६ महिनापछि सुरू भएको बागमती प्रदेशको प्रदेश सभा अर्को सूचना नआएसम्मको लागि स्थगित भएको छ।
नेकपाभित्रको विवादको कारण अधिवेशन सुरू भएकै दिन अनिश्चितकालका लागि बैठक स्थगित हुन पुगेको हो।
मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ भने बहुमत सांसदहरुले उनलाई संसदीय दलको नेताबाट समेत हटाएका छन्।
पुस १० गते नेकपाका ४५ जना सांसदहरुको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरुले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको उमेदवार बनाएका छन्।शाक्य प्रचण्ड नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य हुन् भने मुख्यमन्त्री पौडेल केपी ओली नेतृत्वको नेकपामा रहेका छन्।
१ सय १० सदस्यीय प्रदेश सभामा ८० जना नेकपाका सांसद छन्। जसमध्ये आफूहरूसँग ४९ जना सांसद रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।
अविश्वास प्रस्ताव दर्ता भएको बेलामा संसद अनिश्चितकालका लागि स्थगित गर्न नहुने नेकपा सांसद रचना खड्काले सेतोपाटीलाई बताइन्। उनले बिहीबार बस्ने कार्य व्यवस्था समितिको बैठकले यसको टुंगो लगाउने बताइन्।
बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले अविश्वासको प्रस्तावको सामनाबारे छलफल भइरहेको बताए।
‘हामी कसरी जाने भनेर छलफलमै छौं। अहिले केही निर्णय भएको छैन,’ उनले भने, ‘बैठक कहिले बस्ने भन्ने बारेमा भोलि छलफल हुन्छ। त्यसपछि मात्रै थाहा हुन्छ।’
पहिलो दिनको बैठकमै प्रचण्ड-नेपाल पक्ष आक्रमक देखिएको थियो।
सभामुख शानुकुमार श्रेष्ठले सांसद अष्टलक्ष्मी शाक्यलाई बोल्न समय दिएका थिए। शाक्यले आफ" नेकपा बागमती प्रदेश संसदीय दलको नेताको हैसियतले बोलेको बताएकी थिइन्।
उनले राजनीतिक संस्कारसहित अविश्वासको प्रस्तावबारे छलफल हुनुपर्ने बताएकी थिइन्।
‘हामी आन्दोलनमा छौं। पार्टीका पूर्वअध्यक्षले गरेको असंवैधानिक कदमले दुर्घटना निम्तिएको छ,’ शाक्यले भनिन्, ‘यहाँ पनि प्रदेश सरकारले काम गर्न सकेको छैन। यसको विकल्पमा हामीले राखेको अविश्वास प्रस्तावबारे निर्णय गर्न लगातार बैठक गरिनुपर्छ।’
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताए।
‘नेकपा मिलोस् भन्ने हाम्रो सुभेच्छा छ। हामी पाँच वर्षसम्म प्रतिपक्षमा बस्न चाहेका छौं। तपाईंहरू नफुट्नुहोस्,’ उनले भने।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पनि कांग्रेसले भने कसलाई सहयोग गर्ने भनेर कुनै निर्णय गरिसकेको छैन।
‘कांग्रेसले अहिलेसम्म तटस्थ बस्ने भनिरहेको छ। तर, उसले विश्वासको मत भने दिFदैन भन्ने हाम्रो अपेक्षा छ,’ नेकपाका एक नेताले भने, ‘हाम्रै पक्षमा बहुमत पुग्नपनि सक्छ। त्यसका लागि हामी कोसिस गरिरहेका छौ।’