प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन्।
नेकपा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले दाहाललाई बिहीबार खुमलटारमा छुट्टाछुट्टै भेटेका हुन्।
भेटमा नेकपा महासचिव पौडेलले दुवै अध्यक्षको प्रतिवेदन फिर्ता गरेर संयुक्त प्रतिवेदन ल्याउनुपर्नेमा जोड दिएका थिए।
महासचिव पौडेलले बिहीबारै प्रधानमन्त्री ओलीलाई समेत भेट गरेका थिए।
‘संवाद गराएर सहमति कायम गर्ने प्रयास जारी भइरहेको छ। दुई प्रतिवेदनमाथि छलफल गराउँदा समस्या आउँछ। दुई अध्यक्षले कि हामी मिलेर जान सकिन्न भनेर अलग-अलग बाटो जानुपर्छ,’ स्रोतले भन्यो, ‘दुवै जना ब्याक हुनुपर्छ। ब्याक भएर संवाद गर्ने अनि संवादबाट एउटा टुंगोमा पुग्न सकिन्छ। कसरी पुग्ने के गर्ने भन्ने छलफलको कुरा हो।’
दुई अध्यक्षबीच सहमति गरेर बैठक बस्नु उपयुक्त हुने प्रधानमन्त्रीनिकट एक नेताले बताए।
प्रधानमन्त्री ओली र दाहाल दुवै सहमति र एकताको पक्षमा रहेकाले ‘लेनदेन’ गरेर भए पनि विवाद मिलाउनुको विकल्प नरहेको ती नेताले बताए। ती नेताले भने, ‘दुवै अध्यक्ष पार्टी फुटाउने पक्षमा नभए पनि सहमति हुन सकेको छैन। किनकि कसरी सहमति र एकता हुन्छ भन्ने दुवैलाई थाहा छैन।’
कात्तिक २५ गतेपछि दुई अध्यक्षबीच ‘वान टु वान’ भेट हुन सकेको छैन। त्यसयता बसेका सचिवालय बैठकमा बाहेक अरु समयमा दुई अध्यक्षबीच संवाद भएको छैन। यो बीचमा सचिवालयका पाँच वटा बैठक बसेका छन्। जमध्ये बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन्। अब २० गते फेरि सचिवालय बैठक बोलाइएको छ। राजनीतिक प्रस्तावको नाममा दाहालले राखेको ‘आरोप पत्र’ फिर्ता नलिएसम्म आफु बैठकमा नजाने प्रधानमन्त्री ओलीले चेतावनी दिएका छन्।
गत कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले १९ पेजको राजनीतिक प्रस्ताव राखेका थिए। प्रधानमन्त्री ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिइसकेका छन्।
एक-अर्काबीच आरोप-प्रत्यारोप चलिरहँदा दुई पक्षबीच संवाद पनि ठप्प छ। यसअघि दुई अध्यक्षबीच संवादहीनता हुँदा दोस्रो तहका नेताहरूले संवादको प्रयास गर्ने गरेका थिए। यसपटक भने त्यो प्रयास पनि भएको छैन। गत मंसिर ५ गते दाहालले पार्टी मुख्यालय धुम्बाराहीमा महासचिव पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेट गरेका थिए। दुवै अध्यक्षलाई संवाद गराउन पौडेल र नेम्वाङले अहिले पनि प्रयास गरिरहेका छन्।
बिहीबारको भेटमा सामान्य कुराकानी मात्रै भएको नेकपा संसदीय दलका उपनेता नेम्वाङले सेतोपाटीलाई बताए।
‘म त इलाम गएको थिएँ। प्रचण्डले बोलाउनु भएकाले एयरपोर्टबाट सिधै उहाँलाई भेट्न गएको थिएँ। मुख मकमकाउने कुरा मात्रै भएको छ। अलि लामो समय बस्ने गरी बोलाउँछु भन्नुभएको छ,’ 'नेम्वाङले भने, ‘आज चाहिँ विशेष केही थिएन। पार्टी एकतालाई अघि बढाउनुपर्छ त्यसमा म पनि यताउता छैन। के गर्ने कसो गर्ने भनेर अलिकति छलफल गर्नुपर्छ भन्नुभयो।’
मंसिर २० गतेसम्म अनौपचारिक छलफल चलाउने भन्दै सचिवालय बैठक स्थगित भएको हो। सचिवालय बैठक स्थगित भएकै कारण १८ गतेदेखि बस्ने भनिएको स्थायी कमिटी बैठक २१ गते सरेको छ। दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा बस्ने प्रधानमन्त्रीको अडान कायमै छ। दाहालसहित सचिवालयका पाँच नेताहरू दुवै प्रतिवेदनमाथी छलफल गर्नुपर्ने पक्षमा छन्।
वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री नआए पनि बैठक रोक्न नहुने बताउँदै आएका छन्।