प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सभापति शेरबहादुर देउवालाई संसद बैठक राख्न बाध्य पार्न सरकारमाथि दवाव बढाउन आग्रह गरेका छन्।
नागरिकको उपचारलगायतमा सरकारले आफ्नो कर्तव्य भुलेको भन्दै थापाले त्यस्ता निर्णयहरू सच्याउन संसद बैठक आह्वानका लागि सरकारमाथि पार्टीले दवाव दिनुपर्ने बताएका हुन्।
‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन। संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन,’ देउवालाई आग्रह गर्दै थापाले मंगलबार ट्वीट गरेका छन्, ‘संसदको बैठक राख्न बाध्य पारी सदन र सडकको शक्ति एकीकृत गर्न सक्दा मात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनै पर्ने बनाउन सकिन्छ।’
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरूङले पनि जनताप्रति सरकारलाई जवाफदेही बनाउन संसद बैठक बोलाउन आवश्यक भएको बताएका छन्।
संविधानको धारा ९३ (३) अनुसार संसद बैठकका लागि माग गर्न सभापति देउवालाई आग्रह गरेका हुन्।
‘जनताप्रति जवाफदेहिताहीन, कर्तव्य विमुख, लाचार, भ्रष्ट सरकारलाई जनताप्रति जवाफदेही बनाउन र कर्तव्यबोध गराउन संसदको बैठक आबश्यक छ,’ उनले भनेका छन्, ‘संविधानको धारा ९३ (३) बमोजिम संसदको बैठकको लागि माग गरौं।’
यसअघि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको कोरोना अनुगमन समितिले पनि संसद बैठक राख्न माग गर्दै पार्टीले दवाव दिनुपर्ने सुझाव दिएको थियो।
कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गरेर संसद बैठक राख्न सरकारसँग माग गर्ने तयारी गरे पनि सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण देखिएपछि केन्द्रीय समिति नै अनिश्चित भएको छ।