जन्म मानिसको इच्छा हैन बाध्यता हो। न तपाईं आफ्नो चाहनाले जन्मिनु भयो न त अरूलाई उनीहरूको चाहनामा जन्म दिनु हुन्छ। केबल अर्कैको चाहना। तर मृत्यु? अँ यो चाहिँ बरू कसैको इच्छा पनि हुन सक्छ, जसलाई जिन्दगीका हरेक पाटा अर्थहीन लाग्छन्। त्यही अर्कैको चाहना पूरा गर्न मानिसले आफ्नो जन्म लिन्छ अनि आफ्नै शैली र आफ्नोपनले बाँच्न खोज्छ। सायद द्वन्द्व यहीँ कतैबाट सुरू हुन्छ।
सरला। कसैले राखिदिएको उसको नाम। उसलाई न त आफ्नो नामको अर्थ नै थाहा छ, न त त्यो नामले उसको कर्मलाई नै उजागर गर्छ।
एउटा लेमिनेसन गरेको पेपर मतिर देखाउँदै एकटकले हेरिरही तर केही बोलिन। यसरी पैसा माग्ने धेरै नै हुन्छन् आजकाल त्यसैले पैसा नै मागेको अनुमान लगाएँ। केही प्रतिक्रिया नजनाई मैले पनि उसैलाई एकटकले हेरिरहेँ।
फेरि पनि त्यही निराश अनुहारले आशाको भिख मागेझैं हेरिरही। अनि हात अगाडि बढाई। त्यही लेमिनेसन गरेको कागज देखाउन । ऊ चाहन्थी कि उसको त्यो कागजमा लेखिएको कुरा म पढूँ र उसलाई पैसा दिऊँ।
तर पनि खै किन हो मलाई गोजीबाट पैसा निकाल्न मन नै लागेन। उसले त्यही भावले मसँग केही पैसा मागिरहेकी थिई तर खै मेरो ध्यान भने अन्तै थियो अनि उसका निराश आँखामा एकटकले हेरिरहेको थिएँ ।
करिब एक मिनेटपछि थाहा पाएँ उसको पछाडि त एउटा सानो बच्चा पनि रहेछ। एउटा ओढ्नेले मिलाएर बोकेकी। सायद अलि तल खस्न लागेर होला अलि माथि सारेर बाँधी। बच्चा सायद गहिरो निन्द्रामा हुँदो हो हलचल पनि गरेन।
उसले अझै पनि मलाई त्यही नजरले हेरिरहेकी थिई। त्यो पछाडि बोकेको बच्चा, उसको मलिन चेहेरा र ती मैले बुझ्न नसक्ने भावविहीन आँखाले मलाई पनि पगालिरहका थिए।
अघिदेखि मेरो अगाडि रहेको त्यो कागज हेरेँ।
रामेछाप जिल्ला, दोबान गाविस, वडा नं ७ बस्ने सरलाको घर बाढीले बगाएको र आर्थिक अवस्था निकै कमजोर भएकोले निजलाई सहयोग गरिदिनु होला भन्ने भाव र यस्तै अरू केही शब्द थपेर सहयोगको लागि गाविस सचिवले हस्ताक्षर र गाविसको छाप लगाएको कागज थियो। अचम्ममा परेँ।
जन्मेदेखि करिब १६ वर्षसम्म रामेछापमै बसेको मलाई आजसम्म पनि त्यो ठाउँ रामेछापमा छ भन्ने कुरा थाहा थिएन।
पढ्ने बित्तिकै उसको अनुहारमा हेरेँ। त्यही अघिकै हेराइ अनि भावले एक टकले हेरिरहेकी थिई। दोधारमा परेँ पैसा दिऊँ या नदिऊँ? कुनै हिसाबले त्यो कागजमा लेखिएको कुरा साँचो हैन तर पनि त्यो भाव र सहयोगको याचना भने झूटो थिएन।
केही नबोली मैले ५० को नोट दिएँ। उसले समाई अनि अर्कोतिर फर्केर गई।
सायद अर्कोसँग पनि त्यसरी नै पैसा उठाउन। तर मलाई भने एक किसिमको खुलदुली भएको थियो। त्यो कागजभन्दा फरक कथा पत्ता लगाउनु थियो किनकी एकातर्फ मलाई ती आँखामा झल्केका अचम्मका भावको अर्थ बुझ्नु थियो भने अर्कोतर्फ त्यो कागज पछाडिको वास्तविकता पनि।
करिब एक घण्टा जति भीडभाडमा उसलाई पछ्याएपछि ऊ एउटा मेडिकल अगाडि गई।
गल्लीबाट अलि भित्रको मेडिकलमा गएर टक्क उभिएपछि मेडिकलबाट एउटा मान्छेले खैरो खाममा केही ल्याएर दियो। अचम्ममा परेँ। एउटी २०-२५ वर्षकी माग्ने आबऔषधि पसलको अगाडि उभिन्छे अनि केही माग्दै नमागी एकछिनमा पसले आएर खाम दिन्छ।
दृष्य हेर्दा कुनै चलचित्रको अंशजस्तै लाग्थ्यो। सायद त्यो खैरो खाममा कुनै औषधि नै हुँदो हो तर पनि अचम्मको कुरा त माग्दै नमागी त्यो पसलेले किन त्यो खाम दिन्छ ?
यसको मतलब पसले र त्यो केटीको बीचमा पहिलेदेखि केही सम्बन्ध पक्कै हुनुपर्छ। यस्तै कुरा सोच्दै एकछिन टोलाएर बसेछु। एकछिनमा हेर्दा त्यहाँबाट ऊ गइसकेकी थिई।
अब भने पक्कै पनि केही वास्तविकता पत्ता लगाउन सक्छु जस्तो लाग्यो तर के भनेर सोधौं त्यस पसलेलाई ?
‘मलाई थाहा छैन वा तपाईंलाई किन चाहियो?’ जस्ता जवाफ आएमा मेरो खोज अनि जिज्ञासा अधुरो हुन्थ्यो।
त्यसैले त्यो दिन केही नभनी त्यहाँबाट हिँडें। बाटोमा जति-जति माग्नेहरूलाई देख्थेँ मलाई त्यही बच्चा बोकेकी महिलाको याद आउँथ्यो।
अर्कोदिन लगभग त्यही बेला म हिजो त्यस महिलालाई भेटेको ठाउँमा पुगेँ। सबैतिर एकपटक नजर घुमाएँ। तर कतै देखिनँ अनि हिजोकै मेडिकलतिर गएँ। मेडिकलको छेउको किराना पसलमा करिब १ घण्टासम्म बसेपछि पनि उ आइन।
निराश हुँदै त्यहाँबाट हिँडें। फेरि अर्को दिन त्यसैगरी त्यहाँ गएँ। अहँ त्यो दिन पनि आइन। हुन त उ त्यहाँ आउँछे भन्ने कुनै निश्चितता थिएन। तर पनि मनमा लागेको थियो कि त्यो मेडिकलको साहु र त्यो महिला बीचमा केही सम्बन्ध पक्कै छ।
करिब १ हप्तापछि त्यही पहिलेकै ठाउँमा उनलाई देखेँ। त्यही रूप, त्यही बच्चा, त्यही भेष, त्यही चेहेरा, त्यही निराशा।
अनि सायद कागज पनि त्यही हुँदो हो हातमा। आज चाहिँ केही पत्ता लगाएरै छाड्छु भन्ने सोचेर उनलाई पछ्याउँदै गएँ। जब उनी रोकिन्थिन् म पनि रोकिन्थे अनि जब उनी कसैसँग कागज देखाउँदै पैसा माग्थिन् म अलि भीडमा लुकेर हेर्थें।
केही पैसा जम्मा भएपछि उनी पहिलेकै बाटोतिर लागिन् र त्यही गल्ली हुँदै मेडिकलको अगाडि गएर उभिइन्। यस पटक भने उनले खैरो खामको सट्टामा केही पैसा दिइन्। एउटा माग्ने आईमाई पैसा तिरेर मेडिकलबाट के लिन्छे ? जति सोचे पनि कुनै निष्कर्षमा पुग्न सकिनँ र त्यहाँ गएँ।
‘के होला ?’ पसलेले सोध्यो।
‘१० को हेन्डिप्लास्ट दिनुन’ एक्कासि मेरो मुखबाट निस्क्यो।
‘अरू केही?’
‘अनि सिटामोल दिनुन ४/ ५ वटा।’
‘कति भयो?’ मैले साधेँ।
‘१५ रुपैयाँ’
‘लिनुस्’ १०० को नोट दिँदै मैले भनेँ।
‘चेन्ज छैन? हेर्नुस् न एकपटक।’
‘छैन साहुजी ५० छ हुन्छ?’
‘खै दिनुस् न त’
पैसा खुद्रा बनाउँदै गर्दा मैले सोधें, ‘साहुजी अघि आउने ती माग्ने महिला के किन्न आकी थिइन्?,’ पैसा मिलाउँदै साहुजीले मतिर अलि अनौठो पाराले हेर्दै भने ‘किन र भाइ?’ जे कुराको मसँग उत्तर थिएन त्यही कुरा सोधे साहुले। अब किन भन्नु।
‘हैन मसँग पैसा माग्दै थिइन् अघि। मैले दिइनँ अनि कतै बिरामी परेर औषधि किन्ने पैसा नभएर पो हो कि भन्ने लाग्यो अनि सोधेको,’ मैले जवाफ फर्काएँ। ।
‘खै भाइ के भन्ने, औषधि या विष। बनाउन त औषधिकै लागि भनेर बनाएको हो। तर प्रयोग गर्नेको हातमा फरक पर्छ। त्यो त्यसले लगेको स्लिपिङ ट्याबलेट हो,’साहुजीले भने।
आखिर किन लगेकी उसले स्लिपिङ ट्याबलेट, अनि यसले कसरी विषको काम गर्छ? यस्ता प्रश्नले मेरो मानसपटल भरिसकेका थिए। तर पनि मैले उसलाई एक हप्ता अगाडिदेखि पछ्याइरहेको र उसको बारेमा जान्न मन लागेको लगायतका सम्पूर्ण कुरा भनें।
साहुजीले लामो स्वास लिँदै मतिर हेरे।
मेरो प्रश्नवाचक अनुहारलाई एक निमेषको लागि हेरेर के सोचे कुन्नी अनि भने भाइ कुनै एनजिओ /आइएनजिओतिर काम गर्ने त हैन नि ? मेरो हैन जवाफ पाएपछि उनले भने ‘केही गर्न सकिन्छ भने यस्ताका लागि केही गर्दा पक्कै पुण्य कमाउन सकिन्छ भाइ। हामी नेपालीले भोगेको युद्धको एउटा कहालीलाग्दो उदाहरण हो यो। साथै गरिबी र अशिक्षाको उपज पनि।
अहिले यो सुकुम्बासी बस्तीमा बस्छे। जीवनको एउटा छुट्टै भोगाइ छन् उसका। नितान्त छुट्टै। तिमीले मैले या अरू आम नेपालीले बिताउने साधारण जिन्दगीभन्दा फरक।’
भन्दै गर्दा एउटा सानो टोयोटाको गाडी अगाडि आएर रोकियो।
साहुजी एकछिन है भाइ भन्दै गए। औषधि आएको थियो साहुजीको। ४/ ५ कार्टुन औषधि झारेपछि गाडी गयो। साहुजीलाई कार्टुन पसलसम्म ओसार्न सहयोग गरें। काम सकेपछि साहुजीले नजिकैको होटलबाट चिया मगाए।
‘एकपटक एउटा १८/१९ वर्षकी केटी पिँठ्युमा सानो नानी बोकेर मेरो पसलमा आई। खोकेको खोक्यै गर्ने, कुपोषण हुन लागेको बच्चा जस्तै थियो। त्यति बेला भर्खर यसको छोरो ४/५ महिनाको भएको थियो होला। पूरै शरीर गन्हाउने, झुत्रो लुगा अनि दुब्लो शरीर भएकी त्यो महिला एकदमै निराश र थकित देखिन्थी।
निमोनिया भएको जस्तो लाग्यो र बच्चालाई केही औषधि दिएँ र तुरून्तै अस्पताल लानु भनेँ।
तर उसले पैसा नभएकोे भनेर गुनासो गरी। मानवताको नाताले भए पनि निमोनियाको लागि औषधि दिएर पठाएँ। करिब चार पाँच महिना जति आइन त्यसपछि। मैले त बिर्सिसकेको थिएँ। अचानक एकदिन आई र मलाई पैसा दिँदै भनि ‘अस्ति नै मैले औषधि लगेको थिएँ। त्यसको पैसा कति भएको थियो?’ त्यो इमान्दारिता देखेर म तीनछक परेँ।
त्यस दिनदेखि मैले मानवताको मूल्य र इमान्दारिता भनेको के हो बुझें। त्यसबेला उसले छोरा लिएर आएकी थिइन। मैले पर्दैन भने पनि पैसा नदिई छाडिन र मैले १०० रुपैयाँ लिएँ।
तपाईंले ठूलो गुन लगाउनुभयो भनेर धेरैबेर दोहोर्याई। अनि त्यस दिन उसले आफ्नो सम्पूर्ण जीवन कथा यसरी सुनाई।’
‘मेरी आमा लाटी। बोल्न नजान्ने तर पनि उहाँका कुरा धरैले बुझ्थें। तराईतिरको एउटा गरिब परिवारमा हुर्कनुभयो। त्यो बेला नेपालमा युद्ध चलिरहेको थियो रे। एकपटक धारामा पानी लिन जाँदा आर्मीको गस्तीले माओवादी भनेर समातेछ। गाउँलेले धरै सम्झाउँदा पनि माओवादीले सुराकी गर्न लाटीको नाटक गर्न लगाएको हो भनेर लगेछन्।
पछि जंगलमा लगेर बलात्कार गरेर बेहोस अवस्थामा खोलामा फालिदिएछन्। दुई दिनपछि गाउँलेले खोलाबाट बेहोस अवस्थामा घर ल्याएछन्। बलात्कार भएको थाहा पाएपछि गाउँघरमा इज्जत जाने र समाजले बहिस्कार गर्ने डरले उनका बाबुले उनलाई काठमाडौंको टिकट काटेर बसमा चडाइदिएछन्। बोल्न नजान्ने अनि सहरको बारेमा केही थाहा नभएकी एउटी किशोरीले पहिलो पल्ट सहरमा भोग्ने व्यथा जो कोहीले पनि अनुमान लगाउन सक्छ।
कति रात भोकै अनि कति रात फालेको खाना, खुला आकाशको सिरानी अनि चिसो सिमेन्टको ओछ्यान।
कुकुरसँगै कुकुरजस्तै जिन्दगी बिताउन थाल्नुभयो रे। समय बित्दै गर्दा पेटमा म हुर्किंदै गएको थिएँ रे। पछि सुकुम्बासी बस्तीमा बस्न थाल्नुभयो रे। र त्यहीँका केही मान्छेको सहयोगमा म जन्मिए। मेरी आमा बोल्न नजान्ने भए पनि म बोल्न सक्ने जन्मेकोले आमा अत्यन्तै खुसी हुनुहुन्थो। सुकुम्बासी बस्ती, बाबुविनाको बच्ची मलाई हुर्काउन एउटी बोल्न नजान्ने आइमाइलाई कति कठिन भयो होला जो कोहीले पनि अनुमान लगाउन सक्छ।
आमालाई यत्रो धनीहरूको सहरले कुनै सहयोग दिन सकेन बरू एउटा सुकुम्बासी बस्तीले त्यति सहारा अनि माया दियो।
पछि पछि त्यहाँका मानिसहरूले पनि मेरी आमाका कुराहरू बुझ्दै गएछन्। मलाई अहिले पनि याद छ म आमासँगै माग्न जान्थें। आमा भोकै भएर पनि मलाई टन्न खुवाउनु हुन्थ्यो।
अलि ठूली भएपछि आमाले मलाई बाहिर लान छाड्नुभयो। म नजिकै खेल्न जान्थें, साथी बनाउँथें। फोहरमा फालेका प्लास्टिक फुलाउँदा खुब मजा आउँथ्यो। पछि पछि म पनि प्लास्टिक टिप्न थालें। यसरी केही पैसा म पनि कमाउँथें।
पछि एउटा साहुको घरमा काम गर्न जान थालें। म त्यतिबेला १४ वर्षकी थिएँ। करिब ४ वर्षसम्म मैले त्यहाँ काम गरेँ।
साहुको घरमा जे दिन्छन् त्यही आमालाई लगेर दिन्थें। त्योबेला आमा जहिले मलाई हेरेर एकोहोरो आँसु झार्नु हुन्थ्यो। अनि मलाई अङ्गालो हालेर धेरै बेरसम्म रोएरै बस्नु हुन्थ्यो।
कतिबेला म आमाको अङ्गालोमै निदाउँथे। केही दिनदेखि आमालाई म अर्कै रूपमा देखें। के भयो पनि भन्नुहुन्नथ्यो। खाना पनि राम्ररी खान मान्नुहुन्नथ्यो। औषधि उपचार गर्न जामभन्दा पनि मान्नुभएन।
एकदिन म कामबाट फर्कंदा उहाँलाई झुपडीमा देखिनँ। वरपरका मान्छेले एउटा सानो पोको बोकेर बाहिर निस्केको देखेका थिए रे। पछि बसपार्कको एउटा होटलमा काम गर्ने त्यहीँको एउटा भाइले तराईतिरको बस चढेको देखेको थिएँ भनेर सुनायो।
आफ्नो जन्मथलोको मायाले हो या कुनै वितृष्णाले हो उनले मलाई छाडेर गइन्। त्यो रातभर म सुत्न सकिनँ।
जिन्दगीभर मैले आफ्नो नजिक पाएकी मेरी आमाको अवस्था कस्तो होला म कल्पनासम्म पनि गर्न सकेकी थिइनँ। त्यो रात पूरै रोएरै बित्यो। अब म आमालाई खोज्न कता जाऊँ ? के मेरी आमा फर्केर आउलिन् ? अनि के कुराले उनलाई पिरोल्यो र उनले मलाई छोडेर गइन्? यस्ता प्रश्नले मेरो दिमागलाई हल्लाइरहन्थे।
लाग्थ्यो त्यो विपना नभई एउटा नमीठो सपना होस् अनि म मेरी आमा सँगै हुन सकूँ। लगभग दुई हप्तासम्म म आमालाई नै सम्झेर बिताएँ। हरेक रात झसंग झसङ्ग बिउँझिन्थें।
दुई हप्तापछि म काम गर्ने घरमा गएँ। यत्रो दिन कहाँ गएकी भनेर साहुले हकार्यो। मैले सबै वास्तविकता भनेपछि उनले देखावटी सहानुभूति दर्शाएर मलाई त्यत्रो दिनदेखि नधोएका लुगा धुन दियो। करिब चार घण्टा लगाएर मैले लुगा धोइ सकें।
जाने बेलामा जान्छुभन्दा साहुले आफ्नो कोठामा बोलायो।
उसले मलाई ५०० को नोट दियो मैले हातमा लिन लाग्दा उसले मेरो हात तान्यो र जबरजस्ती मलाई छुन लाग्यो। प्रतिकार गर्दा गर्दै पनि त्यस दिन म काम गर्ने साहुको घरमा उसैबाट बलात्कृत भएँ। मेरो चिच्याहट कसैले सुनेनन्।
आफूलाई समाल्न कुनै पनि हातलमा सफल थिइनँ म। पलपलमा बेहोस हुन्थेँ। बल्लबल्ल उठेर जान लाग्दा यो कुरा कसैलाई भनेमा मार्ने धम्की दियो। आफैंलाई समाल्न नसक्ने अवस्थामा म त्यही झुप्रोमा पुगें।
त्यसदिनदेखि फर्केर त्यो घरमा जान सकिनँ अनि प्लास्टिक टिप्ने र पछि मागेर जिन्दगी गुजार्न थालें। मेरी आमा पनि बलात्कृत भइन्, कुकुरले नपाएको दु:ख पाइन् र अब पालो मेरो थियो।
मैले तीन चार महिनाबाटै पेटमा बच्चा खेलेको अनुभव गर्न सक्थेँ। त्यस बस्तीमा बस्नु उचित नहुने ठानेर म अर्काे बस्तीमा सरेँ। त्यहाँका मानिसलाई गाउँमा लोग्नेले घरबाट निकालेको झूटो कहानी बनाएर सुनाएँ। त्यहीँ मेरो छोरो जन्मियो।
एउटा अर्काे अभागी सन्तान।
छोराकै लागि भए पनि मैले मागेर गुजारा चलाउनु पथ्र्याे। त्यसैले २ महिनाको छोरालाई बोकेर हरेक चोक र गल्ली अनि सडक चहारेँ।
अहिले मलाई मेरो शरीरमा कुनै पनि दुखाइ, पीडा, भोक, निन्द्रा महसुस हुँदैन। म एउटा निर्जीव जीवन बाँचिरहेकी छु।
तर म मेरो छोरालाई न त यो संसारको दु:ख देखाउन सक्छु न त उसलाई बाँच्नबाट रोक्न नै।’
साहुजीले भनेको कुरा एउटा फिल्ममा पनि बिरलै कल्पना गर्ने कथाजस्तो लागिरहेको थियो।
कतिखेर चिया ल्याएर राखिएको रहेछ। त्यो पनि माथिबाट तर लागेर सेलाइसकेको थियो। होटलको केटो गिलास लिन आउँदा मात्र याद भयो।
साहुजीले पछि थपे, ‘त्यसपछि त्यसले मलाई निन्द्रा लाग्ने औषधि मागी। सायद यो सब चिन्ताले सुत्न नसकेको ठानेर मैले उसलाई औषधि दिएँ। पछि हप्तामा एक पटक औषधि लिन आउन थाली। धेरै पछि मात्र मैले थाहा पाएँ त्यो त उसले छोराको लागि लगेकी थिई जसलाई सधैं पछाडी बोकेर मात्र हिँड्थी अनि ऊ जहिल्यै सुतिरहेको हुन्थ्यो।’
‘भाइ एक एक पल अर्कै छ यसको। जुन भोगाइ सुन्दैमा कहालीलाग्दो छ भोग्ने मान्छे पक्कै ढुंगा हुनुपर्छ। समयले बनाएको चट्टान नै भनौं। पत्ता लगाउनु पर्ने कि यसको शरीरमा रगतको साटो के बगिरहेको छ’, साहुजीले थपे।
अर्को दिन बिहान नौ बजेतिर साहुजीले फोन गरेर सुकुम्बासी बस्ती नजिकै बोलाए।
म पुग्दा एउटा बच्चालाई भर्खरै खनेको खाल्डो अगाडि राखिएको थियो। नजिकै साहुजीलाई देखें उनले भने ‘त्यही हो त्यसको बच्चा। आज मरेछ। बिहान मेडिकलमा लिएर आउँदासम्म मरिसकेको थियो। हत्यारा बनाइ आज मलाई यसले।’ टिलपिल आँसुमा साहुजीले भने।
‘सास हुनु र नहुनुको कुनै अर्थ थिएन। जिउँदो मुर्दा बनाएर राखेकी थिई। बिचराले यो उकुसमुकुसको जिन्दगीबाट छुटकारा पायो। अर्काे जन्ममा अभाव खेप्न नपरोस्।’ नजिकैबाट कोही बोल्दै थियो। तर पनि त्यो केटाकी आमाको अनुहारमा कुनै परिवर्तन थिएन। जस्तो पहिलोचोटि देखेको थिएँ, त्यस्तै थियो अनुहार।
आमा, छोरा गुमाएर बलात्कारमा परेकी उसले कस्तो परीक्षा दिएँ र त्यसको नतिजा कस्तो आयो भन्ने कुराको लेखाजोखा गर्दै थिई होला।
कुनै विधि पूरा गरेर गाड्ने तयारी भइरहेको थियो।
अहँ मबाट त्यो हेरिरहन सम्भव थिएन। कुनै पनि आस्थाको धरोहर अब ठाडो थिएन मेरा लागि। मनमनै सोचें भगवान पूर्वजन्मकै पाप हो भने नर्कमा निकै तातो तेलमा धेरैबेर नै किन नडुबाऊ तर यस्तो दु:ख भोग्न यो धर्तीमा नपठाऊ।