जनता समाजवादी पार्टीका नेता/कार्यकर्ताहरूले विभिन्न ठाउँमा संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै विरोध जनाएका छन्।
जनकपुरधाममा संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले विरोध र्याली निकालेको छ। जनता समाजवादी पार्टीका नेता एवं प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा जसपाका नेताहरूले विरोध र्याली निकालेका हुन्। र्याली जनकपुरधामको विभिन्न चोकको परिक्रमा गरेको थियो।
उनीहरूले असोज ३, कालो दिन भन्दै जनकचोकदेखि विरोध र्याली निकाल्दै नगरको विभिन्न भागको परिक्रमा गरी पुनः जनकचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
विरोध र्यालीमा सहभागीहरूले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेशका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
युवाहरूले यसरी मनाए संविधान दिवस
मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक संविधान दिवसको दिन दिप प्रज्वलन गरी मनाएका छन्। संविधान जारी भएको ५ वर्षपछि युवाहरूले सार्वजनिक रूपमा सार्वजनिक स्थलमा कालो दिवसको विरोध गर्दै औपचारिकरूपमै प्रदेश सरकार र जसपा नेपालहरूलाई चुनौती दिँदै संविधान दिवस मनाएका हुन्।
जनता समाजवादी पार्टी नेपालका युवा नेता समेत रहेका सुशिल कर्णको अगुवाइमा संविधान दिवस कार्यक्रम मनाइएको हो।
युवा नेता सुशील कर्णले संविधानमा केही त्रुटि रहेको स्वीकार गर्दै जसरी सत्तामा बसेर प्रदेश २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानको विरूद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए।
‘संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौं’, उनले भने।
संविधान जलाउनेमाथि प्रहरीको लाठीचार्ज
धनुषाको सबैलामा केही स्थानीयहरूले संविधान दिवसको विरोध गर्दै संविधान जलाउन लाग्दा प्रहरीले लाठी चार्ज गरेको छ।
सबैलाको ईलाका प्रहरी कार्यालयको थुनाभित्रै केही महिना अगाडि ज्यान गुमाएका शम्भु सदाको आमाको नेतृत्वमा स्थानीयहरूले संविधान जलाउन खोजेपछि प्रहरीले लाठी चार्ज गरेको स्थानीय शम्भु पण्डितले बताए।
स्थानीयहरूलाई संविधान जलाउनेहरूलाई रोक्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको सबैला ईलाका प्रहरी कार्यालयका ईन्चार्ज इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए।
घटनामा चोटपटक कसैलाई नलागेको उनले बताए।