नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्ते काम गरेकोमा आफूलाई दु:ख लागेको बताएका छन्।
प्रधानमन्त्रीका कदम असंवैधानिक, अराजनीतिक र कीर्ते रहेको थापाको भनाइ छ।
उनले यो कुरा कांग्रेसले सरकारविरूद्ध शनिबार गरेको प्रदर्शनका क्रममा: ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अदालतदेखि संवैधानिक परिषदसम्म प्रधानमन्त्री ओलीले कीर्ते गरेको आरोप लगाएका छन्।
‘हामीले अदालतको बहस हेर्यौं। संवैधानिक परिषदमा कीर्ते भएको त हामीलाई थाह नै छ,’ उनले भने, ‘योसँगै प्रतिनिधि सभा विघटन गर्दा संविधानको धारा उल्लेख नै नगरी सिफारिस गरिएको रहेछ।’
प्रधानमन्त्री ओलीको काम देखेर आफूलाई दु:ख लागेको थापाको भनाइ थियो।
‘क्षमा गर्नुहोला प्रधानमन्त्रीजी, तपाईंको यो कीर्ते काम देखेपछि मैले भन्नुपर्ने भयो- तपाईंको नाम बदल्नुस्। के बाट खड्गप्रसाद ओली होइन, केपी ओली भनेको कीर्तेप्रसाद ओली भन्ने दिन आएको छ। मलाई दु:ख लागेको छ।’
उनले प्रधानमन्त्रीबाट यस्तो अपेक्षा भने नगरिएको बताए।
‘प्रधानमन्त्रीले यो तहको कीर्ते गर्छ? अदालत र राष्ट्रपति कार्यालयमा गएर?,’ उनले प्रश्न गरे।
थापाले सुवास नेम्वाङप्रति पनि टिप्पणी गरेका छन्।
‘म सुन्दै थिएँ, सुवास नेम्वाङले क-कसको नाम बिर्सनुभयो रे, नाम होइन कमरेड संविधान नै बिर्सनुभयो,’ उनले भने।
नेम्वाङले प्रदेश नम्बर १ का नेता/कार्यकर्ताको शनिबार भएको भेलालाई सम्बोधन गर्दै माधव नेपालको नाम नलिई टिप्पणी गरेका थिए।
थापाले प्रधानमन्त्री ओली र ओलीसँग रहेको टोली नै समस्याका रूपमा देखा परेको बताएका छन्।
कोरोना खोप लगाउन पैसा मागिरहेको सरकारले ४० अरब खर्च हुने चुनाव गराउँछु भन्दै हिडेको थापाको भनाइ थियो।
‘मसँग सुका पनि छैन मोहर पनि छैन। मेरो खुत्रुके खाली छ भनेर तपाईं र मलाई खोप लगाउनका लागि प्रधानमन्त्री र मन्त्री माग्नेजस्तो खुत्रुके बोकेर माग्ने? सूचना निकाल्ने? अनि ४० अरब लाग्ने चुनावको भारी हामीलाई बोकाउने?,’ उनले प्रश्न गरे।