नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको सचिवालयले पत्रकारहरूलाई दसैं खर्च भन्दै नगद बाँडेको खुलेको छ।
कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा नगद राखेर पत्रकारलाई फोन गर्दै मंगलबार दसैं खर्च उपलब्ध गराउँदै हिँडेका छन्।
कोइरालाको सचिवालयले कांग्रेस बिट हेर्दै आएका पत्रकारहरूलाई फोन गर्दै ‘तपाईंसँग काम छ भेट्नुपर्यो’ भनेका थिए।
‘शशांकको नाम लिँदै भरत तिवारीले जसरी पनि भेट्नु पर्यो, समय मिलाउन पर्यो भन्दै फोन गरेका थिए’, एक पत्रकारले सेतोपाटीसँग भने,‘दसैंको मुखमा नेताको नाम लिँदै फोन गरेकाले मैले त भेट्ने समय दिइनँ।’
भेट्न नमानेका कतिपय पत्रकारलाई तिवारीले सञ्चार माध्यमकै कार्यालयमा नगदसहितको खाम छाडेका थिए। अनलाइनखबरको एक पत्रकारको नाममा खामबन्दी १५ हजार रुपैयाँ कार्यालय छोडेका थिए।
यस विषयमा सेतोपाटीले महामन्त्री कोइरालाका स्वकीय सचिव तिवारीसँग पत्रकारलाई किन पैसा बाँड्नु भएको भन्ने प्रश्न गर्दा उनले खुलेर जवाफ दिएनन्।
सुरूमा उनले पत्रकारलाई पैसा दिएको छैन भन्ने दाबी गरे।
अनलाइनखबरका पत्रकारलाई १५ हजार खाममा राखेर दिनुभएको र उसले तपाईंसँग नै बैंक खाता मागेर रकम फिर्ता गरेको रहेछ नि! भनेर सोध्यौं।
यस विषयमा उनले जवाफ दिएनन्।
उनले पन्छिदै भने, ‘म अहिले मिटिङमा छु, केही समयमा फोन गर्छु।’
कोइरालालको सचिवालयले कुन-कुन सञ्चार माध्यमका पत्रकारलाई कति-कति रकम बाँडेको भन्ने खुलेको छैन।
आधा घण्टापछि उनलाई फोन गर्दा उनले पत्रकारलाई रकम बाँड्ने आफूहरूको नियत नभएको दाबी गरे।