकै अलिकत आत्तिए जसरी बोल्नु भयो- 'भन्जा बाबु, कता हुनुहुन्छ? घर आउन पर्यो छिटै।'
मनमा चिसो पस्यो। आत्तिँदै सोधेँ, 'किन र मामा, के भो र?'
'त्यस्तो केही हैन, आमा खरबारीमा गैरछे दिउँस, लोटिछे त नि। पोखरा मनिपाल ल्याएको। होस त आयो तर कसैलाई चिनेकी छैने। एकेहोरो तपाईंको नाम मात्र लिकी छे त्यही भर हो।'
मामाको यो वाक्य सुन्नासाथ संसार अँध्यारो भए जस्तो लाग्यो। घाँटी खर्ल्याप सुक्यो, चिरचिर पसिना आयो। के गरौँ गरौँ भयो। म थाहा नपाई भुइँमा थचारिन पुगेछु। मेरो यो हालत देखेर अमृत हत्तपत्त मेरो छेउमा आयो।
'ओए भाइ, के भो? को हो फोनमा?
उस्ले मेरो हातबाट फोन खोस्यो। खै के-के बोल्यो अनि मलाई झकझक्याउँदै भन्यो, 'भाइ हिँड पोखरा जाम्।'
त्यो दिन म कुन होसमा पोखरा पुगेँ, केही थाहा छैन। मनिपाल हस्पिटलको क्याबिनमा ममीलाई देखेपछि मन अलि हलुका भयो। निधारमा सेतो पट्टी बाँधेर ममी निदाइराख्नु भएको रहेछ।
हात र खुट्टामा कोतरिएको डाम, मैले पहिलो पटक ममीका चाउरी पर्न आँटेका गाला देखेँ। कपाल पनि फुल्न आँटेको, आँखाको पिँधमा आँसुका टाटा देखेँ। मैले मेरी आमालाई नजिकबाट नदेखेको कति भइसकेछ!
मन अमिलो भयो। रोउँ रोउँ जस्तो लाग्यो। ममीका चाउरी पर्न आँटेका गाला सुम्सुम्याएँ।
मामा पछाडिबाट बोल्नु भयो, भर्खर सुतेकी हो, हामी कसैलाई चिनेकी छैन। को हौ? किन ल्याका हौ? मेरो कान्छालाई बोलाइद्याओ मात्र भन्छे एकेहोरो। खगराज दाइ र म भर ल्याका हुँम यहाँ।'
मामाको बोली सुन्नासाथ मन यसै भकानियो। कसैको लाज मानिनँ, ग्वाँ ग्वाँ रोएँ। एकैछिन मन अलि हलुका भयो। ममी ब्युँझिनु भयो। मलाई छेउमा देख्नासाथ अंगालो हालेर रुन थाल्नु भयो।
'मेरो बाबु आएछ नि। कहाँ गैतेऊ नि बाबु?' भन्दै मेरा गलामा चुम्दै रुनु भयो ममी। म पनि रोएँ। आमाछोरा रोइयो एकैछिन। मामा, खगराज दाइ, अमृत सबै हाम्लाई समझाउन थाले, म यस्सो समालिएँ।
मामाले पछाडिबाट 'अब चिन्छे कि हाम्लाई सोध्नु त' भन्नु भयो। मैले 'के भएको ममी तपाईं लाई केहि याद छ?' भनेँ।
ममी केही बोल्नु भएन।
'उहाँहरुलाई चिन्नु हुन्छ?'
उहाँले कही प्रतिकृया जनाउनु भयो।
यत्तिकैमा डाक्टर राउन्ड सुरु भयो। मैले ममीको अवस्थाको बारेमा जानकारी लिएँ। 'सकको कारणले यस्तो भएको हो, विस्तारै सब याद आउँछ आत्तिन पर्दैन' भन्नु भयो।
'विस्तारै भन्या कति?'
'२-३ दिन, हप्ता दिन वा धेरैमा एक महिना' डाक्टरले भने।
मन अलि ढुक्क भयो। नभन्दै ४ दिनपछि ममीले सबै सम्झिनु भयो। सबैलाई चिन्नु भयो। मनमा छुट्टै खुसी छायो।
त्यशी दिन ममीले भन्नु भयो 'परीक्षा छ भन्तिस् त, जा तँ नि आफ्नो भविष्य सोच्। यहाँ जेनतेन टरी हाल्छ नि। चारो खोज्न जान्छु भनेको बचेँरोलाई कहिलेसम्म गुँडमा थेग्न सकिएला र?' ममी अड्किदै बोल्नु भो।
यो पटक भने म बलियो बनिनँ। रुँदै भनेँ, 'जान्न ममी, कही जान्नँ। जे-जति सकिन्छ यही गर्छु, यहीँ पढ्छु। सके राम्रो जागिर खाउँला नसके खेतबारी छँदै छ, भैंसी पालेर बसौँला। अझै पनि म तपाईंलाई छोडेर जान्छु भनेँ भने तपाईंको आँसुले सराप्छ ममी, म कहीँ जान्नँ।'